logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज


  • जन आकाश
  • आइतबार, असार ३ २०८१

काठमाडौं । नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको महत्वपूर्ण भूमिका रहेको छ । शहरी कोलाहल र प्रदुषण भन्दा टाढा शान्त तथा हरियाली वातावरण युक्त कलेज चाँगुनारायण भक्तपुरमा अवस्थित छ ।



यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन–अध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति नै दिने गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेजको विशेषता भनेको क्वालिटी एजुकेशन नै हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु मध्येकै उत्कृष्ट कलेजका रुपमा परिचित नेपाल इन्जिनियरिङ कलेजले प्रयोगात्मक शिक्षण विधिलाई प्राथमिकताका साथ अङ्गालेको कलेजका कार्यवाहक प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीको दावी छ । यसका साथै कलेजले विद्यार्थीहरुलाई इन्टरनेशनल एक्सपोज दिन युरोप, अस्ट्रेलिया, जापानका प्रतिष्ठित कलेज र विश्वविद्यालयसँग विद्यार्थी तथा फ्याकल्टी एक्सचेन्ज कार्यक्रममा सहकार्य गरेको छ ।

‘हामीले यहाँ पढ्ने विद्यार्थीलाई इन्टरनेशनल एक्सपोजको सुविधा दिएका छौं । हरेक वर्ष विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा युरोप, जापान लगायत विश्वका उत्कृष्ट कलेजमा अध्ययन गर्न पठाइन्छ ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी जिकीर गर्दछन् ।

विद्यार्थीले कुनैपनि बेला आफ्ना शैक्षिक समस्याहरु फ्याकल्टीहरुसँग सोध्न सकुन् भनेर कलेजले पूर्णकालिन फ्याकल्टीहरुको ब्यवस्था गरेको छ । ‘कुनैपनि विषयगत विषयमा विद्यार्थीले जुनसुकै बेला आफ्ना शिक्षकहरुसँग निर्धक्क जिज्ञासा र समस्या राख्न पाउनुपर्छ । अनी मात्र उसले चाहेको ज्ञान हासिल गर्न सक्छ । हामीसँग करिब ९० प्रतिशत अर्थात् १२० जनाभन्दा बढी अनुभवी शिक्षकहरु हुनुहुन्छ ।’ कार्यवाहक प्रिन्सिपलको भनाइ छ  ।

त्यस्तै कलेजले दिने छात्रवृत्ति अर्को आकर्षण हो । पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थी छात्रवृत्तिसँगै कलेजले हरेक वर्ष विभिन्न शिर्षकमा लगभग १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । कार्यवाहक प्रिन्सिपल भण्डारीका अनुसार कलेजले स्थानीय नागरिकका छोराछोरीलाई इन्जिनियरिङ शिक्षामा अवसर दिन चाँगुनारायण नगरपालिका मार्फत छात्रवृत्ति प्रदान गरिरहेको छ ।

कलेज सञ्चालन बोर्ड छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, प्रवेश परीक्षा उत्कृष्ट छात्रवृत्ति लगायत विभिन्न छात्रवृत्तिहरु कलेजमा छ । यसका अलावा सेमेष्टर टपर लगायतलाई पनि छात्रवृत्ति उपलब्ध गराइएको छ । ‘इन्जिनियरिङ शिक्षामा सबैको पहुँच पुगोस भनेर हामीले अधिकतम छात्रवृत्ति दिने गरेका छौं । शुल्कको कुरा गर्दा अन्य कलेजहरुको दाँजोमा हामीले कमै शुल्क लिइरहेका छौं ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी बताउछन् ।

स्थापनाको तीसौं वर्षमा पुग्दै गर्दा कलेजबाट दशौं हजार दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । कलेजले उत्पादन गरेका दक्ष जनशक्ति अहिले नेपाल सरकारका उच्च ओहदा, निजी तथा गैरसरकारी संस्थामा कार्यरत मात्र छैनन् विश्वका विभिन्न देशहरुका प्रतिष्ठित कलेज, विश्वविद्यालय र व्यवसायीक प्रतिष्ठानहरुमा कार्यरत छन् । स्थापनाकालदेखि आज पर्यन्त कलेजले क्वालिटी एजुकेशनमा सदैव जोड दिँदै आइरहेकोले इन्जिनियरिङ कलेजहरुको अनुगमन, नियमन गर्ने नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र दिएको छ । परिषद्ले इन्जिनियरिङ कलेजहरुको शैक्षिक, भौतिक र प्रशासनिक अनुगमन गरेर स्थायी र अस्थायी प्रमाणपत्र दिने गरेको छ । नेपाल इन्जिनियरिङ कलेज, पुल्चोक क्याम्पस लगायत केही समिति इन्जिनियरिङ कलेजहरुसँग मात्र स्थायी प्रमाणपत्र छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend