logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

रामेछाप कांग्रेसमा ज्यान मार्ने उद्योग र लुटपाटको मुद्दा (दर्जन बढीलाई पक्राउ पुर्जी, तीन नेता समातिए


  • जन आकाश
  • सोमबार, असार ११ २०८१

काठमाडौं । गत जेठ ५ गते गाल्बामा भएको कुटपिट प्रकरणपछि नेपाली कांग्रेस रामेछापका नेताहरूले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योग र चोरी डकैतीको जाहेरी दिएपछि केही नेता थुनिएका छन् भने केही फरार भएका छन् ।



 

खाँडादेवी गाउँपालिकाको गाल्बामा आयोजित आदिवासी महासंघको जिल्ला अधिवेशनमा विवाद हुँदा कुटपिट र भागाभागको अवस्था आएको थियो । जिल्ला सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य कान्छाराम तामाङलाई प्रहरीले उद्धार गरेर मन्थली लगेको थियो ।

सो घटनामा जितबहादुर मगरलगायतका केही नेता कुटिएका थिए । कुटपिटपछि एकले अर्कोलाई मुद्दा मामिलामा फसाउने प्रक्रिया चल्दै जाँदा ८ जना नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये तीनजना पक्राउ परेका छन् भने ६ जना फरार छन् ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जीसहित अनुरोध गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले जितबहादुर मगर, वीरबहादुर लामा र चन्द्रबहादुर थापा मगरलाई पक्राउ गरी मन्थली पठाएको छ । पक्राउ पुर्जी आएका जतिको खोजी भइरहेको महाशाखाका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

 

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपकुमार सिंहले आवश्यक अनुसन्धानपछि पक्राउ पुर्जी जारी भएको बताए । उनले केही व्यक्तिलाई थुनामा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । दुवै पक्षले धेरैजनाविरुद्ध जाहेरी दिएका कारण घटनाको समेत अनुसन्धान गरी पक्राउ पुर्जी माग गरिएको उनको भनाइ छ ।

पक्राउ परेकामध्ये वीरबहादुर लामामाथि जितबहादुर मगर र भरत चौलागाई पक्षले कुटपिटको जाहेरी दिएका थिए । राकाथुमका कांग्रेस नेता लामाले पनि जितबहादुर, भरत लगायतले सुनको सिक्री र नगद लुटेको भन्दै जाहेरी दिएका थिए ।

पक्राउ पुर्जी जारी भएका तर फरार रहेका कांग्रेस नेताहरूमा महाधिवेशन प्रतिनिधि भरत चौलागाई, कांग्रेस जिल्ला उपसभापति नवराज थोकर, जितेन्द्र मोक्तान, नेविसंघ केन्द्रीय सदस्य, विनोद कार्की, पूर्व जिल्ला सचिव विष्णु बस्नेत, बेदबहादुर मगरलगायत छन् । उनीहरूविरुद्ध चोरी, लुटपाट र ज्यान मार्ने नियतले आक्रमण गरेको आरोप छ ।

उता जितबहादुर पक्षले १० जनाविरुद्ध जाहेरी दर्ता गरेकोमा पक्राउ पुर्जी कतिजनाको निस्कियो भन्ने प्रष्ट भएको छैन ।

पार्टीका नेताहरू नै एक अर्कालाई ज्यान मार्ने उद्योग र लुटपाटमा मुद्दा लगाउन प्रतिस्पर्धा गरिरहँदा जिल्ला सभापति कान्छारामले भने विवाद मिलाउन सकेका छैनन् । बागमती प्रदेश सभापति इन्द्र बानियाले समेत नसकेपछि यो प्रकरण अब अदालती प्रक्रियामा गएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend