logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

युगको मुहार फेर्न युवाको हातमा युगको साँचो


  • जन आकाश
  • आइतबार, साउन १३ २०८१

अशोक शिवाकोटी
‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली टायर भएर’ कुनैबेला रेडियो र टिभीबाट अत्याधिक बज्ने विज्ञापनमध्ये एक हो, यो विज्ञापन । यो विज्ञापन सुन्न पाएको पनि देशमा यो उद्योग भएर मात्र हो । अहिले नत यो विज्ञापन नै छ नत उद्योग नै । यस्तै हालत रही रहने हो भने कुनै दिन कुनै पनि नेपाली उत्पादनको विज्ञापन सुन्न पाइने छैन् ।



आज देश दुखिरहेको छ, देशको चिन्ताले कलाकार दुखिरहेका छन्, तर देशको ठेक्का लिएर पदमा बसेकाहरु देशको चिन्ताले भन्दा बढी सत्ता र कुर्सी मोहले दुखिरहेका छन् । इलामको चिया बगान, भृकुटी कागज उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, चोभारको सिमेन्ट कारखाना, हेटौडा कपडा उद्योगजस्ता थुप्रै उद्योगहरु देशबाट विस्तापित गराइए । यसका मेसिनहरु रातारात अर्कै देश पु¥याइए । देशबाट उत्पादित सामान होइन युवाहरु निर्यात गरिन्छ र तिनै युवाहरुको रगत र पसिनासँग देश रेमिट्यान्ससँग साँट्छ ।

यतिबेला शिल्पी थियटर, बत्तिसपुतलीमा गत असार २७ देखि साउन १९ सम्म अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को भावानुवाद नेपाली नाटक ‘युगको साँचो’ मञ्चन भैरहेको छ । यो नाटकले पनि यही पीडा ओकल्छ । लेखक तथा रंगकर्मी टंक चौलागाईंको परिकल्पना तथा निर्देशनमा निर्माण भएको नाटकमा कलाकार आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अभिनित चौलागाईं, अंशिका जोशी, कश्यप ज्ञवाली आदिको अभिनय छ । कलाकारहरु करिब आधाजति बालबालिका र आधा जति बयस्क छन् ।

उक्त अंग्रेजी बाल उपन्यासलाई रुपान्तरण गरिएको नाटक ‘चार्ली एण्ड द चक्लेट’मा विली वन्का भन्ने व्यक्ति एक चक्लेट फ्याक्ट्रीका मालिक हुन्छन् र त्यही फ्याक्ट्रीमा नाटक केन्द्रीत छ । बालबालिकालाई मनपर्ने कुरो भनेको चक्लेट नै भएकोले त्यो उपन्यासका लेखक रोल्ड डालले बालमनोविज्ञानसँग राम्रोसँग खेलेका छन् । तर, नेपालका बालबालिकालाई चक्लेटभन्दा अवश्यक कुरो आँङ ढाक्ने लुगा नै भएकोले परिकल्पनाकार चौलागाईंले चक्लेट फ्याक्ट्रीको सट्टामा कपडा उद्योग राखेका छन् ।

पाँच जना भाग्यशाली बालबालिकाहरु अंकुर, साक्षी, रस्मिता, मनु र आभाले साँचो प्राप्त गरेर मुनको नमुना उद्योग घुम्ने अवसर प्राप्त गर्छन् । तिनै पाँचमध्ये इमान्दार र कर्मठ युवालाई ‘मुन नमुना उद्योग’ को साँचो हस्तान्तरण गर्ने मुन मिसको योजना हुन्छ । यही योजनाभित्र परेका पाँच जनालाई मुन मिसले आफ्नो उद्योगमा घुमाउँछिन् । फ्याक्ट्री घुम्न जाने ‘साँचो’देखि फ्याक्ट्रीकै ‘साँचो’ हस्तान्तरण गर्ने क्षणसम्मका उतारचढाव नै हो नाटक ‘युगको साँचो’ ।

बालबालिका लक्षित सांगीतिक नाटकलाई बालमैत्री पार्न निर्देशक चौलागाईंले कुनै कञ्जुस्याँइ गरेका छैनन् भने कलाकारहरुले पनि आफ्ना चरित्रलाई न्याय दिन कुनै कसुर छोडेका छैनन् । डेढ दशकभन्दा लामो बाल नाटक निर्माणको उनको अनुभव यतिखेर राम्रोसँग प्रस्फुटित भएको छ । नाटकमा रोनाधोनाभन्दा पनि मनोरञ्जन, हाँसो, प्रेरणा र सन्देश छ । प्रायः सबै कलाकारहरुले फरक फरक शैलीका चरित्रहरु निर्वाह गरेका छन् भने केही कलाकारहरुले दोहोरो भूमिका पनि उत्तिकै न्याय दिएका छन् । बाल नाटक निर्माण र बाल कलाकार उत्पादनमा व्यस्त रहेका रंगकर्मी पुष्प अवस्तीले नाटक बालबालिका केन्द्रीत र समयसापेक्ष रहेको र नाटकमार्फत नेताहरुलाई देश निर्माणमा अब युवाहरुलाई अघि सार्नु पर्ने सन्देश दिनकै लागि पनि आफू रंगमञ्चमा पाँच वर्षपछि अभिनय गरेको कुरा बताए ।

बर्सेनि सातदेखि आठ लाख मानिसहरूले देश छोडे भन्ने समाचार पढ्दा मन दुखेर छटपटाएका चौंलागाँई जब नाटकलाई मञ्चन गर्न सफल हुन्छन् तब टनटनाएको पिलो निचोरको जस्तो सञ्चो महसुस गर्छन् । हुन पनि यो धेरै पहिलादेखि नै मञ्चन गर्ने कोसिस गरिएको नाटक हो । यसअघि मण्डला थियटरबाट जन्मिने पक्का भैसकेको नाटकलाई चौंलागाँईले धेरै समयसम्म गर्भमै लिएर हिड्नु परेको थियो, बल्ल शिल्पीमा बिना अप्रेसन जन्म लिएको छ युगको साँचोले । चीन र भारतबाट सस्तोमा सामानहरू आउँछन्, नेपालले प्रतिस्पर्धा गर्नै सक्दैन भन्ने मानसिकतालाई पन्छाएर उद्योगधन्दा खोल्नुको विकल्प नभएको कुरा बताउँछन् निर्देशक चौंलागाँई ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend