logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

गएको आर्थिक बर्षहरुको भुक्तानी नभएको प्रति  निर्माण व्यवसायीहरुको आपत्ति 


  • जन आकाश
  • शुक्रबार, असार २२ २०८१

काठमाडौं । मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमका कारण आर्थिक वर्ष २०८०/०८१ समाप्त हुन लाग्दा समेत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान गर्ने तर्फ राज्यबाट खासै पहल नभएको नेपाल निर्माण महासंघले जनाएको छ ।



शुक्रवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको कुल ६० अर्ब रुपैया भुक्तान हुन बाँकी रहेको बताउनुभयो ।

सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भए पछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व नै करीब रु.४० अर्ब रहेको अध्यक्ष सिंहले बताउनुभयो । त्यस्तै चालू आयोजनाहरुको निर्माण कार्यहरूमा बजेट अपुग तथा निकासा नभएको कारण लामो समय अघि देखि बाँकी भएको करीब रु.२० अर्ब व्यवसायीले पाउन बाँकी रहेको महासंघले जानकारी दिएको छ । निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति रहेको अध्यक्ष सिंहले बताउनुभयो ।

साथै राज्यले दिनुपर्ने कुनै पनि सहुलियत नदिई उल्टै व्यवसायीहरूलाई दिनहुँ ‘कालोसूची’ मा राखिएबाट उनीहरुमा गम्भिर मनोवैज्ञानिक निरासा बढ्दै गई केही व्यवसायीले आत्महत्या समेत गर्न थालेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सरकारी कार्यालयबाट भुक्तानी नपाएकै कारण डडेलधुराका निर्माण व्यवसायी डम्बरदत्त भट्ट (सन्तोष)ले असार १५ मा आत्महत्या गरेको अध्यक्ष सिंहले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक कार्यक्रममै यसै असार मसान्त भित्र निर्माण व्यवसायीहरूको रकम भुक्तान गरिदिने प्रतिबद्धता जनाएको अवस्थमा त्यस बमोजिम तत्काल रकम भुक्तानीको व्यवस्था नभएर अन्य व्यवसायीहरू समेत ‘आत्महत्या’ गर्न सक्ने अत्यन्त दुखद परिस्थितितर्फ उन्मुख हुने र यसको जिम्मेवारी राज्यले लिनुपर्ने महासंघले जनाएको छ ।

यही २०८१ साल असार महिनाको १४ गते शुक्रवार देखि अर्थ मन्त्रालयबाट रकमान्तर र थप बजेट भुक्तानी सम्बन्धी कुनै पनि फाइल अगाडि नबढेको अवस्था विद्यमान रहँदा यसबाट राज्यको पूँजीगत खर्चको सूचकांक नकारात्मक हुने महासंघको भनाइ छ ।

समस्या समाधानका लागि आवश्यक बजेट रकमान्तर एवं थप गरी यही असार मसान्त भित्रै अनिवार्य रुपमा सबै निर्माण कार्यको भुक्तानीको व्यवस्था गर्न महासंघ अध्यक्ष सिंहले माग गर्नुभयो ।

भुक्तानीको समस्या अत्यन्त विकराल भएको अहिलेको जटिल अवस्थामा व्यवसायीहरूले भुक्तानी नपाएको रकमलाई रकमान्तर तथा मन्त्रालयगत बजेट सूचना प्रणाली स्विकृत गरेर भएपनि अहिले सम्मको सबै भुक्तानी यही असार मसान्त सम्ममा उपलब्ध गराइदिन उहाँले सरकार समक्ष माग गर्नुभयो ।

व्यवसायीहरूको ठूलो रकम अहिलेसम्म भुक्तान नभएको परिस्थितिमा सार्वजनिक निकायहरुले ठेक्का अन्त्य गर्दै बैंक जमानत दाबी गरी व्यवसायीहरुको जायजेथा तथा सम्पत्ति लिलाम गरिहेको हुँदा अधिकाशं निर्माण व्यवसायीहरु आर्थिक रुपमा धराशायी भएको उहाँले बताउनुभयो ।

व्यवसायीहरूको रकम भुक्तान नभएसम्म नयाँ टेण्डरहरू ननिकाल्न र बजेट सुनिश्चितता नभएका, भुक्तानी लगायतका समस्याले पूरा हुन नसकेका ठेक्काहरू कानून बमोजिम सुविस्ताका आधारमा अन्त्य गरी फरफारक गरिदिने व्यवस्थाका लागि पनि महासंघले आग्रह गरेको छ ।

साथै विगत केही वर्ष अघि देखि जटिल बन्दै गएको निर्माण उद्योगको भुक्तानी सम्बन्धी समस्यालाई स्थायी रुपमा समाधान गर्नका लागि निर्माण व्यवसायीहरू समेतको संलग्नतामा ठोस रणनीति तय गर्न पनि महासंघले सरकार समक्ष जोडदार माग गरेको छ ।

पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले भुक्तानी अभावका कारण निर्माण उद्योग अत्यन्त जटिल मोडमा पुगेको बताउनुभयो । उहाँले व्यवसायीहरूले भुक्तानी पाउने गरी समाचार सम्प्रेषण गरिदिन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

महासंघका महासचिव रोशन दाहालले भुक्तानीको समस्या समाधान नभएमा व्यवसायीहरूलाई मात्र नभएर सरकारलाई समेत मार पर्न सक्ने तर्फ सचेत गराउनुभयो । निर्माण व्यवसायीहरूले रकम पाएमा मुलुकको समग्र अर्थतन्त्र नै चलायमान हुने महासचिव दाहालले बताउनुभयो ।

निर्माण व्यवसायीहरूको रकम भुक्तानीका लागि महासंघ नेतृत्वले मुख्य दलहरूलाई खबरदारी गरिरहेको जानकारी महासचिव दाहालले दिनुभयो । महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले राज्यले आफ्नो पूँजीगत खर्च बढाउन पनि निर्माण व्यवसायीको रकम भुक्तान गर्नुपर्ने धारणा राख्नभुयो । उद्योगको पनि ‘उद्योग’ को रुपमा निर्माण उद्योगको विकास विस्तारका लागि राजनीतिक नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने उपमहासचिव घिमिरेले बताउनुभयो ।

समाचारको स्रोत निर्मल अर्याल ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend