logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रुपमती उपन्यासमा आदर्श नारी पात्रको चरित्र चित्रण


  • जन आकाश
  • मंगलबार, भाद्र ११ २०८१

शारदा पराजुली
पृष्ठभूमि
रुपमती उपन्यास नेपाली उपन्यास साहित्यको पहिलो मौलिक उपन्यास हो । दरबार हाइस्कुलका प्रधानाध्यापक रुद्रराज पाण्डेद्धारा लिखित प्रस्तुत उपन्यास पहिलो नेपाली आधुनिक उपन्यास भएकोले यस कृतिकोे प्रकाशन वि. स. १९९७ मा भएको हो । यसलाई पछि साझा प्रकाशकले प्रकाशनमा ल्याएको र हाल विशिष्ट स्थान रहेको छ । यसको २७ औं संकरण निस्किएको छन् ।  आदर्शाेन्मुख ययार्थवादी धारा भित्र रहेर उपन्यासको रचना गरिएकोले पनि नेपाली आधुनिक कथा साहित्यका प्रवर्तक गुरुप्रसाद मैनालीसँग तुलना गर्ने गरिन्छ  । नेपाली समाजको यथार्थ चित्रण गर्दै अन्त्यमा आदर्श समाजको लागि नैतिक सन्देश दिएका छन् ।
प्रस्तुत उपन्यास लघु आकार, घटनाहरुको दु्रतता ११६ पृष्ठ, बिसौं परिच्छेदमा कथानक पूर्णताले प्राप्त गरेको  छ । यस अध्ययन रुपमति उपन्यासलाई विश्लेषण सामग्रीको रुपमान लिई मुलतः उपन्यासको नारी पात्रमा उत्पन्न घटना र परिस्थतिले जन्माएको मनोदशालाई केलाउने काम भएको छ । बालिक उमेरमा विवाह भएकी रुपमती धनाड्य परिवारमा जन्मेकी रुप झै बलेकी जुन जस्तै राम्री थिई । सानै उमेरमा हविलालसँग विवाह भई नेपाली समाजको आदर्श नारीको उदाहरण दिन सफल भएकी यीनी आदर्श छोरी, बुहारी, भाउजु र गृहिणी समेत हुन् । रुपमति मोहन प्रसाद लुईटेलको एकमात्र सन्तान हुन् । उनी साह्रै सुशील, कर्तव्यपरायण र असल चरित्रको नारी रहेकी छन् । तर उनकी सासु भने उग्र, चोथाले, दुच्छर तथा ईष्यालु स्वभावकी हुन्छिन् र रुपमतिलाई अत्यन्तै दुःख र सास्ती दिन्छिन् । आफ्नी आमाबाट रुपमतीले विनय, धैर्य र सहनशीलता सिकेकी हुनाले सासुको कर्कसो व्यवहार यिनी आफ्नो आँसु भित्र लुकाएर चुपचाप सहिरहेकी हुन्छिन्  ।
रुपमतीका पति एच.एल. शर्मा भनिने हविलाल शर्मा निकै प्रचावशाली र तिक्ष्णा बुद्धि भएकोले छात्रवृत्तिमा पढ्न बनारस हिन्दु विश्वविद्यालयमा अङ्ग्रेजीमा समेत बी.ए.  अध्ययन गर्नु र अङ्गे्रजी सभ्यता, संस्कार, चालचलन आदिबाट प्रभावित पनि बनेका छन् । पश्चिमी सभ्याताको बखान गर्ने अङ्गे्रजी भेषभूषामा सजिने, आनन्दी जीवन र बाहिरी रमझममा रमाउने धार्मिक आस्था, आदर्श आचरणप्रति श्रदा हराउदै जाने प्रवृतिका हुन्छन् । पश्चिमी सभ्यतामा रमेका हविलाल बी.ए अध्ययन गरेर घर फर्के पछि पण्डित समाज र रुपमतिलाई पटक्कै मन पराउदैनन् । यस्तैमा उनको भाइ रविलालको विवाह छेपेटारको बराल पुत्री सँग हुन्छ । कान्छी बुहारी भित्र्याएर जेठीको मेख मार्न पाएकोमा मख्ख थिइन पण्डित्नी बज्यै । कान्छी बुहारी कामचोर, चोथाले झगडालु ईष्र्यालु, खर्चालु र कर्कशा स्वभावकी हुन्छे । परिणाम घरपरिवारमा सानोतिनो कुरामा ठाकठुक परिरहन्छ ।
पिताको अकस्मात निधन भएकाले हविलाल एम्.ए. अध्ययन गर्न पाउदैनन् । घरको जिम्बेवारीले गर्दा जागिरतिर लाग्छन् । रुपमतिलाई पनि घरमा सघाउने कोही हुदैन रुपमतिको आदर्श र जिम्मेवारी, सरल व्यवहार, सुशिल स्वभाव,धैर्यता देखेर  छविलाल प्रभावित हुन्छन् र माया गर्न थाल्छन् । किन्तु बरालपुत्री भने उदण्ड उच्छृङ्खलको सिलसिला दिन प्रतिदिन बढ्दै जान्छ । रविलाल ससुरालीबाट ल्याएको सम्पति कुलतमा फसाउदै जान्छन् । पण्डित्नी पनि बरालपुत्री र रविलालको खराब बानी व्यवहारले गर्दा रुपमति तर्फ मन फर्काउन थाल्छिन् ।
माईतिको सम्पतिमा धाक लगाएकी बरालपुत्री र पण्डित्नी बज्यैबीच दैनिक झगडा हुन्छ । यसै क्रममा रुपमतीको छोरा जन्मिन्छ । परिवार र छरछिमेकमा समेत खुसियाली छाउछ । बरालपुत्रीलाई भने इष्र्या पैदा हुन्छ । परिणमतः सुत्केरीलाई बनाएको खाना समेत चोरेर खाइदिन्छे । हविलालको राम्रो योग्ताको कारणले राम्रो जागिर मिल्छ र घरको बन्दोबस्त पनि राम्रो हुदै जान्छ । उता रविलाल भने श्रीमतीको प्याओ सम्पति समेत उडाउदै मोजमस्ती गरेर जीवन विताउछ । एक दिन बरालपुत्री केराको बोक्रामा चिप्लेर लड्छे र सासु सँग निकै झगडा हुन्छ । परिणामतः बरालपुत्री र रविलाल घरबाट छुट्टिएर अनेत्र बस्न थाल्छन् । आफ्नो सुर गरेर बस्नु , चार छोरीको जन्म हुनु, परिवारको स्थीति बिग्रदै जानु ,फजुल खर्च बढ्नु, ससुरालीबाट आउने सम्पती कमि हुनुले रविलालको स्थिति नाजुक बन्न पुग्छ । आमा बाको मृत्यु हुनु र भाउजु बुहारीले हेला गर्नु  दुव्र्यसनीमा फसेका लोग्ने र छोराछोरीलाई खुवाउने कुरा कमिले परिस्थति क्षिण बन्न पुग्छ । घर र सामाजिक रुपमा छिद्र बनेको परिवेशमा बरालपुत्री मितिनी कहाँ गएर बस्छे । ऋणका कारणले लुकिलुकि हिड्ने र गल्लीमा जीवन विताउन  थाल्छन् । समाजमा देवर देउरानीको यस्तो हल्ला फैलिन्छ । रुपमतीले थाहा पाएर विभिन्न उध्दारका प्रयास गर्छिन । देवर देउरानीलाई घरमा ल्याएर औषधि उपचार गर्छिन् र जीवन निर्वाहाकालागि तराईको खेत सुम्पिन्छिन् । समयको केही अन्तरमा उनीहरु पनि सुध्रिन्छन् । दाजु भाउजु प्रति कृतज्ञ भाव पनि राख्दै जान्छन् । रुपमतीको यस्तो व्यवहार देखेर सबैजना उनको प्रशंसा गर्छन् ।
यस उपन्यासमा पारिवरिक परिस्थिति मिलाउन रुपमतीले खेलेको भूमिका अतुलनीय छ । सानोमा विवाह गर्ने परम्परा हुनु र महिलाले महिला माथि गरेको अत्याचार अन्याय र थिचोमिचो सहेर पतिलाई भगवान मान्ने समाजमा बराल पुत्री जस्ता महिलाले गर्दा विग्ररीएको घर रुपमती जस्तो पात्रले समेटेर उपन्यासको सुखद अन्त्य गराएको छ । सकरात्मक सोच र उपयुक्त सस्कारले धैर्यवान बनाउछ । सफल समाज निर्माणमा महत्वपूण भुमिका खेल्छ । यस उपन्यासमा नारी पात्रहरुले के कस्ता समस्यागत घटनाबाट उत्पन्न के कस्ता मनोदशा भोग्न बाध्य छन् ? तिनीहरुको बेग्लाबेग्लै रुपमा वस्तुपरक मनोविश्लेषण यस लेखमा गरिएको छ ।
अध्ययनको विधि 
प्रस्तुत कृतिको अध्ययन गुणात्मक र साहित्यिक प्रकृतिको रहेको छ, त्यसैले यसका लागि आवश्यक सामग्री संकलन अध्ययन र विश्लेषण पुस्तकालयीय विधिका आधारमा गरिएको छ । ’रुपमती’ उपन्यासलाई विश्लेष्य मुल सामग्रीका रुपमा उपयोग गरिएको छ । यसको शीर्षर्क रुपमती उपन्यासका नारी पात्रको मनो विश्लेषण’ भएकाले नारी मनो विज्ञानसँग सम्बन्धित लेख रचना पत्रपत्रिकाको तत्थ सम्बन्धी टिप्पणी आदि सामग्रीलाई अध्ययन गरी यसको सैद्धान्तिक आधार बनाइएको छ । यसमा मुलतः डब्ल्यु एच हड्सन्, नाट्यशास्त्री भरतमुनि हेनरी इन्सनको डलहाउस कृति सँग सन्निकट रहदै नारी मनोविज्ञानलाई केलाउने काम गरिएको छ । खास गरी तत्कालीन समयमा नारीहरुको पिडा कस्तो थियो भन्ने कुरा केलाउन खोजिएको थियो । पुरुषले गर्ने अत्याचार सँगै नारीले नारी माथि गर्ने दमन अन्याय अत्यचार कहाँ सम्म थियो भन्ने कुराको निष्र्कष रुपमती उपन्यास बाट गरिएको छ ।
रुपमती उपन्यासमा नारी पात्रको चरित्र चित्रण 
पूर्वीय काव्यशास्त्रमा वस्तु नेता रसमध्ये रसलाई र पश्चिमी काव्यशास्त्रमा अरस्तुले कथानकलाई प्रधानता दिए तापनि आधुनिककालमा साहित्यका प्रायः सबैजसो विधामा चरित्रलाई महत्व दिएको पाईन्छ । त्यसैले आधुनिक उपन्यासमा चरित्रको उच्च महत्व छ । यस उपन्यासमा रहेका नारी पात्रहरुको आदर्शलाई केलाउने काम गरिएको छ ।
यस कृतिमा  केन्द्रिय नारी पात्र रुपमती कुन् । सात बर्षमा विहे गरेकी रुपमती उसको सासुको कर्कसो स्वभावबाट कत्ति पनि विचल्लित नभै धैर्य र सहनशिलताको प्रतिनिधित्व गर्ने पात्रको रुपमा उभ्यइएको छ । आदर्शउन्मुख उपन्यासकार रुद्रराज पाण्डेका उपन्यासमा परिवार र व्यक्तिको निर्माणमा नारीको प्रमुख स्थान रहेको कुरा निर्दिष्ट छ । उपन्यासकारका विचारमा जहाँ नारीको भूमिका स्तुत्य छ त्यहाँ घर परिवार र समाजको स्थिति पनि उच्चस्तरीय हुन्छ ।
त्यसैले यस उपन्यासमा नारीलाई महत्वपूर्ण भूमिका दिएको हुन्छ र उनैको हातमा घर परिवारको भविष्य सुम्पेको हुन्छ । जहाँ नारी सुशील, सभ्य, क्षमताशिल, उदार कर्तव्यपरायण र धैर्यशील हुन्छन् त्यहाँ सदैव समृद्धिले वास गर्छ । यस कथानक पण्डित छविलालको पारिवारीक समस्या सँग सम्बद्ध छ । परिवार भित्रका सर्घष, खिचातानी, ईष्र्या, द्धेष, कलह, कटुता, माया प्रेम आदिका रुपमा महिलाको आफ्नो स्थान मान र मर्यादा आइ परेको जिम्बेवारी सँगै आदर्श छोरी, बुहारी, भाउजु, गृहिणी समेतको अवस्था पार गरेर सामान्य जीवन यापन गर्न सक्नु नारीको परिचय हो । कलहले भन्दा शान्त र धैर्यले सामाजिक मर्यादा राख्न सकिन्छ । रुपमतीको चरित्रले यहि प्रस्तुत गरेको छ । बराल पुत्रीले सौहार्द व्यवहार गर्न नसक्नु र भोलि आइपर्ने समस्यालाई वेवास्ता गर्नाले भोग्नु परेको समस्या र सासुले बुहारी माथि गरेको हैकम छुद्र व्यवहारलाई समालेर अघि बडेमा आउने परिणाम, आफ्नाले दुख  पाउदा पुनः सहानुभूती राखेर परिवारलाई मिलाएको र सुखद कथाको अन्त्य भएको छ । यीनै यीनै घटनावृत्तिका कारण रुपमती उपन्यासका नारी पात्रहरुको मनोविज्ञान के कस्तो रुपमा रह्यो र त्यही मनोरोगका कारण बरालपुत्री मितिनीकहाँ बस्न पुगिन र पुनः रुपमतीले समालिन् भन्नेकुरा चित्रण गरिएको छ । यसरी दृष्टिगत गर्दा उपन्यासको कथानकलाई अघि बढाउन त्यसका चरित्रहरुको गहन भूमिका हुने भएकाले चरित्र वा पात्र उपन्यासको आधारभूत तत्व हो ।
रुपमती 
नारी मनोविज्ञानकी विश्लेषणकर्ता क्रिस्तेभा भन्छिन् ‘हाम्रो समाज व्यवस्थामा महिला एक उत्पादित वस्तु जसलाई वस्तु झै पुरुषद्धारा उपभोग गरिन्छ’ । रुपमती उपन्यासकी नारी पात्र रुपमती यो भनाइको पुर्ण पुस्ष्ट्याइमा परेकी छन् । उपन्यासमा नायिकाको भूमिका आदि देखि अन्त्य सम्म आबद्ध र उपन्यासको शीर्षकसँग सम्बद्ध रुपमती काठमाण्डौंको धोबीधारामा अवस्थित मोहन प्रसाद लुइँटेलको ब्राह्ण परिवारमा जन्मिएकी नारीपात्र हुन् । उपन्यासमा सारै सानो उमेरमा हविलालसँग विवाह भई नेपाली परिवेशमा आदर्श नारीको उदाहरण दिन सफल भएकी आदर्श छोरी, बुहारी, भाउजु । गृहिणीसमेत हुन् । सामान्या औपचारीक शिक्षा मात्र प्राप्त भए पनि यिनीमा घर परिवार राम्ररी संचालन गर्ने, सामाजिक मानमर्यादा तथा छरछिमेकमा सौर्हादता राख्न सक्ने गुण, असिम सहनशिलता र धैर्य रहेको पाईन्छ । यिनी पाश्चात्य शैली र रङ्गढङ्गमा पति हविलाललाई माया ममताको दाम्पत्य बन्धनमा राख्न सफल देखिन्छिन् ‘तिम्रो रुपमा जादु छ, शर्माजी प्रशंशा गर्छन रुपमति लजाउदै छि ! हजुरले एकै सासमा कति बक्नु भएको ’ (पृ ५३) । ससुराको मृत्यु पछि गृहस्तीको जिम्बेवारी सबै आफुमा आईपर्दा पनि कत्ति विचलित नभई काम समाल्ने क्षमता यिनीमा देखिन्छ । आफु दुइ जीउको हुदा सासुले काम सघाइदिदा सासुलाई आदर गरेर ‘हजुर अब बुढी भइसक्नु भयो हजुरलाई काममा जोतेर हामी हेरीरहनु ठिक पर्ला ? (पृ.७७)’। सासुलाई सम्झाउदै हुन्छीन् । देवरको अल्लारे बुद्धि छ पतिलाई सम्झाउदै ‘अहिले उस्तो बुद्धि पनि कहाँ पाकिसकेको छ र !’ (पृ.१०९)
यिनी देवर देउरानीले अनेक लाल्छना लगाए पनि शान्त स्वभावले आफ्नो काममा तत्पर रहन्थिन । अनेक किसिमले सताएकी भए पनि दाजु भाईको सम्बन्धमा सधै चिन्तित रहिरहने रुपमती ‘आफ्नो सहोदर भाइका विजोग हेरेर बसिरहने त ?’ (पृ७९) । देवरले ऋण नतिरेकोमा साहुले थुन्दा ऋण तिरी ‘त्यो त तिरिदिनै पर्छ’ (पृ ११०) । देवरलाई छुटाएको देख्दा यिनी विनम्रर दायित्व बोध गर्ने नारी पात्र ठहरिन्छिन् । यति मात्र होइन शर्माजीलाई जोड गर्दै ‘पछि जेसुकै होस्, अहिले काबुलीले त्यत्रो हुर्मत लियो’ (पृ ११०)। रुपमती सहनशिल र क्षमताशिलको प्रतिमुर्ति ठहरिन्छिन् । यहि गुणले गर्दा नै उनलाई परिवार तथा समाजको एक आदर्श चरित्रको सीमा सम्म पुग्ने शक्ति प्रदान गरेको पाइन्छ । समग्रमा भन्दा यिनी यस्ती पात्र हुन् जसले उपन्यासको आरम्भ देखि अन्त्य सम्मनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन् । यसैले रुपमती उद्देश्यका दृष्टिले अनुकुल, स्थिति बदलिने प्रकृतिले गर्दा गतिशिल समाजलाई बदल्ने क्षमता भएको प्रेरणदायी एवम् स्नेह, सद्भावना, उदारता, सहानुभुति तथा कर्तव्यपरायण जस्ता गुणले अनुकरणी चरीत्रकी नारी पात्र हुन् ।
बरालपुत्री
 रुपमती उपन्यासमा रविलालकी पत्नीका रुपमा रहेकी बरालपुत्री छेपेटारका मधुवन बरालकी छोरी हुन्। उनी अँध्यारो निधार, चिम्से आँखा, लामोनाक, बाक्लो आठ र खडबडिएका दाँत भएकी पारिवारीक कुसंस्कारले ग्रस्त दुस्चर र दुष्ट स्वभावकी नारी हुन् । यस उयन्यासमा खल नायिकाको भूमिका रहेकी यिनी न अनुहारले राम्री छन् न व्यवहारले नै । यिनी नक्कली मिजास र शृगारमा रमाउने, माईतीको धाक देखाएर अरुलाई ठाडै निल्ने खोज्ने खालको स्वभावकी छन् । सासु सँग मुखमुखै लागेर ‘यो मर्न नसकेकी बुढीले मार्न लागि ! हुँदाहुँदै त केराको बोक्रा भ¥यङ्मा तेस्र्याएर चिप्लाएर मारु भन्ने मन भएकी बुढी (पृ.७१)’ ।
एकै परिवारमा रहेकी जेठानी रुपमतीको कारण ईष्र्या गर्ने,सुत्केरीलाई बनाएको खानेकुरा चोरेर खाने र चोखिन सासु सँग मुखमुखै लाग्ने ‘कुन तेरो बाउले घिच्यो ए पापीनी बुढी (पृ.८१)’  जेठाज्यु, सासु ससुराको मान मर्यादा नराख्ने, मुखमुखै लाग्ने र जगल्टउन समेत पछि नपर्ने, लोग्ने लगाएत कसैलाई नटेर्ने माइतीको सम्पती उडाएर मोजमजा गर्ने उनी एक प्रतिकुल पात्र हुन् । जेठानीको शु—सन्देशमा रीसले मुख रातो बनाइन् हुन सम्म विस्मात भयो आँसु मात्र खसेन (पृ.६७) । कामको निउमा सिन्को नभाच्ने, खान अघि सर्ने, नपुगे चोरचार समेत गर्न पछि नपर्ने उनको स्वभाव देखिन्छ । उनी अरुको भलो नचिताउने, झगडा गर्न अघि सर्ने लोग्नेलाई कुलतमा फसाउने जस्ता खराब काम गरेर परिवारमा अशान्ति मच्चाएकी छन् । यिनी आफ्नै माईतमा समेत अपहेलित भएर बस्न सक्दिनन् । माइत आउदा भाउजु बुहारीले आफ्ना छोरीहरु मामाघर जादा ‘तेरी आमाले सबै थुतेर लगिसकीन् अब त के छ र खान्छेस् भुत्रो खा !’ (पृ.१०१) लोप्पो खुवाउथे ।
उपन्यासको अन्तिम परिच्छेदतिर पश्चत्ताप गर्दे स्वभाव परिवर्तन परेकाले यिनी गतिशिल चरित्र र समाजको दुष्ट आइमाईहरुको प्रतिनिधित्व गरेकाले वर्गिय चरित्रकी पात्र हुन् । उपन्यासमा बरालपुत्रीले मन थाम्न नसकेर ‘जेठानीको पाउ परेर रुन लागिन्’ (पृ ११६) र जेठानीको चर्चा गर्दा रुपमती आदर्श चरित्र भद्र महिला तथा उदात्त नायिका हुन् भने बरालपुत्री दुष्ट चरित्र दुच्छर महिला तथा खल नायिका हुन् । त्यसै गरी रुपमतीमा सदाचार, कर्तव्य परायण अनुशासन, स्नेह, सुशीलता, क्षमताशील, उदात्तता जस्ता सच्चरीत्र पाइन्छ । भने बरालपुत्रीमा दुराभार कर्तव्यहिनता, अनुशासनहिनता, ईष्र्या, उदण्डता, प्रतिशोध, अनुदारता जस्ता भावहरु भेटिन्छ ।
पण्डित्नी बज्यै 
रुपमती उपन्यासमा हविलाल तथा रविलालकी आमा र रुपमती तथा बरालपुत्रीकी सासु तथा नारी पात्रको रुपमा चिनिने पण्डित्नी बज्यै अनेकौ सासुमण्डलमा सामेल भएर बुहारीलाई सताउने सक्रिय सासुका रुपमा चिनिन्छिन् । आइमाई समुहमा आफ्नो हैकम चलाउन ‘इश्वरले यी आइमाईहरुलाई किन सृष्टि गरेका होलान् ? यी कुराका पोका, खसमका पिठ्युका भोका, बुद्धिका बोका, सधैका भोका, खल्छीका ढोका, आपत परेमा दिने भोका, देखाउने नाकमा झोका, के गर्ने यो ? बादरको पुच्छर लौरो न हतियार ! त्यसैले मलाई स्वास्नी मान्छे भन्यो की यसै जलन भएर आउँछ (पृ.७२)’ ।
  यिनी हैकम चलाउने, कुरा दोचार्ने आइमाई मात्र होइन, कान्छो छोरालाई पुल्पुलाएर धुरीमा चडाउने आमा पनि हुन् । यिनको सोचमा निरङ्कुस व्यवहारले जरो गाडेको छ । अरुलाई गालि गर्ने, जिल्लाउने, क्षुद्र बोल्ने अमानवीय र अदुरदर्शीे व्यवहार उनमा सधै रहेको पाइन्छ । उनमा असल मातृत्वको गुण र सहयोगी सासुको व्यवहार उनमा  पटक्कै पाइन्न । यिनै कारणले गर्दा यिनको जेठी बुहारीलाई अबहेलना गरेर कान्छी बुहारीलाई जति उचाले पनि आखिर कान्छी बुहारीले साथ नदिएर उल्टै नराम्रो व्यवहार खप्न बाध्य परिन् । यति मात्र होइन, कान्छो छोरालाई पुल्पुल्याएकोमा पनि उनले त्यसको कु परिणाम भोग्न बाध्य हुनुप¥यो । अतः यस उपन्यासमा पण्डित्नी बज्यै प्रवृतिका दृष्टिले गतिहिन र उद्देश्यका दृष्टिले प्रतिकुल नारी चरित्र हुन् ।
निष्कर्ष
समाजको यथार्थ घटनामा आधारित रुपमती उपन्यासमा नारी पात्रहरुको चारित्रिक गुणलाई सुक्ष्म रुपले उठान गरिएको छ । रुपमती बरालपुत्री र पण्डित्नी बज्यैलाई प्रमुख नारी पात्रको रुपमा अघि सारीएको छ । रुपमतीको सच्चरीत्रले दिएको सकरात्मक सन्देश र बरालपुत्रीको व्यवहारबाट नकरात्मक सन्देशलाई नारीको चरित्रचित्रण गरिएको छ । रुपमतीको सासुले रुपमतीलाई गरेको अत्यचारमा जेठी बुहारीको सहनशिलता र कान्छी बुहारीको शुन्य सहनशिलता मा उपन्यास रोचक बनेको छ । सानै उमेरमा विवाह भएको रुपमती केहि समयका लागि माईत गएर बसेको समयमा उसको आमाले दिएको उपयुक्त संस्कार, धैर्यता, कर्तव्यनिष्ठता, सहनशिलता र महिला भएपछि गर्ने उपयुक्त व्यवहार सिक्ने अबसर पाएकी रुपमती सकरात्मक चारित्रिक गुणले युक्त नारी हो । सासुले आफु माथि गरेको अत्यचार आफ्नो भाग्य सम्झेर सहने रुपमती सासुबाट पनि केहि पाठ सिकेकी छन् । बरालपुत्री रुपमतीको देउरानी हो । रुपमती सँग बरालपुत्रीको कुनै पनि गुण मिल्दैन । रुपमतीको सास्कारीक चरित्र छ भने बरालपुत्रीको उदण्ड खालको चरित्र छ । बरालपुत्रीले लथालिङ्ग बनाएको घर रुपमतीले पुनः एकतामा जोड्ने काम गर्दछिन् । आमा र घरले सिकाइको पहिलो पाठशाला हो, जे सिक्छन् उस्तै व्यवहार गर्दछन् । दुःखमा नआत्तिन र सुखमा नमात्तिन धैर्यवान बन्नु पर्छ । परिवारमा सद्भाव र एकता हुन आवाश्यक हुन्छ । जुन कुरा रुपमतीको चरित्रले देखाउछ । छुद्र व्यवहारले अशान्ति र भाडभैलो ल्याउछ र बनेको घर लथालिङग हुन धेरै समय लाग्दैन जुन बरालपुत्रीको चरित्र थियो । सासुको कर्कसो स्वभावलाई चुपचाप सहेर सासु प्रति देखाएको सहानुभुति पारिवारीक पुर्नर मिलनले पुरै उपन्यास रोचक बनेको छ । वास्तवमा एक घरमा नारीको चरित्र सहि भयो भने त्यो घर साच्चै मन्दिर बन्छ भन्ने सकरात्मक सन्देश दिन खोजेको छ । रुपमतीबाट सुरु भएको घटनाक्रम एक नारी बाट उदण्ड र अर्काे नारीबाट सकरात्मक चरित्रले उत्पन्न समस्या समधान भएर सकरात्मक पुर्नमिलनमा उपन्यासले पूर्णता पाएको छ ।
सन्दर्भसूची 
१ पाण्डे, रुद्रराज, रुपमती (सत्ताईसौ संस्करण), ललितपूर, साझा प्रकाशन, २०७३ ।
२ पुडासैनि, घनश्यम, अन्दवेग नाटकमा त्रिकोणत्मक अँधोगति, मन्थन,काठामाडौ, २०७८ ।
३ लम्साल, रामचन्द्र, रामप्रसाद भट्टराई, श्रीप्रसाद कडेल, नेपाली गद्य भाषा र साहित्य, काठमाडौं, सनलाइट पब्लिकेसन, २०७५ ।
४ लम्साल, रामचन्द्र, रामप्रसाद भट्टराई, श्रीप्रसाद कडेल, नेपाली कथा र उपन्यास, काठमाडौं, शुभकामना प्रकाशन प्रा. लि., २०६९ ।
५ बराल, कृष्णहरी, नेत्र एटम, साधारण नेपाली, काठमाडौं, वल्र्डवाइड पब्लिकेसन प्रा.लि., २०६८ ।
६ भट्टराई, रामप्रसाद, पूवीय, पाश्चात्य र नेपाली समालोचना, काठमाडौं, शुभकामना प्रकासन प्रा.लि., २०६९ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend