logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

महासंघको साधारणसभा शुक्रवार, उदघाटन प्रधानमन्त्रीले गर्ने


  • जन आकाश
  • बिहिबार, चैत्र १५ २०८०

काठमाडौ  । शुक्रवारबाट शुरु हुने नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ ।



शुक्रवार हेटौडामा पत्रकार सम्मेलन आयोजना गर्दै महासंघका अध्यक्ष रवि सिंहले शनिवार सम्म चल्ने साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकाछन ।

मकवानपुर निर्माण व्यवसायी संघको सह आयोजनामा हुन लागेको साधारण सभाको उद्घाटन सत्रको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समुद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, शहरी विकास मन्त्री धनबहादुर बुढा, वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेल लगायत विशिष्ट अतिथिको रुपमा सहभागीता हुने छन।

साधारण सभामा देशभरबाट करीब ११ सय प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उद्घाटन सत्रमा प्रधानमन्त्रीले निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरूको लेख रचना एवं महासंघका गतिविधि समेटिएको ‘निर्माण विशेषाङ्क’ स्मारिकाको विमोचन गर्ने कार्यक्रम तय गरिएको छ ।

निर्माण उद्योगको विकास विस्तारमा महत्वपूर्ण योगदान दिने अग्रज निर्माण व्यवसायीहरूलाई साधारण सभाको उद्घाटन सत्रमा सम्मान गरिने महासंघले जनाएको छ ।

साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।

साधारण सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित् २४ वटा स्टलहरू पनि राखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । २५ औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरूको सीप, दक्षता, क्षमता र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण सावित हुने विश्वास महासंघले लिएको उल्लेख  छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन आउनु सकारात्मक भएको प्रतिक्रिया दिएकाछन । तर म्याद थपले मात्र निर्माण उद्योगमा देखिएको समस्या समाधान नहुने भन्दै उनले निर्माण उद्योग मैत्री ऐन कानून आजको आवश्यकता भएको बताउदै आएका छन ।

सरकारले अब व्यवसायीहरूलाई बाँकी रहेको भुक्तानी दिई अर्थतन्त्र चलायमान बनाउनुपर्ने अध्यक्षको सिंहको भनाइ थियो ।

महासंघका सल्लाहकार समेत रहेका पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण उद्योगको समस्यालाई राज्य, संचार जगत कसैले बुझ्न नसकेको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले म्याद थप हुँदा व्यवसायीलाई नै घाटा हुने भन्दै म्याद थपलाई उपहारको रुपमा नबुझ्न सञ्चार जगत समक्ष आग्रह गरे ।

निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरू लिपिवद्ध गर्दै घोषणा पत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिएका थिए।

महासंघका प्रवक्ता समेत रहेका  उपमहासचिव शिवहरि घिमिरेले उद्योगको पनि ‘उद्योग’ को रुपमा निर्माण उद्योग सबल भएमात्र राष्ट्रको वास्तविक विकास हुने बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend