logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नेप्सेको सिस्टममा तेस्रो कम्पनीको प्रवेशले सरकारलाई झस्कायो


  • जन आकाश
  • शुक्रबार, माघ ५ २०८०

काठमाडौ । नेपाल स्टक एक्सचेन्जले संचालन गरिरहेको नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) तेस्रो पक्षको प्रवेश भएको विषयले नेपाल सरकार झस्किएको छ। नेपाल धितोपत्र बोर्डको एक अध्ययनले नेप्सेको अनलाइन कारोबार प्रणाली नट्स मा तेस्रो पक्षको प्रवेश भेटिएकोले तालुकदार मन्त्रालय अर्थमन्त्रालय झस्किएको हो।



धितोपत्र बोर्डको उक्त अध्ययन समितिको प्रतिवेदनले स्पष्ट रुपमा वाइको कम्पनीमा तेस्रो पक्षको प्रवेश भएको र तेस्रो पक्षका कर्मचारीहरुले प्रणालीमा छेडछाड गरेको हुन सक्ने उल्लेख गरेपछि अर्थमन्त्रालयले विशेष चासो लिएको स्रोतको भनाई छ।

कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र धितोपत्र बजारको नेप्से अनलाइन प्रणाली (नट्स) संचालन तथा निर्माण गरेको कम्पनी वाइकोमा अर्को तेस्रो पक्षको पनि प्रवेश भएको देखिएकाले अर्थमन्त्रीको विशेष ध्यानाकर्षण भएको हो स्रोतले भन्यो, यसको प्राविधिक तथा वित्तिय पाटो अध्ययन गर्नलाई समिति नै गठन गर्न निर्देशन समेत भईसकेको छ, समिति सम्भवतः छिट्टै गठन भएर यसमा थप अध्ययन गर्छ होला।

अध्ययन समितिको उक्त प्रतिवेदनमा वाईकोमा तेस्रो पक्षको प्रवेश भएको भन्ने उल्लेख भएपनि कसको भन्नेबारे खुलाएको छैन। सञ्चार माधयममा जानकारीमा आए अनुसार वाइकोमा तेस्रो पक्षको प्रवेश भएको भनेर अध्ययन प्रतिवेदनले आइएमई समुहलाई इंगित गरेको बजारमा चर्चा छ।

कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र अनलाइन कारोबार प्रणाली (नट्स) निर्माण गरि नेप्सेलाई हस्तान्तरण गरेपछि वाईकोमा आइएमई समुहले लगानी गरेको हो। वाईको, र आईएमई समुहको लगानीमा वाईको सोलुसन नामक कम्पनी खडा गरिएको हो। वाईको सोलुसनमा वाईको प्राली र इ शेयरको लगानी देखाईएको छ । इ शेयरमा भने आईएमइ समुहको लगानी छ । यसरी वाईको सोलुसनमा प्रत्यक्ष र अप्रत्यक्ष गरि आइएमई समुहको ८०, सिडीएससीका पूर्व सीइओ देव कुमार गुप्ताको ५ प्रतिशत र बाँकी १५ प्रतिशत दिपेश प्रधानको नै रहेको बजार चर्चा छ।

धितोपत्र बोर्डले शेयर बजार सञ्चालन क्षमताको मूल्यांकन गर्न, प्रयोगमा रहेका प्राविधिक पूर्वाधार, प्रणाली तथा मानव संसाधन लगायतका विषयको अध्ययन गर्न गत असोजमा बनाएको अध्ययन समितिले मङ्सिर २५ गते धितोपत्र बोर्डलाई बुझाएको प्रतिवेदनमा कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र अनलाइन कारोबार प्रणाली (नट्स) को संचालन तथा मर्मत सम्भार सम्बन्धि कार्य एकै सेवा प्रदायक कम्पनी मार्फत भईरहेकोु भन्ने उल्लेख गरेको थियो।

तेस्रो पक्ष अर्थात वाईको सोलुसनको नयाँ लगानीकर्ताले नेप्सेले सञ्चालनमा ल्याएको डाटा सेन्टरका फायरवाल, डाटा बेस र एक्टिभ डाइरेक्टोरीजस्ता महत्वपूर्ण प्रणालीमा सहज पहुँच पाएको भन्दै प्रतिवेदनले प्रश्न उठाएको हो। वाईको सोलुसन्सले समग्र शेयर व्यवस्थापन तथा कारोबार प्रणालीमा कति समय पहुँच पाएको छ भन्ने विषय नेप्सेको अधिनमा नरहेको पाइएकाले शेयर कारोबारको विश्वसनीयतामाथि शंका गर्ने ठाउँ पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ।

यता नेप्सेले धितोपत्र बोर्डले गरेको सो अध्ययन प्रतिवेदन नै पुर्वाग्राही भएको आरोप लगाएको छ । नेप्सेका एक उच्च अधिकारीले जसले सिस्टम बनाएको हो , त्यसको मर्मतको कारोबार पनि उसैलाई नै दिईनु स्वभाविक भएको सञ्चारकर्मीको प्रशनको उतर दिदै बताएका छन् । अहिले बजारमा नयाँ टिएमएस ल्याउन एक समुह लागेको र सो समुहले पर्याप्त पूर्वाधार नै नबनाई राजनीतिक पहुँचको आधारमा कन्सेक्सन जोड्न नेप्सेलाई दबाब दिने गरेको ति अधिकारीको भनाई छ । यसो हुँदा पनि सफल नभएकोले अहिलेको टिएमएसलाई नराम्रो देखाउँन धितोपत्र बोर्डले नै अध्ययनको फण्डा गरेको ति अधिकारीको दाबी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend