logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पन्ध्रवटा कृतिको एकैपटक लोकार्पण


  • जन आकाश
  • आइतबार, पुष १ २०८०

काठमाडौ । कविताको भाषा, शैली र शिल्पभित्रको सूत्रात्मक अभिव्यञ्जनाले आम मानसलाई तरङ्गित बनाई आह्लादित अवस्थामा पुर्याइदिन्छ भनी ठान्ने लमजुङका छन्दकवि एवम् गीतकार जगदीश्वर पोखरेलका एकैपटक पन्ध्रवटा कृति राजधानीमा आयोजित एक समारोहबीच  सार्वजनिक गरिएका छन् ।



पद्यमञ्जरी, पद्यहार, शार्दूललालित्य, अक्षराङ्कुर, पद्यकुञ्ज, पद्यमालती, पद्यमाला, शब्दस्पर्श, शब्दांश, शब्दतरङग, भावमञ्जरी, सुन्दर देश नेपाल, सारङ्गीको धुन र पाउँदीका गीत एकैपटक लोकार्पण गरिएका थिए भने पोखरेलद्वारा रचित र दीपा झाको सुमधुर स्वरमा सजिएको एउटा सुमधुर गीत पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

सो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि  प्रा.डा. माधवप्रसाद पोखरेलले वेदव्यासले अठार पुराण एकैचोटि लेखे होलान् यदि तीनवटा कृति थपिएका भए जगदीश पनि व्यासकै समतुल्य हुने थिए भनेर प्रशसा गरे । महाभारतमा एक लाख श्लोक भएको दृष्टान्त दिँदै उनले दश गुणा बढी श्लोक थपेका भए महाभारत सरह उनको कृति हुने उनको कथन थियो । पहिले पहिले कविता पद्य मात्र हुने भन्दै पोखरेलले लोकछन्दमा लेखेका जगदीशका कविता सर्वाधिक शक्तिशाली भएको जिकिर गरे । अप्रचलित छन्दका कविताभन्दा प्रचलित छन्दका र शृङ्गार रसका कविता बलशाली भएको उनको अभिमत थियो । कविको प्रतिभाको वेग अविरल रहने भन्दै कता प्रवाहित हुने भन्ने छनोट चाहिँ स्वयम् कविको हुनुपर्ने पोखरेलको भनाइ थियो । आगामी दिनमा आख्यानतर्फ पनि कवि जम्न सक्ने उनको दाबी थियो ।

त्यसरी नै कार्यक्रमका अध्यक्ष, बहुआयामिक साहित्यकार एवम् सिद्धहस्त छन्दकवि भुवनहरि सिग्देलले बढी छन्द लेख्दैमा कवित्व धेरै भएको सिद्ध नहुने तर्क गर्दै अप्रचलित छन्दमा लेख्दा कृति छन्दको प्रयोगशालाभन्दा बेसी केही नहुने बताए । जगदीश्वरलाई चोर्न अर्ती दिँदै काव्यिक सुनको लाप्सो चोरेर सुन्दर सिक्रीरूपी महाकाव्य र खण्डकाव्य तयार गर्न उनले सुझाए । आफूले समेत राम्रा पुस्तक पढेर नक्कल गर्ने गरेको राज सिग्देलले खुलासा गरे ।

चर्चित युवा छन्दकवि बलराम दाहालले जगदीश्वर पोखरेलको परिचय दिँदै पोखरेल शालीन, शिष्ट र भद्र व्यक्तित्व भएको बताए । पन्ध्रवटा कृतिमा १९३ वटा छन्दको प्रयोग भएको भन्दै लमजुङको लोकलयलाई नेपाल र अन्य देशमा समेत फैलाउन पोखरेलले गरेको मेहनत आराधनीय भएको उनको प्रस्टोक्ति थियो ।

पेज टर्नर, अनुपम सिर्जना प्रतिष्ठान तथा कर्मदा सिर्जना मञ्चले प्रकाशित गरेका कृतिहरूको साङ्गोपाङ्ग शल्यक्रिया क्रमशः पुरुषोत्तम सिग्देल, प्रा.डा.जीवन अधिकारी, व्यङ्ग्यकार नरनाथ लुइँटेल तथा बाल साहित्यकार हरि खनालले गरेका थिए ।

पोखरेलका केही कृतिको सङ्क्षिप्त चिरफार गर्दै अधिकारीले उनको वैशिष्ट्य सरलता तथा जीवन्त सम्प्रेषणीयता हो भन्दै कविताहरू लाक्षणिकतामा प्रवेश गरून् भन्ने शुभकामना टक्र्याए । त्यसरी नै खनालले अत्यन्तै सङ्क्षिप्त र सारगर्भित समालोचकीय मन्तव्य राख्दै जनकविताहरू सरल भाषामा नै हुनुपर्ने तर्क गरे । त्यसरी नै सिग्देलले इतिहासतिर फर्केर पोखरेलको लेखनीलाई तुलना गरे भने लुइँटेलले पोखरेलको अनवरत साधना र सरलताको प्रशंसा गरे ।

रचना-गर्भबारे आफ्नो अभिमत राख्दै कवि जगदीश्वर पोखरेलले आफूले घसेटामसेटा मात्र बटुलियो कि भन्ने लागेको किन्तु यतिखेरसम्म आइपुग्दा केही न केही लेखिएछ भन्ने आफूलाई आभास भएको बताए । सरस्वतीको अनुष्ठान एक्लै सम्भव नहुने विचार राख्दै कृतिहरू यो रूपमा पाठकमाझ आइपुग्नुमा अन्य धेरैको मेहनत पनि समाविष्ट रहेको उनको स्वीकारोक्ति थियो ।

भवानी खतिवडाले सहजीकरण गरेको सो कार्यक्रमको भुवनहरि सिग्देलले बिट मारेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend