जन आकाश
चितवन— वन्यजन्तु अवलोकनका लागि देशको मुख्य गन्तव चितवन राष्ट्रिय निकुञ्जको प्रमुख नाका सौराहामा पुस १० गतेदेखि १४ गतेसम्म १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना हुँदै आएको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरीले बताए ।
क्षेत्रीय होटल संघले आयोजना गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) नेपाल चितवन शाखा रहेका छन् । क्षेत्रीय होटल संघले सुरूमा सौराहामा हात्ती दौडका नाममा कार्यक्रम गर्दथ्यो । हात्ती दौड हात्तीको स्वभावअनुकूलको कार्यक्रम नभएको भनेर संरक्षणकर्मीहरूले प्रतिवाद गरेपछि स्वरूप बदल्दै महोत्सवको रूप दिइएको हो ।
यस पटक महोत्सवका सबै गतिविधि हात्तीका लागि अनुकूल हुने खालका रहेको महोत्सव आयोजक समितिका संयोजक ओमप्रकाश पाण्डेले बताए । हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलोजस्ता कार्यक्रम नहुने, हात्ती श्रृङ्गार, हात्ती वनभोज गर्ने र आपसमा मिल्ने हात्तीहरूको लहर प्रदर्शन गर्ने पाण्डेले जानकारी दिए ।
सौराहाको पर्यटनको आधार नै हात्ती हो । निकुञ्ज घुम्न आउने लाखौँ पर्यटकमध्ये अधिकांस हात्ती सफारी गरेर जंगल डुल्छन् । त्यसैगरी निकुञ्जमा जंगली हात्ती पनि ओहोरदोहोर गर्छन् । हात्तीको महत्व र स्वभाव बुझाउन महोत्सव अवधिभर विभिन्न कार्यक्रमहरू गर्ने क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले बताए । महोत्सव अवधिमा चितवनका अन्य पर्यटकीयस्थलको पनि प्रचार प्रसार र प्रवर्द्धन गर्ने उनले बताए ।
सधैं बाघमारा वनको चौरमा हुँदै आएको महोत्सव यस पटक रत्ननगरपालिका–७ चित्रसारीनजिक मौनाहाचौरमा हुने भएको छ । कोरोनाका कारण बीचका तीन वर्ष हुन नसकेको हात्ती महोत्सव कोरोनापछि पहिलो पटक हुन लागेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend