जन आकाश
कुनै समयमा कैलाश पर्वतको दक्षिण फेँदीमा मष्ट महाराजको राज्य थियो। मष्ट महाराजको राज्यमा सबैको हेरचाह मष्ट स्वयम्ले गर्नु हुन्थ्यो। कसैले पनि आफ्नो राज्यमा दुःख नपाउन भन्ने उहाँको चाहना थियो। आफ्ना पाली, प्रजाहरुले दुःख पाएको उहाँलाई मन पर्दैन थियो। कसैले उहाँलाई बिन्ती बिसाएमा मष्टको साक्षातरुप प्रकट हुन्थ्यो। आफ्ना पाली–प्रजाको पुकार सुनेर तुरुन्त उपकार गरिदिनु हुन्थ्यो। मष्टको यही गुणले गर्दा मष्टप्रतिको लोकप्रियता सर्वत्र फैलिएको थियो। त्यही लोकप्रियताका कारण उहाँको आदर र सम्मानकालागि मानिसहरुले झाडमाडौ र बाडमाडौहरु बनाउने चलन चलाएका थिए।
मष्टको राज्यमा तिजा नामका एक किसान पनि बस्थे। तिजाको एउटा छोरी पनि थिइन्। साह्रै सुख सयलमा हुर्किएकी छोरीको विवाह त्यसै राज्यको सिँजा भन्ने गाउँमा भएको थियो। सानै उमेरमा छोरीको विवाह भएकाले उनले दुःख पाइहोलिन् भन्ने चिन्ता तिजालाई भइरहन्थ्यो।
तिजा र उनकी श्रीमती सधै खेतमा काम गर्न जान्थे। खेतमा खाजा खाने बेलामा पनि उनीहरु छोरीका बारेमा नै कुरा गरिरहन्थे। छोरीले खाना खाइ कि खाइन होला भन्ने चिन्ता उनीहरुलाई भैरहन्थ्यो। एक दिन तिजाकी मुखिनीले तिजालाई मष्ट महाराजलाई छोरीको हालखबर बुझ्न बाडमाडौ पठाइन्। छोरीसँग उनीहरुको भेट नभएको पनि वर्ष दिन हुनलागेको थियो।
श्रीमतीको सल्लाह अनुसार तिजाले बिहानै उठेर नुहाई धुवाइ गरी आफैले पकाएको खीर, बाबर, फुल, अक्षता, धुप आदी बोकेर बाडमाडौ गएर मष्टको विधिपूर्वक पूजा गरी यसरी बिन्ती बिसाए, हे महाराज ! तपाईं हाम्रो रक्षक हुनुहुन्छ ! हाम्रो मनका कुरा बुझिदिन सक्ने तपाईं बाहेक कोही छैन ! हाम्री छोरी विवाह गरेर गएको एक साल हुनलाग्यो। विवाहपछि छोरीसँग एकचोटी पनि भेट भएको छैन। उसले दुःख पो पाइकी भन्ने चिन्ताले सताइ रहन्छ। महाराजले मेरो छोरीको अवस्था बुझेर उपकार गरिदिनु पर्यो !’ भन्दै यसरी तीजाले फाग गाए ? महामष्ट, महागोसाई ? कोटी–कोटी ढोग चढाई ? पुकार गर्यौं तमिलाई ? भलो गरिदेऊ ! पाली प्रजालाई !! दियो जलाई, आलम चढाई ? थानमा आई फाग गाई ? बिन्ती बिसायौं तमिलाई ? भलो गरिदेऊ ! पाली प्रजालाई !’
यसरी तिजाको बिन्ती सुनेपछि मष्ट गोसाई प्रकट हुनु भै तिजालाई भन्नु भयो, हे तिजा ! म तिम्रो छोरीको अवस्था बुझेर तुरन्त उपकार गर्ने छु, कुनै चिन्ता नगर’ भनी त्यहाँबाट अन्तरध्यान हुनुभयो।
तिजाको छोरीको नाम मालिका थियो। मष्टले ध्यानदृष्टिद्धारा मालिकाको अवस्था हेर्नु भयो। उनी निकै दुब्लाएकी रहिछन्। उनी यसरी किन दुब्लाएकी रहिछन् भनी महाराजलाई कौतुहलता जागेपछि उहाँले मालिकाको वास्तविक दिनचर्या हेर्नुभयो।
बिहानको चौथो प्रहरमा भाले बासेपछि मालिका उठ्नु पर्दथ्यो। बिहान उठेपछि ढिकी, जाँतो गर्नु, घर आँगन सफा गर्नु, पँधेरामा पानी थाप्न जानु उनको दैनिक चर्या नै थियो। घरको काम सकेर मेला पात जानु पर्दथ्यो।
घरमा खाना पकाउने काम चाहीँ सासुआमाले गर्दथिन्। घरका सबैलाई खाना दिए पछि सासुआमाले आफू खाना खान्थिन् र आफूले खाईसकेपछि बल्ल मालिकाको खाने पालो आउँथ्यो। अरुले खाएर बाँकी रहेको खाना नै उनको भोजन हुन्थ्यो। कहिलेकाहीँ उनलाई प्रयाप्त खाना हुँदैनथ्यो। जति छ त्यतिमै चित्त बुझाउनु पर्दथ्यो।
मालिकाको कठिन अवस्था देखेर मष्टलाई नराम्रो लागेछ। त्यसपछि मष्ट वायुको रुप धारणा गरी तिजाको घरमा पुगी मालिकाको बारेमा इतिवृत्तान्त बताउनु भएपछि तीजाले भने, हे गोसाई महाराज ! छोरीको यस्तो अवस्था त थाहा पाएँ, अब कसरी म मेरो छोरीको उपकार गर्न सक्छु त महाराज ?’
महाराजले भन्नु भयो हे तिजा, अहिले तिम्रा बारीभरी हरिया, काँक्रा, फर्सी, लौका, घिरौंला फलेको बेला छ, जाऊ यही बेला छोरीलाई ल्याएर हरिया फलफूलहरु खुवाऊ अनि उनको घरमा पनि केही पठाइदेऊ ।’
मष्ट महाराजको यस्तो वचन सुनिसकेपछि तिजाले भन्यो, हुन्छ महाराज ! म त्यसै गर्छु तर कुन समयमा लिन जानु उपयुक्त होला त महाराज ?’
गोसाई देउले तिजालाई सम्झाउँदै भन्नु भयो, तीजा, तिमीलाई थाह नै छ पूर्णिमाको नजिकैका रातमा बारीमा चोरी हुनसक्छ त्यसैले अँधेरी रातकै बेला छोरीलाई बोलाउनु ठीक हुन्छ।’ गोसाई देवको जवाफ सुनिसकेपछि तिजा खाजा, चामल बोकेर छोरी लिन हिँडे। दुईदिन लगाएर छोरीका घरमा पुगे। वर्ष दिनपछि बुवालाई देख्न पाएकोमा मालिका धेरै खुशी भइन्। अनि बुवा मलाई लिन आउनु भएको होला भनी मनमनमा सोच्न थालिन्।
बेलुकाको खाना खाइ सकेपछि मालिकाका ससुराले सम्धीलाई सोधे, ‘सम्धी साहेब ! के कति कामले पाल्नु भयो ? यो बर्खाको बेला कि सम्धिनीज्युलाई सञ्चो पो भएन कि ?
सम्धीको जिज्ञासाको जवाफ दिँदै मालिकाका बुवाले भने, सम्धी साहेब ! सम्धिनी बिमारी भएकाले छोरी लिन आएको होइन। बारीमा थुप्रै हरिया फलफूलहरु फलेका हुनाले तपाईंकी सम्धिनीले छोरीलाई खुवाउने इच्छा गरेकी हुँदा छोरीलाई लैजाऊँ कि भनी आयाँ हुँ। केही दिनकालागि छोरीलाई माइत पठाइ दिनुपर्यो भनी तिजाले बिन्ती बिसाए।
सम्धीको अनुरोध सुनिसकेपछि मालिकाका ससुराले निकै गरुङ्गो मनले ‘हुन्छ’ भनेको भित्र जुठो–चुलोको धन्दा गरिरहेकी मालिकाले सुनिन् र असाध्यै खुशी भइन्। छोरी लिन सम्धी आएको र आफुले सम्धीलाई हुन्छ भनिदिएको कुरा मालिकाका ससुराले उनकी सासुलाई सुनाउँदा मालिका सासुको खुट्टामा तेल लगाइ दिँदैथिइन्।
सासुका खुट्टामा तेल लागाइ सकेपछि मालिकालाई सासुले भनिन्, बुहारी ! बाटोमा खाने खाजा बनाएर सुत, भोली बिहान सबैरै बाटो लाग्नु। सासुको वचन भुइँमा खस्न नपाउदै हवस् सासुआमा भन्दै मालिका खाजा बनाउन भान्सातिर लागिन्।
बाटोमा खाने चाम्रे, र चाम्रेसँग खानलाई गुन्द्रुकको अचार बनाएर खाजा, चामल र लुगाफाटो झोलामा राखेर मालिका पनि सुतिन्। तिजा छोरी लिन घरबाट हिंड्नासाथ मष्ट महाराजले सारा गाउँलेलाई आफ्ना छोरीचेलीलाई माइत बोलाएर बारीमा फलेका हरिया फलफूलहरु खुवाउन उर्दी जारी गर्नु भएको थियो।
तर तिजाबाहेक अरु कोही पनि छोरीचेली लिन जान सकेनन्।
यता तिजाले छोरी लिएर घर आउँदै थिए। घरमा छोरीलाई खुवाउन मालिकाकी आमाले बारीका सबै फलफूलहरु टिपेर राखेकी थिइन्। सेल रोटी, खीरजस्ता मीठामीठा परिकारहरु बनाएर राखेकी थिइन्। बाउ र छोरी आइपुग्नसाथ तिजाकी श्रीमतीले उनीहरुलाई खानपान गराइन्। खाना खाइ सकेपछि मालिकालाई उनकी आमाले मष्ट महाराजले सुनाएको सबै कुरा बताइन्।
त्यसको भोलीपल्ट मष्ट गोसाईले कसकसले छोरीचेली बोलाएर हरिया फसल खुवाए भनी जाँच्न आफ्ना सेनालाई साधा पोशाकमा गाउँ घुम्न पठाए। गाउँ घुमेर आएका सेनाले महाराजलाई सुनाए, महाराज ! तिजाबाहेक अरु कसैको पनि बारीमा फसल टिपिएको छैन।’
यसको मतलब अरुले छोरीचेली बोलाएनछन् क्यारे। मष्ट देवाइले भन्नु भयो, सैनिक हो, ज(जसको बारीमा काँक्रा, फर्सी, लौका आदी टिपेको छैन, जाऔ भोली राती उनीहरुको बारीमा चौथी हानेर आओ।’
मष्ट देवताको यस्तो आदेश भएको हुनाले पैकला (फौज)हरुले राती गएर चौथी हाने। बारीका काँक्रा, फर्सी, घिरौंला आदी हराए। भोलीपल्ट गाउँलेहरु मष्टको दरबारमा जम्मा भए र मष्ट महाराजलाई उजुर गरे, महाराज ! आज राती हाम्रा बारीका सबै फलफूलहरु हराए, कसले चोरी गर्यो, पत्ता लगाइदिनु पर्यो।’
गाउँलेहरुको उजुरी सुनि सकेपछि मष्ट देउले भन्नु भयो, यहाँ मैले सबैलाई देखें तर किन तिजालाई त देखिन ? गाउँलेहरुले एकै स्वरमा भने ‘तीजाको चोरी भएन, त्यसैले आएन महाराज ? गाउँलेहरुको कथन सुनेपछि मष्ट गोसाईले भन्नु भयो, हे पाली प्रजा हो, तिमीहरुले तिजाले जस्तो आफ्नी छोरीलाई बोलाएर आफ्नो बारीमा फलेका फसल नखुवाएको हुँदा तिमीहरुको चोरी भएको हो। अर्को सालदेखि तिमीहरुले पनि तिजाले जस्तै छोरीचेलीलाई माइत बोलाएर बारीको फसल खुवाउनु चोरी हुँदैन।
मष्ट गोसाईको यस्तो निर्णय सुनेर सबै पाली प्रजा ‘हुन्छ महाराज’ भन्दै आआफ्नो बाटो लागे। अर्को साल धेरैजसो गाउँलेहरुले छोरीचेली बोलाएर बारीको फसल खुवाए, तर केही मानिसहरुले छोरीचेलीलाई बोलाएर खुवाउन अटेर गरे।
फेरि पनि उनीहरुको बारीमा चौथी हानियो। काँक्रा, फर्सी उसरी नै हराए। मष्ट गोसाईले गाउँलेलाई बोलाएर सोध्नु भयो, ुयो वर्ष तिमीहरुको फलफूल चोरी भयो कि भएन? धेरै जसो गाउँलेहरुले भने भएन महाराज’, तर केही गाउँलेले भने ‘हाम्रो त चोरी भयो महाराज।’
मष्ट महाराजले गाउँलेलाई भन्नु भयो, धेरैजसोको किन चोरी भएन र थोरैको मात्र किन चोरी भयो त ? तिमीहरुलाई के लाग्छ। गाउँलेहरुले भने ‘हामीले हजुरको आदेश अनुसार छोरीचेलीलाई माइत बोलाएर बारीको फलफूल खुवायौं, अनि बाँकी रहेको फलफूल कोसेली पठाइ दिएको हुनाले हाम्रो बारीमा चौथी हान्नलाई केही थिएन। त्यसैले चोरी भएन, तर अरुले त्यसो नगरेको हुँदा चोरी भएको हो महाराज।’
मष्ट देउले जसको बारीबाट काँक्रा, फर्सी चोरी भएको थियो, उनीहरुलाई भन्नु भयो, ‘प्रजा हो, ल तिमीहरु नै भन अब बारीको फलफूल चोरी नहोस् भन्नका लागि के गर्दा हुन्छ त ? उनीहरुले तीजाले जस्तै अर्को सालबाट आफूहरुले पनि छोरीचेलीहरु माइत बोलाएर बारीको हरिया फलफूलहरु खुवाउने जवाफ मष्ट देउलाई दिए।
सबैको कुरा सुनिसकेपछि मष्ट देउले खुशी प्रकट गर्दै भन्नु भयो, सिँजाबाट मालिकालाई हरिया फलफूलको भोजन गराउन माइत बोलाउने प्रथाको थालनी तिजाबाट भएको हुँदा अबदेखि यसदिनलाई तिजा पर्व भन्नु भनी हुकुम भयो।’
मष्टको कुरा सुनिसकेपछि पुरुषहरुसँगै मष्ट देवाइको दरबार गएका महिलाहरुले भने, हे मष्ट महाराज ! हामी महिलाहरु सधैं तिजाका अवसरमा तमी मष्ट गोसाईलाई काँक्रा, लौका, घिरौंला तथा नानाथरीका फलफूलहरु चढाएर पूजा गरी सधैं सम्झने छौं, हामी स्वास्नी मानिसहरुलाई यसरी नै सधैं भलो गर्दिनुस् ।
महिलाहरुको यस्तो प्रतिज्ञा सुनेपछि ‘सुब्बा भया ! सुब्बा भया ! सुब्बा भया ।’ भन्दै मष्ट देवाई त्यहाँबाट विदा हुनु भयो। यसरी मष्ट महाराजको समयमा एकजना प्रजा तिजाको जीवनमा घटेको घटनाबाट सुरु भएको छोरीचेलीलाई माइतमा बोलाएर मिठो खानेकुरा खुवाउने चलन चल्दै आज आएर तीजको रुपमा महिलाहरुले रमाइलो गरेर र मिठो खाएर मनाउने ठूलो पर्वको रुपमा विकास भएको इतिहास रहेको छ।
समय सार्दभिक लेख प्रज्ञान खसले म्यासेन्जरमा पठाउनु भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend