जन आकाश
काठमाडौ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन प्रतिष्ठित पुरस्कार भैरव पुरस्कार गुठीले तीन अलग अलग स्रष्टालाई प्रदान गरेको छ ।
गुठीले राजधानीमा एक कार्यक्रम आयोजना गरी स्रष्टाहरूलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । जसअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ ।
यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार भाषासेवी एवं वरिष्ठ कोषकार चूडामणि गौतमलाई प्रदान गरियो भने ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार वरिष्ठ अभिनय शिल्पी लक्ष्मी गिरीले प्राप्त गरिन् ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्धय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहनु भएको चयन समिति गठन गरेको थियो ।
पुरस्कृत स्रष्टाहरू मध्ये हास्यव्यङ्ग्य साहित्यमा गाम्नागेको योगदान बारे प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले प्रकाश पार्नु भएको थियो ।
त्यस्तै भाषिक क्षेत्रमा गौतमको योगदान बारे साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले चर्चा गर्नु भएको थियो भने कलाकार लक्ष्मी गिरीको योगदानका बारेमा साहित्यकार मेनका पोखरेलले प्रकाश पार्नुभयो । सोही अवसरमा वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेले भैरव अर्याल नेपाली साहित्यको हास्यव्यङ्ग्य साहित्यको ‘महारथी’ नै भएको धारणा राख्नुभयो ।
भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहनु भएका वरिष्ठ साहित्यकार एवं पत्रकार रोचक घिमिरेले गुठीले हास्यव्यङ्ग्य क्षेत्रमा योगदान गर्ने स्रष्टा बाहेक समग्र नेपाली साहित्य र कलाको उत्थानमा क्रियाशील स्रष्टालाई पनि पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो ।
संविधान सभा सदस्य रामेश्वर फुयाल, साहित्यकार आरसी रिजाल, गुठीका सचिव वसन्त रिजाल लगायतले समुन्नत समाजको निर्माणमा साहित्यको भूमिका बारे प्रकाश पार्नु भएको कार्यक्रममा व्यङ्ग्य कवि तथा गजलकारहरूले चोटिलो कविता तथा गजल प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा साहित्यकार स्वर्गिय रमेश विकलको व्यङ्ग्य रचनामा आधारित कृति ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’ को दोस्रो संस्करण सार्वजनिक गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend