logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

डढेलो र आगलागी बाट सचेत हुन आह्वान


  • जन आकाश
  • आइतबार, चैत्र ४ २०८०

काठमाडौं– प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ले समय डढेलो र आगलागीले ठूले धनजनको क्षतिसमेत पुर्याइसकेको छ ।



चैत ३ गते राति मोरङको पथरी शनिश्चरे–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा रु एक करोड भन्दा बढीको क्षति भएको छ । शनिबार पनि मोरङकै रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएको थियो । २५ परिवार विस्थापित नै भएका छन् ।

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । उदयपुर रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित नवउदय सामुदायिक जङ्गल आगो फैलिएर सोही ठाउँ बस्ने ६ जनाको घर तथा घरमा रहेको विभिन्न सामान जलेर नष्ट भएको छ ।

प्राप्त विवरणनुसार शनिबारमात्रै ती जिल्लासहित काठमाडौं, महोत्तरी, सुर्खेत, तेह्रथुम, सप्तरी, ताप्लेजुङलगायतका जिल्लामा आगलागी र डढेलोका घटना भएका छन् ।

यसपालि हिउँदमा पानी कम परेकाले पनि सुक्खा बढी हुँदा प्रिमनसुनको सुरुआतमै डढेलो र आगलागीका घटना बढिरहेको छ । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय हो ।

यस क्षेत्रका विज्ञहरूले पूर्व सचेतना र नियन्त्रणका लागि आवश्यक तयारी गर्न नसके डढेलो र आगलागीले थप क्षति निम्त्याउने चेतावनी नै दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको भन्दै सचेत हुन आह्वान गरेको छ ।

प्राधिकरणका उपसचिव एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा मानवीय लापरबाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको बताउँछन् । उनका अनुसार पछिल्ला दुई वर्ष डढेलो तुलनात्मकरूपमा कम भए पनि यो वर्ष बढ्न सक्ने देखिएको छ ।

प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले प्राधिकरणकबाट सचेतनाका काम भइरहेको बताएकाछन् । उनले पछिल्लो दुई–तीन दिनमा डढेलो र आगलागी एकदम बढेको बताउँदै तीनै तहको सरकार र सबै निकायसँगको समन्वयमा आवश्यक काम अघि बढाउने तयारी गरिएको बताए ।
मानिसहरूमा कृषिकर्ममा कमी आएका कारण जङ्गलमा दाउरा, घाँस, पत्कर थुप्रिएर बसेको र त्यसरी थुप्रिएर बसेको ‘फ्युल’मा आगो सल्किँदा ठूलो क्षेत्रमा डढेलो पुग्ने खतरा बढेको बताइन्छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा औँल्याइसकेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend