जन आकाश
काठमाडौं । पन्त स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको नगद रु. ५० हजार रकम सहित सम्मानपत्र सहितको गोपालराज पन्त स्मृति सम्मान हास्ययङ्ग्यकार तथा फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेललाई प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तको सभाध्यक्षतामा सम्पन्न सम्मान अर्पण समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।
२०८० को दशकलाई नेपाली हास्यव्यङ्ग्यको पुनरजागरण दशकको रुपमा स्थापित गर्ने घोषणाकासाथ हास्यव्यङ्ग्यको अनलाइन पत्रिका फित्कौली डटकमको सञ्चालन र सम्पादनमा सक्रिय लुइँटेलका ‘छेपन’, ‘सिङ न पुच्छर’, ‘चम्चा चिन्तन’, ‘बाँदरका हातमा नरिवल’, ‘नेपाली हास्यव्यङ्ग्य’ लगायत छवटा हास्यव्यङ्ग्य कृतिसहित २ दर्जन कृति प्रकाशित छन् ।
रङ्गमञ्चमा उत्कृष्ट हास्यव्यङ्ग्य अभिनयमा विलक्षण प्रतिभा प्रस्तुत गर्दागर्दै कीर्तिशेष भएका गोपालराज पन्तको स्मृतिमा स्थापित उक्त सम्मानद्वारा यस अघि गोपालराज मैनाली, चट्याङ मास्टर, बसुन्धरा भुसाल, आर.सी रिजाल, राजाराम पौडेल, लक्ष्मण गाम्नागे, डम्बर घिमिरे, नरेन्द्रराज पौडेललगायत हास्यव्यङ्ग्यकर्मीहरू सम्मानित भइसकेका छन् ।
प्रतिष्ठानद्वारा रुसी सांस्कृतिक केन्द्र, कमलपोखरीको सभाकक्षमा आयोजित विशेष समारोहमा २०८० का लागि बाल नृत्यकलामा- सदिच्छा बाल प्रतिभा पुरस्कार श्री पूर्णिमा सिंहलाई, चित्रकलामा- सीताश्री स्मृति सम्मान पुरस्कार श्री विनय हुमागाईलाई, उपन्यास लेखनमा- रामराज पन्त स्मृति सम्मान पुरस्कार श्री किरण आचार्यलाई समर्पण गरियो ।
त्यसै गरी लोककथा/संस्कृतिमा- मैया वासु पन्त स्मृति सम्मान पुरस्कार डा. निर्मला पोखरेललाई, साहित्यिक पत्रिकामा- बन्धु पन्त स्मृति सम्मान पुरस्कार श्री विमल भौकाजी (शारदा मासिक)लाई, समालोचनामा- टीका मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार श्री युवराज मैनालीलाई, समाजसेवामा- आमा इन्दिरा पन्त स्मृति सम्मान पुरस्कार श्री सरिता अर्याललाई र बालसाहित्यमा- सुशीला पन्त स्मृति बालसाहित्य सम्मान पुरस्कार श्री सुशीला देउजालाई समर्पण गरिएको थियो ।
उक्त सम्मान पुरस्कारको नगद रकम क्रमश १० हजार, २५ हजार, ५० हजार, १५ हजार, १० हजार, १०/१० हजार रहेको छ ।
सम्मानित व्यक्तित्वहरूको योगदानसँग सम्बन्धित भएर डा. विजया पन्तद्वारा परिचय प्रस्तुतिपछि अध्यक्ष इन्दु पन्तले पुष्पमाला र मुख्य अतिथि जगमान गुरुङले नगद राशि रहेको थैली र सम्मान पत्र समर्पण गर्नु भएको थियो ।
समारोहमा प्रतिष्ठानद्वारा नियमित प्रकाशित हुँदै आएको ‘नवज्योति‘को १५ औं अङ्क प्रमुख अतिथि गुरूङले लोकार्पण समेत गर्नु भएको थियो ।
संयोगवस यस वर्ष सम्मानित हुनेहरूमा नरनाथ लुइँटेल, विमल भौकाजी, युवराज मैनाली तीनैजना हास्यव्यङ्ग्यकार पृष्ठभूमि भएका व्यक्तित्वहरू हुनुहुन्छ ।
सम्मानित व्यक्तित्वहरूले आफू सम्मानित तथा पुरस्कृत भएकामा गौरवानुभूति भएको बताउँदै प्रतिष्ठानप्रति आभार व्यक्त गरेका थिए ।
साहित्य, कला संस्कृति र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्धेश्यले २०५८ सालमा स्थापित पन्त स्मृति प्रतिष्ठानले स्थापना कालदेखि नै विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गर्दै आएको छ ।
वरिष्ठ साहित्यकार गीता केशरी प्रतिष्ठानकी संस्थापक अध्यक्ष र इन्दु पन्त वर्तमान अध्यक्ष हुनुहुन्छ ।
०००
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend