logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

अरुणिमा शैक्षिक प्रतिष्ठानको स्थापना दिवसको अवसरमा स्रष्टाहरू सम्मानित


  • जन आकाश
  • बिहिबार, माघ १८ २०८०

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्ध, कुमारीगालमा अवस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३९ औँ स्थापना दिवसको अवसर पारेर २०८० साल माघ १६ गते विशिष्ट व्यक्तित्व अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।



इतिहासविद् प्रा. दिनेशराज पन्तको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष  भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको समुद्घाटन कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि, प्रतिष्ठानका संरक्षक र कार्यकारी प्रिन्सिपल एवम् अन्य विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा गर्नुभएको थियो ।

सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको उक्त कार्यक्रममा कार्यकारी प्रिन्सिपल  ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानका समग्र गतिविधिहरू उल्लेख गर्दै उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्नुका साथै कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।

सो कार्यक्रममा शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दास, वाद्य सम्राट न्हुच्छेबहादुर डङ्गोल र लोकप्रिय गायिका कुन्ती मोक्तान एवम् २० वर्षे दीर्घसेवा सम्मान प्राप्त गर्ने शिक्षकहरू श्री खेमराज ढकाल,  कुमारमणी गजुरेल र  दिपेश कुमार नकर्मीलाई अभिनन्दन गरियो ।

अभिनन्दित व्यक्तित्व डा. गौरीशङ्कर लाल दासले विभिन्न उदाहरणहरू प्रस्तुत गर्दै सारगर्भित भनाइहरू मार्फत् शिक्षकहरू तथा समग्र संस्थाप्रति सम्मान प्रकट गर्नुुभयो । वाद्यसम्राट  न्हुच्छेबहादुर डङ्गोलले अरुणिमा शैक्षिक प्रतिष्ठानबाट आफू सम्मानित हुनु भनेको नेपालकै सङ्गीतको सम्मान हो, यो कुनै व्यक्ति विशेषलाई मात्र नभई संसारमा जो कोहीलाई पनि आवश्यक पर्ने भन्दै आफ्नो सङ्गीतिक प्रस्तुतिद्वारा मनोरञ्जन प्रदान गर्नुका साथै प्रतिभाहरूलाई अभिनन्दन गर्ने कार्यको निरन्तरताका लागि शुभेच्छा प्रकट गर्नुभयो ।

प्रमुख अतिथि प्रा. दिनेशराज पन्तले प्रतिष्ठान गुठी अन्तर्गत सञ्चालित नेपालकै उत्कृष्ट एवम् गरिमामय संस्था भएको कुरा उल्लेख गर्नुभयो ।

संस्थाका संरक्षक  बुद्धिबहादुर थापाले अभिनन्दित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै संस्थाको निरन्तर उन्नयनको कामना गर्नुभयो ।

कार्यक्रमका अध्यक्षले अभिनन्दित व्यक्तित्वहरूको विशिष्टताका बारेमा प्रकाश पार्दै बधाई तथा धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend