जन आकाश
काठमाडौ । इकोनोमिक मिडिया एसोसिएशन नेपाल (इमान),को आयोजना तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का साथै नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालको सहकार्यमा बजेट निर्माण पूर्व छलफल गर्न आयोजित अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ ।
इमानका अध्यक्ष रोयल आचार्यको अध्यक्षतामा नेपाल सरकारका अर्थ सचिव मधु कुमार मरासिनीको विशिष्ट आतिथ्य, राष्ट्रीय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, पूर्व मन्त्री तथा प्रतिनिधि सभा अर्थ समितिका सदस्य दीपक खड्का, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,नाडा अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीको आतिथ्यमा एभरेष्ट होटल बानेश्वरमा शनिवार एक भव्य कार्यक्रमको आयोजना गरि सो छलफल कार्यक्रम सम्पन्न गरिएको थियो ।
बिशिष्ट अतिथिको रुपमा आएका नेपाल सरकारका अर्थ सचिव मधु कुमार मरासिनीले कार्यक्रमलाई सम्बोधन गर्दै कोभिड पछाडी बजारमा आएको मन्दी र मुद्रास्फिर्ती समस्याले अटो क्षेत्र लगायत समग्र आर्थिक गतिविधिमा शिथिलता देखिएको बताउदै अहिले नेपालको बैदेशिक मुद्राको संचिति १२ महिनाभन्दा बढीलाई पुग्ने अवस्था रहेकोले अव ठूला आयोजनाहरुको छनौट गरी व्यापक रुपमा लगानी गरी रोजगारी सृजना गर्दै मुर्झाएको आर्थिक गतिविधिलाई सूचारु गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
उक्त कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा अर्थ समितिका सदस्य दीपक खड्काले केही सिमित वर्गको आर्थिक समृद्धिले समग्र अर्थव्यवस्थामा कायापलट गर्न नसकिने जनाउँदै कुरामा भन्दा परिणाम आउने गरेर कार्य गरी लक्षित वर्ग सम्म परिणाम देखिने गरी काम गर्नुपर्ने कुरा बताएका छन् । यसैक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल जलविद्युतका लागि प्रचुरतम सम्भावना रहेको देश हुँदा हुँदै पनि कतिपय प्राविधिक कठिनाईका बीच यहाँ उत्पादन भएका बिजुली आन्तरिक तथा बाह्य खपतमा केही कठिनाई रहेको जनाऊँदै कतिपय पीपिए भएर रहेका आयोजनामाा सहजिकरण गर्न तयार रहेको बताए ।
यसैगरि कार्यक्रममा नाडा अटोमोवाइल एसोसिएशनका अध्यक्ष करण चौधरीले पछिल्लो समय विद्युतीय सवारीसाधनको बिक्री बढे पनि अन्यको अवस्था चिन्ताजनक रहेको उनले बताए । बजेटमार्फत अटोमोबाइल क्षेत्रमा सहजीकरण गर्दै मौद्रिक नीतिलाई खुकुलो नबनाउने हो भने व्यापारी पलायन हुनुपर्ने अवस्था भएकोले यसलाई सरकारले जवरजस्ति खेदेको रुपमा बुझ्नुपर्ने कुरा बताए ।
सो छलफल कार्यक्रममा इपानका अध्यक्ष राम बहादुर कार्की, प्रकाश दुलाल नीमा शेर्पा, डमरुवल्लभ घिमिरे इप्पानका अध्यक्ष गणेश कार्की लगायतले आ–आफ्नो व्यवसायिक क्षेत्रको विषयमा धारणा राखेका थिए । अर्थिक क्षेत्रका विज्ञ र सम्बन्धित निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend