logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

विश्वको ठूलो शालिग्रामः नियात्रा


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १८ २०८०

रुबि सत्याल
काठमाडौ । यात्राको सुन्दर पक्ष भन्नु नै माटोसँग साक्षात्कार हुनु हो । पञ्च महाभूतले बनेको शरीरलाई प्रकृति संग नजिक राखेर नियाल्नु नै परमात्मा भेटिनु हो ।देशको सम्पूर्ण भूभाग घुम्न सकिएला नसकिएला तर मनमा उत्साह र उमङ्गका लहरहरू बोकेर आन्तरिक पर्यटक को रुपमा नेपालका हर वस्ति पुग्ने रहर म भित्र पनि छ।



यस्तै हार्दिकता मनभरी बोकेर स्रष्टा पदयात्राको टोलीको संयोजनमा हामी दम्पती सामेल भएको एक वर्ष पुग्न आटेछ। दुवैको एकै पेशा त छदै थियो तर साहित्यको क्षेत्रमा हाम्रो उस्तै रुचि रहनु सौभाग्यको कुरा हो । देशको कुना काप्चामा पुगेर यात्राको मिठास बटुल्नु त छदै थियो त्यो भन्दा पनि देशको आर्थिक, सामाजिक, राजनीति, कला साहित्यको अध्ययन गर्नु अर्को लक्ष थियो । हामी साहित्यिक कार्यक्रममा स्रष्टा पदयात्राको ७० औ शृंखला २०८० जेष्ठ ५ गते शुक्रवार विहान ६। बजे गोंगवु बसपार्कमा पुग्ने सल्लाह अनुसार सम्पूर्ण तयारीको साथ हामी दुवै दम्पती सामेल हुन पुग्यौं। हाम्रा साथमा हुनुहुन्थ्यो स्रष्टा पदयात्रीको टोली जसमा हुनुहुन्थ्यो , घनश्याम प्रसाई, गंगाप्रसाद भेटवाल, शीतल गिरी, अप्सरा ढकाल, वीमल अर्याल, दिपक प्रसाद भेटवाल, माधव घिमिरे अटल, खोलाघरे साहिलो, वसन्त रिजाल, रामकुमार पण्डित, अभय श्रेष्ठ, जयराम विडारी, शम्भु गजुरेल,रुवी सत्याल, डिल्लीराज अर्याल, बलचन्द्र मिश्र जम्मा भएर ग २ ख १५१४ को वसबाट ६.१५ को समयमा स्यांगजाको मालुंगा प्रस्थान गरेका थियौं । बाटोभरि स्रष्टा हरुसंग मिठा भलाकुसारी भए। अधिवक्ता तथा स्रष्टा गङ्गा प्रसाद भेटवालले आफ्नो क्यामरामा फोटो र भिडियोहरू अपलोड गर्दै हुनुहुन्थ्यो ।

 

बसमा कैद भएका भिडियो रचना वाचन समावेश गरिएको थियो। बसभरी स्रष्टा हरुले ल्याएका मिठा परिकार एक आपसमा बाँढेर खानुको अर्को मजा थियो । एकै परिवारका सदस्य झै हामी स्रष्टा पदयात्री समुहको विशेषता पनि हो । बस भरी सबैजना गीत संगीत को आनन्दमा रमाउँदै थियौ। बीच बीचमा चियापानका लागि गाडीबाट ओर्लेर फ्रेस भयौ। प्रकृतिको काखमा लुटुपुटु गर्दै यात्रा अघि बढिरहेको थियो। गाडीबाट देखिएका प्राकृतिक सौर्न्दर्य नियाल्दै क्यामरामा कैद गर्नु यात्राको अर्को आनन्द थियो । पदयात्रीहरु को उत्सुकता यात्राको मिठासले नै हाम्रो यात्रा सुमधुर हुँदै गयो ।

दिनभरीको बसको यात्राले थकित भएका हामीलाई यात्री हरु झम्के साँझ को ७ बजेको समयमा स्याङ्जाको मालुङ्गा ओर्लियौ। एक त बसको यात्राको थकान अर्को तिर अझै डेढ दुई किलोमिटर ओरालो बाटो ओर्लिनु पर्ने नै भो हाम्रो टोलीलाई स्वागतार्थ स्वामी चैतन्य कृष्ण को साथमा अरु भक्त हुनुहुन्थ्यो उहाँहरुलाई भेटेर बहुत आनन्द भयो । दिनभरिको थकान मेटिए झै अनुभूति भयो । ईश्वरको भक्त र भागवत दर्शन ले मन प्रफुल्लित हुन्छ सायद ईश्वर को अंश भनिन्छ प्राणीलाई ईश्वर कै सामिप्यता पाए झै अनुभूत गरियो ।

कालीगण्डकीको किनारमा अवस्थित झोलुङ्गे पुल काटेर हाम्रो टोली कालीगण्डककिो उत्तर बाहिनी क्षेत्रमा रहेको झोलुंगे पुल पार गरेर पाल्पा जिल्लाको असेर्दीमा रहेको स्वामी चैतन्य कृष्णको उत्तम व्यवस्थापनमा रहेको कालीगण्डकी गुरुकुलमा रात्रीको भोजन र बासको व्यवस्था सहित स्रष्टा पदयात्रीको स्वागत गरियो । कालीगण्डकीको सुसाई र मनको सुसाई उस्तै हुन्छ क्यार मन एकतमास त्यहाँको जनजीवनले प्रभावित भएको थियो। त्यो आतिथ्यमा मिठास भरिएको थियो । पाहुना लाई ईश्वरको स्वरूप मानिने हाम्रो संस्कार आफैंमा धन्य छ । बटुकहरुको हँसिलो व्यवहार अतिथिलाई गरिने सत्कारले हाम्रो सभ्यता कति धनी छ भन्ने कुरा स्पष्ट हुन्छ । वालिङ् पुगेपछि हाम्रो यात्रा टोलीमा अर्का एक स्थानीय संयोजकका रुपमा आदरणीय व्यक्तित्व डा।तुलसी खनाल ‘प्रभास’ समेत मिसिनु भएपछि यात्राको रोमाञ्चकता अझै बढेको थियो । स्थानीय रहन(सहन रितिस्थिति चालचलन परम्पराका बारेमा यथेष्ट जानकारी दिलाउनु भएको थियो ।

रातको भोजन पश्चात गरिएको प्रतियोगितात्मक साहित्य गोष्ठिमा सबैले आफ्ना आफ्ना सृजना बाचन गर्यौ जसमा मैले आफ्नो कविता हाकुने सुनाए,जापानको बसाईमा ज्वालामुखीको पहाड घुम्ने अवसर पाएको थिएँ । हाकुनेको यात्रामा त्यहाँको अनुभूति समेटेर लेखेको कवितामा त्यहाँको जनजीवन र आफ्नै देश सम्झेर लालीगुराँस र साकुरा को साथै त्यहाँको राष्ट्रिय पोसाक र नेपाली दौरा सुरुवाल टोपी साथै सगरमाथा र त्यहाँको हिमाल फुजी प्रणय सूत्रमा बाँधिएको कल्पनामा लेखेको भावनात्मक रूपमा कोरिएको कविता सुनाउन पाउँदा खुशी लाग्यो।आन्तरिक प्रतियोगिता गरेर शीतल गिरी र विमल अर्यालको निर्णायकत्वमा स्रष्टा पदयात्री खोलाघरे साहिंलोको कविता उत्कृष्ठ रहेको घोषणाका आधरमा नगद १६००। प्रोत्साहन पुरस्कार स्वामी चैतन्य कृष्णको बाहुलीबाट प्रदान गरिएको थियो ।

त्यो रात जीवनको अनौठो घटनाको अनुभूति प्राप्त गरेको कुरा लेख्छु। जब विश्राम लिन हामी दुई महिला यात्रीलाई अलग कोठामा व्यवस्था गरिएको थियो, कवि अप्सराको ढकाल र म केही समय जीवनको दुःख सुख बाड्दै थियौ उहापनी जापानमा बस्नु भएको रहेछ केही समय जीवनको अनौठो घटना क्रम र मिठा नमिठा अनुभूति सुनाउँदै गयौ विदेशका अनौठा नियम र कामको बोझ र त्यहाँका जनजीवनको कुराहरू गर्दा गर्दै अप्सरा ढकाल भुसुक्कै निदाउन पुग्नु भयो।

मलाई निद्रा पटक्कै परेन। कालीगण्डकी को सुसाई उस्तै त्यसैमाथि रातमा कराउने अनौठो चरा को स्वरले मलाई छट्पटी मात्रै भएन कता कता डरले डेरा पो जमाउन लाग्यो। यता उता अर्की फर्की मात्रै गरे निद्रा देवी नजिक आउन पटक्कै मानिनन्। जुरुक्क उठेर बत्ती बाल्ने आँट सम्म न आउनु आफ्नो मुटु देखेर आफैलाई दया लाग्यो ।

उत्तरबाहिनी गण्डकीको किनारमा अवस्थित आश्रम थियो। त्यो कालीगण्डकीको सुसाई ले के के मात्रै मनमा कुरा खेलेन यहाँ लेखु भने सुरु र अन्त्य नहुने कुरा लेखेर साध्य हुँदैन। मनमा जब डर हुन्छ छाया पनि भूत बन्छ भन्थे होकी भनेझैं भयो ।

अन्तत्वगोत्वा मनले भन्यो ईश्वरको शरण पर्नु बाहेक मेरो अर्को विकल्प रहेन, मैले पनि गुरुले दिनुभएको मन्त्र जब गर्न थाले,एक चित्त भै आफैलाई समर्पण गर्दै मेडिटेसन गर्न थाले।

जब मुटुको धड्कन कम हुँदै गएको अनुभूति प्राप्त गरेको थिए खै कतिबेला झपक्क निद्रा परेछ पत्तो भएन। बिहानीपख अनौठो सपनामा पानीको तरङ्गमा शिव पार्वतीको दिव्य दर्शन भयो, बहुत सुन्दर कोमल छाया छवि देखियो त्यो दिव्यतामा मैले आफैलाई समर्पण गरे , कुनै चित्रकारले यस्तो क्यानभास कोरे की कोरेनन् होला मलाई आज सम्म त्यो दिव्य अवतार को दर्शनले मनमा अद्धभुत आनन्द महसुस हुन्छ। बिहान पख आँखा खुल्दा कवि अप्सरा ढकाल उठीसक्नु भएको रहेछ तर मलाई अझै पनि मनमा शान्ति महसुस हुँदै थियो । नित्य कर्म सकेर बिहान सबै यात्री चियापान गर्न थाल्यौ। गुरु स्वामी चैतन्य कृष्णले हामीलाई रातमा निद्रा पर्यो परेन कस्तो रह्यो भन्दै गर्दा आफ्नो साथमा रहेको कविता सङ्ग्रह अछूत जून समर्पण गर्दै आफ्नो बिहानीको सपनिको कुरा बताएं उहाले बडो आनन्दका साथ भन्नु भयो हजुर बढो भाग्यमानी हुनुहुँदो रहेछ जो कोहीलाई भगवानको दिव्य दर्शन मिल्दैन हजुलाई कृपा भयो, बहुत खुशी लाग्यो भन्दा मन अझै पुकालित हुन पुग्यो, गुरुको आशीर्वाद प्राप्त भयो त्यो दिन मलाई जीवन सफल भए झै भयो । त्यसपछि हाम्रो टोली बिहानीको सूर्यको मिठो आगमनसँगै जेठ ६ गते बिहान हामीले १०८ शिवलिंग दर्शन गरेर रांगदीघाट अवलोकन गर्न गयौं । कालीगण्डकीको सुसेलिसगै फोटो भिडियो आफ्नो आफ्नो क्यारमामा कैद गर्दै रमायौ । कालीगण्डकीको किनारमा स्वामी गुरु चैतन्य कृष्ण संग त्यहाँको जनजीवन भाषा साहित्य संस्कृति विकाशको बरारेका कानुन व्यवसायी तथा साहित्यकार गङ्गा भेटवाल भिडियो मार्फत् ति दिव्य बाचन कैद गर्नु भयो ।

त्यहाँबाट मालुंगाबाट ५ कि।मी। टाढा रहेको छ । जहाँ योगी नरहरीनाथले कोटी होम लगाएर गुरुकुल, गौशाला, आयुर्वेदीक उपचार केन्द्र लगायत स्थापना गर्नु भएको रहेछ ।

बीचमा गुरुकुल बन्द भएछ र अहिले पुनः सञ्चालनमा आएको पाइयो । धार्मिक हिसाबले यस क्षेत्रलाई रामजीघाट भनिदो रहेछ । यस ठाउँदेखि अलीपर काली गण्डककिो पुल तरेर दाहिनेतर्फ रहेको नदि किनारको पहरामा सिद्ध गुफा अवलोकन गर्ने मौका पायौं । सो गुफामा सांख्य दर्शन प्रणेता कपील मुनीले तपस्या गरेर सिद्धि प्राप्त भएको प्रसंग जोडेर त्यहााका पुजारी कथा भन्दा रहेछन् । यिनै अनुभूति का साथ हामी प्राकृतिक सौर्न्दर्य नियाल्दै थियौ। साथमा यात्रीको अनुभुब अनुभूति एक अर्को साट्दै रमाइलो गर्दै थियौ।

कवि हृदयको अनुभूतिलाई संगाल्दै हिड्नु को आनन्द छँदै थियो । यात्रा संस्मरण लेख्न बहुत मन थियो ति संस्कृति भाषा साहित्य संस्कृति र परम्पराको संरक्षण गरेको कदमको मनले प्रशंसा गरिरहेको थियो । जहाँ गयो उतैको हुन खोज्छ मन जाहा पुगेपनि आफ्नै माटोको सुगन्ध न हों मन उतै रमाउन थालिसकेको थियो त्यो दिव्य भूमिमा अनौठो आनन्द महसुस भएको थियो तर समय भन्दा अघि र भाग्य भन्दा बढी पाईदैन भने झै समय अभाव रहेकोले हामी मालुंगा फर्कियौ । हामी यात्री सबै खुब आनन्दित थियौ नयाँ ठाउँ नौलो अनुभूतिले हामीलाई बेग्लै ऊर्जा थप्दै थियो ।

उत्तरवाहीनी क्षेत्रमा वारिपट्टी सो गुरुकुलको आयोजनामा बन्दै गरेको विशाल आयुर्वेदिक अस्पताल, यज्ञ स्थल, सभा कक्ष पाहुना घर लगायत अवलोकन गर्यौ । त्यहाँ एउटा पुरानो पीपलको बोट रहेछ जसले समय समयमा शंख ध्वनी गञ्जाउदो रहेछ, पिपलको बोटलाई कल्प वृक्ष भनिन्छ प्राणीलाई भरपुर अक्सिजन दिने यो वृक्ष प्राणी लाई बरदान नै हो । पिपलको बोटलाई परिक्रमा गरेर त्यही सबैले सामूहिक फोटो खिच्यौं याद हरु ताजा राखेर मन भरी उत्साह बटुल्दै
झोलुंगे पुल तरेर हामीले हाम्रो उद्देश्य तर्फ केन्द्रित हुँदै, यस क्षेत्र चयन गर्न पुगेका थियौं । गुरु चैतन्य कृष्ण बाट
धेरै कुराको जानकारी प्राप्त गर्ने सौभाग्य प्राप्त गर्ने मौका जुरेको थियो ।

धेरै कुराहरुको अनुभब अनुभूति समेट्दै हाम्रो टोली त्यहाँको कार्यक्रम समापन पश्चात अर्को ठाउँको यात्रा अनुभव समेट्न यात्रालाई गन्तव्य दिन गाडी खोजेर ट्रयाक्स चढी मिर्मि पुगेका थियौं । त्यहाँ रहेको मिर्मि आधारभूत विद्यालयका ब्यवस्थापक ज्ञानु पाण्डे लगायतको अथक प्रयासले देशकै नमुना विद्यालयमा दरिएको हेर्न पायौं, बुझ्न पायौं, सामुदायीक विद्यालयले शैक्षिक सुधार गर्न चाह्यो भने त हुने रहेछ भन्ने ज्वलंत उदाहरणले पुलकित हुंदै समाजप्रतिको वहांको योगदानलाई सम्झिएर धन्यवाद ज्ञापन गरेका थियौं ।

शिक्षाको क्षेत्रमा हामी आफ्नो क्षेत्रबाट सवैले सकेको सोगदान दिने हो भने यसको स्तरोन्नति हुन समय नलाग्ने रहेछ । नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन आउन धेरै समय नलाग्ने रहेछ भन्ने उदारहण हेरेर हामीले बडो आनन्द महसुस गर्यौ । शहरी क्षेत्रमा मात्रै नभै गाउँको प्रत्येक क्षेत्रमा यसरी नै पहल गर्ने हों भने हाम्रो विद्यालय शिक्षक र विद्यार्थीको शिक्षा क्षेत्रमा ठूलो क्रान्ति आउने कुरामा दुईमत नहोला । गरे के सम्भव छैन भन्ने उदारहणीय कार्यको प्रशंसा गर्दै हामी उहाँहरुसँग छुट्टियौं।

दिनभरिको थकान अनौठा अनुभूति समेट्दै विश्राम र खानपिन गरेर आफूलाई पुनस् ताजगीको लागि तयार गर्ने तरखरमा जुट्यौ। बिहानीको प्रभाती किरण सगै यात्रा टोली उत्साह उमङ्ग बटुल्दैतेस्रो दिन विहान ७ गते आइतबार कालीगण्डकी ए जलबिद्युत परियोजना भ्रमण गर्यौ । यादहरु लाई जीवित पार्न जलविहार को क्रममा भिडियो र फोटो खिच्यौं। पानीको लहरमा भावनाका तरङ्ग पैदा हुँदै गए कवि मनमा कवित्व भाव प्रकट हुँदै गयो कविताको पोको फुकाएर पानीमा माछा पौडिए जस्तै कविता छरपस्ट पार्न मन लाग्यो। पानीको प्रवाह सगै ढुङ्गामा तैरिदा हावाको झोकाले मन मस्तिषमा तरङ्ग भरिदै गए ।
मिर्मी सेतीबेनी ४ किमि स्टीमबोटबाट जलयात्रा गर्नुको आनन्द बेग्लै रह्यो । धार्मिक,सांस्कृतिक र पर्यटकीय क्षेत्र बनेको
संसारकै विशाल शालीग्रामको दर्शनले मन आनन्दित तुल्यायो।

पितृ तर्पण गर्ने हरु भेटिए, आस्था र विश्वासको केन्द्रबिन्दु बनेको उक्त क्षेत्रमा श्रद्धालु भक्तजनहरूको घुँइचो लागेको थियो । विष्णु अवतार मानिले शालिग्राम शिला को दर्शनले मात्रै पनि जीवनको नकारात्मक ऊर्जा हटेर सकारात्मक उर्जा भरिने जनमासनमा विश्वास रहेको छ । हुन पनि ठूलो क्षेत्र ओगटेको विशाल गालिग्रामको दर्शन गर्न पाउनु सौभाग्यको कुरा थियो । अझै विश्वको ठूलो शालिग्राम शिला नेपालमा मात्रै हुनु अर्को गर्वको विषय हो । यस क्षेत्रको प्रचार प्रसार व्यापक रूपमा गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा रहनुको साथै त्यहाँको जनजीवनको आर्थिक उन्नतीमा अझै टेवा पुग्ने थियो ।

हाम्रो देशमा भएका यस्ता पौराणिक र धार्मिक सांस्कृतिक धरोहरलाई संरक्षण एवं अनुसंधान को लागि राखिनु पर्दछ।
जसबाट देशको आर्थिक सामाजिक तथा सांस्कृतिक धरोहरलाई जीवित राख्न टेवा पुग्नेछ र भावी पुस्ताले हाम्रा धार्मिक सांस्कृतिक पक्षलाई जोगाउन सक्ने थिए ।

समयको पावन्दी एकतर्फ छदै थियो त्यहाँको जनजीवन र अन्य भौगोलिक अवस्थिति को अवलोकन पश्यात सामूहिक फोटो खिच्यौं, जसले यादहरु ताजै राख्न मद्धत गर्छ।

दर्शन पश्चात पुल तरेर पर्वत जिल्लामा पुगी सेतीबेनीबाट पर्वतको पैयु हटियासम्मको पदयात्रा पश्चात १२। बजेको समयमा नबीना होटेलमा भोजन गरेका थियौं सो पश्चात मोटर खोजेर हामी स्याङ्जा वालिंग पुगेका थियौं । स्याङ्जा बहुमुखी क्याम्पस, पूर्णामृत भवानी मा।वी। का प्रध्यापक । अध्यापकसँग अन्तर क्रिया गरेर , यस यात्राका सहजकर्ता डा।तुलसी प्रभाससंग बिदा भएर साझ ५. ३० तिर रात्रीवस चढेर विहान ४।३० को समयमा काठमाडौं उपत्यकाको कलङ्की चोक अवतरण पश्चाथ यस महिनाको स्रष्टा पदयात्रा सम्पन्न भएको थियो ।

यात्राको मिठास आफैंमा सुन्दर पक्ष हो । आन्तरिक पर्यटक को रुपमा नेपालका विभिन्न जिल्लामा अवस्थित गाँउ वस्ति पुग्ने रहर अझै छ । याटामा देखें भेटिएको वस्तु स्थितिलाई अवलोकन गर्दै साहित्यको नौलो अनुभूतिलाई समेटिनु यात्राको उदेश्य पनि हो । भोलिका पुस्तालाई हस्तान्तरण गर्न यिनै अनुभूतिका क्षणहरु कलात्मक ढङ्गले लेख्न सकियोस् भन्ने उदेश्य बोकेर यात्रा तय गरिन्छ। उदेश्यपूर्ण यात्रा गर्नु र त्यो यात्राको अनुभूति समेट्दै विश्राम लिइरहँदा अझै नयाँ ठाउँ को यात्रा विवरण लेख्न नयाँ ऊर्जा थप्दै जानुछ ।

यो यात्रामा साथ सहयोग संस्मरण लेख्न नव ऊर्जा थप्नु हुने यात्रा संयोजक सितल गिरी सर प्रति हार्दिक आभार व्यक्त गर्दै अर्को यात्रा संस्मरणमा भेट हुनेछ अहिलेलाई अस्तु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend