जन आकाश
भक्तपुर । नयाँ बर्ष २०८१ तथा बिस्का जात्राको अवसरमा ऐतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरमा ३३ पोखरी पदयात्रा सम्पन्न भएको छ । तापमान बढेसंगै पोखरीहरु सुकिरहेका छन् । भक्तपुर सहरका पोखरीको अवस्था अध्ययन अवलोकन साथै प्रवर्द्धन गर्ने उदेश्यले बिगत ७ बर्ष देखि नयाँ बर्षको दिन आयोजना गर्दै आएको ३३ पोखरी पदयात्राको महत्व प्रकाश पार्दै ज्ञानखबर एजुकेशन एण्ड रिसर्च मिडियाका व्यवस्थापक राजन कुसीले नयाँ बर्ष २०८१ को शुभकामनाका साथ उत्साहजनक सहभागीताको लागि धन्यवाद व्यक्त गरेका थिए । साथै कुसीले पानीको सतह बढाउने उपायहरु खोज्न पर्नेमा जोड दिए ।
भक्तपुर टुर्सका योजनाकार रविन राचलिकाले पानीको श्रोत संरक्षण गरी साँस्कृतिक सम्पदाहरुको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखेका थिए । कार्यक्रममा सहभागी पदयात्रीहरूको प्रतिनिधित्व गर्दै नारायण खतिवडा तथा राहुल भुजूले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद सहित पोखरीसंगै रहेको कुमारी बैंक नपुखु शाखाको तर्फबाट नयाँ बर्षको शुभकामना व्यक्त गरे ।
भक्तपुर टुर्स तथा ज्ञानखबर एजुकेसन एण्ड रिसर्च मिडियाको संयुक्त आयोजनामा भएको सो पदयात्रामा कुमारी बैंक लगायतका संस्थाहरूको सहभागीता रहेको थियो ।
दक्षिण भेगको यात्रा
माहेश्वरी मन्दिरबाट सुरु भएको यात्रा जेलाँ स्थित पुखुचा बाट खचाँ पुखु, याता न्हाद पुखु, याता बाहारे पुखु हुदै कुमारी पुखु पुगेको थियो । ल्योसिख्य पुख्बाट खल्लाँ हुदै हालै मर्मत गरिएको लैको पुखुको सौन्दर्य अवलोकन गरी यात्रा बजार क्षेत्र हुदै अगाडी बढेको थियो ।
बजार क्षेत्रको मंगलकुण्डमा पानीको सतह सबै भन्दा बढी रहेको पाइयो, त्यहाँ धाराको पानीले पोखरी भर्ने गरिएको छ । त्यस पछि
यात्रा, थुगुचो, देगमना पुखु, तेखापुखु हुदै गत महिना उद्धघाटन गरिएको भाजु पुख पुगे पछि दक्षिण भेगको पोखरीको यात्रा सकियो ।
उत्तरी भेगको यात्रा
रानीपोखरी, सिद्धपोखरी, नपुखु, कालदहचा, मचागाँ पुखु, इन्द्रायणी पुखु पछि यात्रा भक्तपुर दरवार क्षेत्रको खौमा प्रवेशद्वार पुग्यो । दरवार भित्र रहेका तीन पोखरी मध्ये भण्डारखाल पोखरी हालै कला संग्राहलय अन्तर्गत राखिएकोले नयाँ बर्षको बिदाको कारण बन्द रहेको छ । दरवार भित्र रहेको अरिचा पुखु निकै शान्त रहेको छ, भने लायकु लुहिटि पुखुमा फोटो खिच्नेहरुको भीड देखियो ।
ब्यासीमा रहेका दुई पोखरी डाँडाको फेदम रहेको कारणले पानीको सतह अरु पोखरीको भन्दा धेरै रहेको छ । यस्तै अवस्था महाकाली स्थित अचाँ पुखूमा रहेको छ ।
वडा नं. ६ कार्यालयसंगै जोडिएको भौल्वा पुखु गमलामा फुल रोपेर सजाइएको छ । बेखालपुखुको पानी प्रयोगबिहीन अवस्थामा रहेको पाइयो । नागपोखरीमा पनि पानीको सतह तल पगुेको छ ।चोर्चाको पुखुमा भने संगै रहेको धाराबाट बगेको पानी जम्मा हुने गरेको छ।
यात्रा सलाँ गणेशपुखु, क्वाठाण्डौ पुखु र गोङग पुखु हुदै लामाग पुखुमा पुग्यो । यस पछि कमलपोखरी, गरुडकुण्ड र अन्तिममा च्याँम्हासिह पुखुमा पुगेर ३३ पोखरी पदयात्रा पुरा भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend