logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्ती तथा पुष्पलाल दाहाल (प्रचण्ड)लाई जोग बहादुरकाे पत्र


  • जन आकाश
  • बुधबार, चैत्र १४ २०८०

प्रधानमन्त्ती तथा पुष्पलाल (प्रचण्ड)लाई पत्र।



रष जति सबै झरेर गयो छपनीमा छानिएर छोक्रा मात्रै बाँकी रहे,यसैलाई तिमीले क्रान्ति भन्यौ म यहि क्रान्तिको कात्रो बाँधेर चिहानमा उभिएको छु

प्रिय कामरेड प्रचण्ड रक्तीम अभिबादन !
प्रिय कामरेड एक युगको तपाईंको अनुयायी असली भक्त म धेरै पछि तपाईंलाई सम्झन पुगेको छु।दश बर्षे ति युद्धका कठिन दिनहरुमा अन्जुली भरी सद्भाब बोकेर भोक र थकान पछिको निन्द्रा नभनिकन ज्यान जलेर सुकुटी हुने खालको हपहपी गर्मीमा वा रगत जमेर जाम हुने कठ्याङग्रीदो चिसोमा तपाईंको तस्बिर मुटु भित्र जतनले राखेको याद आयो।त्यतिबेला आफ्नो जिन्दगी भन्दा तपाईंको जिन्दगीको महंगो महत्त्व हुन्थ्यो।आफु मर्दा पनि सर्बहाराका देउता प्रचण्डलाई देखेर मर्न पाए आत्माले शान्ति पाउथ्यो भन्ने लाग्थ्यो। त्यसैले त तपाईले नेतृत्व गरेको क्रान्तिमा आवाज नउठाएको कुनै ब्यक्ति छ,रगत नबगाएको कुनै गाउँ छ,सहयोग नगरेको कुनै परिवार छ।

प्रिय कामरेड प्रचण्ड तपाईं रत्नपार्कमा नाराजुलुस गरेर रातारात जन्मेको नेता होइन ता कि सजिलै बिगत भुलेर आफु बैभबको जिन्दगी जिउने तपाई त हजारौंको बलिदान,लाखौं घाइते र करोडौं जनताको पसिनाको महायज्ञ बाट जन्मेको एक अचुक अस्र हुनुहुन्थ्यो। प्रिय कामरेड मैले त मात्रै पत्र मार्फत याद दिलाउन खोजेको हुँ,कतै तपाईंको मरेको आत्मा यो पत्र पढेपछि पुनः ति रोएका भोका बस्ती,बा आमा देख्न नपाएका टुहुरा सन्तान,आधा जिन्दगी बोकेर मर्नु न बाँच्न बिबस ति घाइते,अनि सन्तानका पर्खाइमा बाटो कुरेर बाँचेका ति बेपत्ताका परिवार,तपाइलाई काखीको बच्चा जस्तै ठानेर पाल्ने ति राप्ती,कर्णाली र भेरीका भोका बस्ती प्रति माया जागेर आउछ कि भन्ने आशामा यो पत्र लेखेको हु। र म चाहान्छु,यो पत्र जसरी पनि कामरेड प्रचण्ड समक्ष पुगोस्।

प्रिय कामरेड प्रचण्ड तपाई हामीलाई भन्नुहुन्थ्यो,यो भौतिक दुनियाँमा मृत्यु एक दिन अबश्य छ।जिन्दगी माटोको लागि न हो,एक दिन अबश्य मर्नु नै छ।हामी रहुला वा नरहुला तर तपाईहरु मानब मुक्तिको संग्राममा समाबेश भई तपाई मृत्युलाई जित्नुहुनेछ। प्राय मान्छेहरु कपास जस्तो हलुङगो मरण मर्दछन तर तपाईंको मरण पहाड भन्दा गरुँगो हुनेछ। प्रिय कामरेड यि तपाईंका आदर्शको पगरी बाँधेर सिङ्गो सर्बस्व त्याग्यौ र तिम्रो भोलिका लागि हामीले हाम्रो आज गुमायौं, र युद्धको मोर्चामा हाम फाल्यौ र हामी जिउँदै मर्यौं।

हुन त कामरेड यो पत्र पढ्दा तपाईंका अनुयायीहरु म प्रति आबेग पोख्न सक्छन तर पनि दुनियाँमा मैले देखेको र भोगेको यथार्थ बोल्नैपर्छ। ता की यो पत्रले तपाईंको अगाडि सत्यताको पोको फुकाउने काम गर्नेछ। कामरेड प्रचण्ड एक समय थियो तपाईंको आदर्शमा काखीमा दुधे बच्चा च्यापेर तोपको मोहोरीमा जिन्दगी भिटी राखेर हिडेकी ति महिला छापामार आज जसोतसो जिबन धान्न बगरको बालुवा र सडकको गिट्टी कुटेर बाँचेकी रहिछन। बुर्जुवा शिक्षा भन्दै मार्कसिट च्यातेर बा आमा त्यागेर तपाईंको आदर्शमा जिन्दगीको मुल्य खोज्न बन्दुक बोकेर हिडेको युवा आज रोटीको खोजीमा अरब र मुग्लानका गल्लीमा आँशु पिएर पो बाँचेको रहेछ। तपाईंको राम नाम जपेर युद्धको मोर्चामा गोली खाएको घाइते सिपाही आज शरिरमा छर्रा बोकेर पिप बगाउदै सिंहदरबारमा गृहमन्त्रीको अगाडि सिटामोलको भिख माग्दै बिष पिएर मर्न पो बिबश भएछन।

प्रचण्ड पथको पगरी बाँधेर खुट्टा गुमाएको एउटा योद्धा ह्वील चिअरको खोजीमा तपाईंको कार्यालयको पेटीमा आँशु बगाउदै घिसारिएर बाँचेको रहेछ।क्रान्तिको मन्त्र जपेर मरेको एउटा योद्धाको छोरा मुम्बईका गल्लीमा एक पेट चारो र बिधुवा आमाको उपचारका लागि इट्टा पो बोक्दो रहेछ।धरोधर यो धर्ती साँची राखेर भन्छु, यो कुनै बनावटी कुरा होइन। प्रिय कामरेड तपाईंले दुबैको पाँच तारे होटलमा करोडौंको बिल तिर्दा तपाईंको आदर्शमा ज्यान गुमाएको कर्णालीको शहिदको बुवा कुन्नि के खाएर बाँचेको होला, उ पनि मान्छे हो उसका पनि त रहर हुदा हुन,उसका पनि त सपना होलान,क्रान्तिमा श्रीमान गुमाएकी बिधुवा श्रीमती दशैंमा छोरालाई एकसरो लुगा किन्न नसकेर भक्कानिएर श्रीमानको यादमा बलुन्धारा आँशु बगाउदाको पिडाले तपाईंलाई मार्सी चामलको भात खुवाउने दुर्गा पर्साइको अगाडि सम्झनामा नआउला। तपाईंलाई काखीको बच्चा सरी माया गरेर बचाएका ति राप्ती र भेरीका दुरदराजका जनता आज खुल्ला आकाशमुनि कठ्याङग्रीएर काल रात्रीमा गुम्सीएर बाँच्दा खै कसरी तपाइलाई तपाईंको घरपेटी अजय सुमार्गीको बंगलामा निन्द्रा आउछ?

प्रिय कामरेड जसले तपाईंको गर्धनमा तरबार राखेर टाउकाको मुल्य तोक्यो त्यसैसंग तपाईंको हेलमेल बढ्यो। जसले तपाईंलाई ज्यानमा ज्यान दियो त्यो बर्ग बिस्तारै चुसेर सडकमा मिल्काइएको आँपको कोयो जस्तै बन्दैगयो। हुनत कामरेड तपाईंको नियतमाथि खोट पहिले नै रहेछ जतिबेला हामी हजारौं कार्यकर्तालाई भारत बिरुद्ध शुरुङ युद्धको घोषणा गरेर हामी राप्तीका पहाडमा सरुङ खनिरहदा तपाई भने आफ्नो खानदान सहित भारतको छत्रछायामा बस्नु भएको रहेछ। बल्ल पछि पो बुझियो। खै म त कल्पना समेत गर्न सकेको थिएन कामरेड तपाई बर्गसंघर्षको अभियान छोडेर खानदान ब्यबस्थापनको अभियानमा लाग्नुहुन्छ भनेर। युद्धको भुमीमा भौतारिएको बर्गलाई सडकमै छोडेर तपाईं ज्वाई,छोरी,साला,सम्दी बुहारीलाई अंशै सरि सत्ताका पदहरु बाँड्नु भयो,राजनीतिमा कहिलेकाही यस्तो हुन्छ ठानेर तपाईंको जयजय नै गर्यौं। छोरी मेयर बनाउनका लागि देउवाको शरण पुग्यौ क्रान्ति नै ठान्यौं,बुहारी मन्त्री बनाउन एमाले संग साँठगाँठ गर्यौ यो पनि जनताकै लागि सोच्यौं।

प्रिय कामरेड जुन प्रस्ताव तपाईंले बोक्नु र बोकाउनु भएको थियो आज त्यहि एजेन्डामा हामीले वकालत गरेर हिड्दा हामीलाई आतंककारीको बिज्ञप्ती निकालेर राज्यको सुरक्षा अंग प्रयोग गरेर निर्मम दमन गर्नु भएको छ। जुन ब्यबस्था प्राप्तिका लागि भनेर हिजो तपाइले लडाउनु भयो आज त्यही ब्यबस्थाको बहस गर्दा हिजो तपाईंको लागि गोली खान तयार भएका कार्यकर्तालाई हातमा हत्गडी बाँधेर जेलका चिसा सिडिमा सडाउनु भएको छ। हाम्रा लाखौंलाख जनसमुदाय, हजारौं कार्यकर्ता तपाईंको प्रतिबन्धको परिधिभित्र जिबनको सुन्दर भबिस्य खोजीरहेका छन।अन्तमा हेक्का रहोस कामरेड प्रचण्ड इतिहास साँची छ दुनियाँका मै हु भन्ने बादशाहहरु जनताको अगाडि धुलोमा धसिएर धुलिसात भएका छन। यदि तपाईं नसच्चीएर आफु र आफ्नो परिवार सम्पन्न बन्नु नै क्रान्ति सम्पन्न हुनु हो भन्ने सोचेको छ भने हिजो जनयुद्धमा भाग लिएर आज आँशु पिएर बाँच्न बिबस करोडौं उत्पिडीत जनसमुदाय तपाई बिरुद्ध आँधी बनेर उर्लनेछन।

क्रान्तिकारी अभिबादन सहित
जोग बहादुर कठायत।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend