logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट दिइयोः मन्त्री चौधरी


  • जन आकाश
  • बिहिबार, जेष्ठ १७ २०८१

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएकीछन् ।



महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले “हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ ललितपुरमा आयोजना भएको छैटौँ राष्ट्रिय महिला अधिकार दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।

समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने भन्दै उनले अझैपनि राज्यका तर्फबाट महिला, बालबालिका मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो पोखिन। ‘भर्खरै बजेट आएको छ । तर, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका क्षेत्र तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने जिम्मेवारी रहेको महिला मन्त्रालयमा निकै न्यून बजेटको व्यवस्था गरिएको छ’, मन्त्री चौधरीले भनिन, ‘विगतभन्दा बजेट बढेको छ । तर समग्रमा हेर्दा बजेट निकै न्यून छ । विकासे मन्त्रालय होइन भनेर महिला मन्त्रालयलाई न्यून बजेट दिने गरिएको छ ।’

बजेट निर्माण प्रक्रियामा आफू पटकपटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहेपनि बजेट आउँदा त्यसरी नआएको उनको गुनासो थियो । ‘मैले आफ्नो जीवनकालमा यस्तो महसुस गरेको थिएन । कि मलाई यो पितृसत्तात्मक समाज नै हो भन्ने महसुस भयो । निकै नराम्रो लागेको छ ’, उनले भनिन् ‘बजेटका विषमा पटक(पटक प्रधानमन्त्री अर्थमन्त्रीज्यूसँग छलफल गरेको थिए । हुन त लाइन मिनिस्ट्रिसँग छलफल गरेर बजेटको टुंगो लगाउनुपर्ने थियो तर, त्यसो हुन सकेन । मलाई मेरो जीवनकालमा यस्तो कहिल्यै महसुस भएको थिएन । तर हिजो एकखाले ग्लानी महसुस भएको छ । परम्परागत खालको सोंच रहेछ भन्ने मलाई लाग्यो ।’

यद्यमी मन्त्री चौधरीले महिला, बालबालिकाको क्षेत्रमा केही नहुनुभन्दा केही राम्रा कामहरू पनि भएको समेत बताइन । महिला अधिकारलाई संस्थागत गरेको दिनको रूपमा जेठ १६ गतेलाई मनाउने गरेको भन्दै उनले संविधानसभामा सबै महिलाहरूले ककस निर्माण गरेर महिला अधिकारलाई संस्थागत गराउन एकजुट भएर काम गरेको बताइन । ‘त्यतिबेला महिलाहरू एकदमै सक्रिय हुनुभएको थियो । जसको कारणले हामीले संविधानमा महिलाका अधिकार सुनिश्चित गर्न सफल रह्यौँ’, मन्त्री चौधरीले भनिन, ‘यो नतिजा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अग्रज महिलाहरूको योगदानका कारणले सम्भव भएको हो । राजनीतिक रूपमा सफलता हासिल भएको छ । जुन कुरा संविधानमै सुनिश्चित गरिएको छ । तर अन्य क्षेत्रहरूमा अहिलेपनि महिलाको संख्या निकै न्यून छ । ती क्षेत्रमा पनि महिलाहरूको संख्या वृद्धि गर्नका निम्ती हामीले अझै काम गर्नुपर्ने अवस्था छ ।’

आर्थिक रूपले महिलालाई सशक्तिकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउँदै बजेट भने सोंचेअनुसार नआएको अहिलेका लागि नमूना रूपमा कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिन ।

मन्त्री चौधरीले यस दिवसले महिला अधिकारको सुनिश्चितता गर्दै लैङ्गिक समानता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने, ‘नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्प सहित महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायतका मौलिक हकको प्रत्याभूति गरेको छु’, भन्दै ‘वर्तमान संवैधानिक, कानूनी तथा संरचनात्मक व्यवस्थाको फलस्वरूप जननिर्वाचित संस्था, सरकारी सेवा लगायत राज्यका सबै निकायमा महिलाको पहुँच तथा सहभागितामा उल्लेखनीय सुधार भएको छ । मातृ मृत्युदरमा कमी, महिलाको कूल साक्षरता दरमा वृद्धि तथा आर्थिक सशक्तीकरणका सूचकहरूमा सकारात्मक परिवर्तन भइरहेको छ ।’

तर अझैपनि लैङ्गिक हिंसा तथा विभिन्न प्रकारका हिंसाले महिलाहरूलाई प्रताडित गर्दै आएको भन्दै महिलाहरू आर्थिक रूपमा समृद्ध नभईकन यस्ता घटनाहरूको अन्त्य नहुने बताईन । महिलाहरू आर्थिक रूपमा सम्पन्न भएका यी घटनाहरू न्यूनीकरण हुँदै जाने मन्त्री चौधरीको विश्वास छ । ‘लैङ्गिक हिंसा, घरेलु हिंसा तथा गरिबीको कारण जीवनयापनमा जटिलता थपिएको छ । महिलाहरू आत्मनिर्भर नभएसम्म र उनीहरूको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन’, मन्त्री चौधरीले यसका लागि महिलाहरूमा उद्यमशीलताको विकास गर्न जरुरी भएकाले मन्त्रालयले यस तर्फ आवश्यक कार्यक्रम सञ्चालनको तयारी समेत गरिरहेको छ । मन्त्रालयको यस प्रयासमा अन्य तहका सरकार तथा निजी क्षेत्र लगायत सम्पूर्ण सकोकारवालाहरूको हातेमालो हुने कुरामा मन्त्रालय विश्वस्त रहेको छ भनिन।’

राष्ट्रिय महिला अधिकार दिवसलाई महिला हक अधिकार स्थापनाको लागि आधार तय भएको दिनको रूपमा लिँदै सारभूत समानता सहितको राष्ट्र निर्माणको यात्रामा अघि बढ्न उनले सबैलाई आह्वान समेत गरिन ।

२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले आमा वा बाबुमध्ये कसैको पनि नामबाट नागरिकता पाउने, एक दिलाई महिलालाई राज्यका सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्ने, विभेदकारी कानूनको खारेजी गर्ने, महिलाप्रति हुने हिंसाको अन्त्य गर्न समेत ४ अधिकारको प्रत्याभूतिका लागि सार्वजनिक महत्वको प्रस्ताव पारित भएको दिनको स्मरण गर्दै हरेक ज्येष्ठ १६ गतेलाई “राष्ट्रिय महिला अधिकार दिवस” मनाउने नेपाल सरकारको निर्णय बमोजिम राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव दिनेश भट्टराईले २०६३ साल जेठ १६ गतेको निर्णयबाट महिलाहरूले प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै त्यसलाई उत्सवको रूपमा मनाउन जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा मनाउने निर्णय गरेको बताईन । साथै उत्कृष्ट महिला उद्यमीहरूलाई महिला उद्यमी सम्मानबाट सम्मान गरिने कार्यको थालनी समेत गरिएको बताईन ।

सरकारले लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशिलता अपनाएको बताउँदै सचिव भट्टराईले हवाई उद्धार कार्यक्रम, महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम, लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्दै आएको उल्लेख गरिन । महिलाको मर्यादा र आत्मसम्मान स्थापित गर्नु आजको साझा आवश्यकता रहेको छ भनिन् ।

कार्यक्रममा उद्यमशिलता र महिला सशक्तिकरण विषयमा कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयका पूर्व सचिव यामकुमारी खतिवडाले उद्यमी महिलाका लागि संविधान, कानूनले विशेष व्यवस्था गरेको भन्दै आयकरमा पनि छुटको व्यवस्था गरेको बताइन । तर तीन तहको सरकारबिच एकरूपता नहुँदा स्थानीय तहले कर लिने गरेको गुनासो आएको उनले गुनासो गरिन ।

महिलाका कार्यक्रमहरू जति अन्य मन्त्रालयमार्फत कार्यान्वयन हुने तर विषयगत रूपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको विषय महिला मन्त्रालयसँग भएकोले सहजिकरणको पाटोमा मन्त्रालय सक्रिय हुनुपर्ने अवस्था रहेको खतिवडाले बताइन ।
पाँच जना महिला उद्यमीलाई नगद एक लाख सहित पुरस्कृत

त्यस अवसरमा पाँच जना महिला उद्यमीहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । जसअनुसार कोशी प्रदेशबाट उर्लाबारी नगरपालिका ७ मोरङस्थित निरू ढाका कपडा उद्योगका सञ्चालक निर्मला चौहान, मधेश प्रदेशबाट कलैया उपमहानगरपालिका १६ बारास्थित जय माता दि कपास उद्योगकी सञ्चालक बबिताकुमारी तेली, बागमती प्रदेशबाट ललितपुर नगरपालिका २४ ललितपुरस्थित माउन्टेन बि कन्सर्न प्रा.लि.का सञ्चालक सरिता श्रेष्ठ भट्टराई, गण्डकी प्रदेशबाट पोखरा उपमानगरपालिका ११ कास्कीस्थित हङकङ ब्युटि इन्स्टिच्यूट प्रा.लि.का सञ्चालक मिना गुरुङ र सुदूरपश्चिम प्रदेशबाट महाकाली नगरपालिका ४ दार्चुलास्थित एभिरिल बेबी सप एण्ड डिजाइनिङ कर्नरका सञ्चालक तारा देवललाई जनही नगद एक लाख रुपैयाँसहित पुरस्कृत एवं सम्मानित गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरूले महिला मन्त्रालयले जबसम्म काम गर्न पाउँदैन तबसम्म यो मुलुक समृद्ध बन्न नसक्ने बताएका थिए । राज्यले महिला मन्त्रालयलाई छुट्याएको बजेट निकै न्यून रहेको गुनासो थियो । उत्पादनमा जोड्दै महिलाको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्नेमा बक्ताहरूको जोड थियो ।

त्यस अवसरमा महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साह, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्रतिनिधि सभा सदस्य तथा महिला तथा सामाजिक समितिका पूर्व सभापति शुसिला श्रेष्ठ, पूर्व मन्त्री तथा सांसद जुलीकुमारी महतो, राष्ट्रिय सभाका सदस्य कमला पन्त, पूर्व सांसद तथा महिला तथा सामाजिक समितिका पूर्व सभापति निरूदेवी पाल, पुरस्कृत उद्यमी मिना गुरुङ, उद्यमी शोभा घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend