जन आकाश
धनगढी– प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री प्रकाश देउवा जनताका गुनासा र विकास निर्माणका योजनाको अनुगमन गर्न अहिले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत टोल–टोलमा व्यस्त छन् ।
कैलाली जिल्लाको ५ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेश सभा २ बाट निर्वाचित पूर्वमन्त्री देउवा पार्टीका केही नेतासहित टोल–टोलमा भेटघाट र योजना अनुगमन गरिरहेका छ्न् । यसअघि नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री भएका देउवा दशैंलगत्तै टोल भ्रमणमा निस्किएका हुन् । उनी जनताका माग, समस्या र योजना कार्यान्वयनमा देखिएका समस्याबारे घरदैलोमा गएरै छलफल गरिरहेका छन् ।
उनको निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ देखि ६, ११ र १३ नम्बर वडा पर्दछन् । पूर्वमन्त्री देउवाले भने, ‘जनतासँग प्रत्येक्ष भेटेर शुभकामना आदान प्रदानसँगै विकास निर्माणबारे जानकारी र जनताका गुनासा सुन्न टोल टोलमा भेटघाट गरिरहेको छु ।’ पूर्वमन्त्री देउवाले प्रदेश सरकारले केही पनि गरेन भनेर चलिरहेको हल्ला चिर्न पनि जनताको घरदैलोमा गएर प्रदेश सरकारले गरिरहेको काम र प्रदेश संरचनाको महत्वबारे जनतालाई बुझाउनुपर्ने देखिएको बताए ।
उनी केही दिनयता बिहान ८ बजेदेखि बेलुका अबेरसम्म टोल भेटघाटमा हिँडिरहेका छन् । निर्वाचन जितिसकेपछि अर्काे निर्वाचन नआउन्जेल नेताहरु जनतासँग भेटघाट नगर्ने परम्परालाई पनि पूर्वमन्त्री देउवाले हटाएको धनगढी १३ का रामलाल रानाले बताए । उनले भने, ‘अरु नेताको त त्यति थाह छैन, प्रकाश देउवा भने पटक–पटक घरभेटमा आइरहेका छन् ।’ उनले घरभेटमा आएका बेला दिएका सुझावहरु पनि कार्यान्वयन गर्ने गरेको रानाले बताए ।
पूर्वमन्त्री देउवासँगै टोल भ्रमणमा सहभागी नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले नेताहरु घरदैलोमा जाँदा जनतामा देखिएका धेरै भ्रम हट्ने बताए । उनले भने, ‘जनताको चाहना नेताहरु घरदैलोमा आएर आफ्ना समस्या सुनुन् भन्ने छ, अहिले पूर्वमन्त्री देउवाले त्यही गरिराख्नुभएको छ ।’ सचिव सुनारले तिहारसम्म सबै वडाका सबै टोल घुमेर सकिने बताए । उनले जनताका नेताप्रति केही आक्रोश भएपनि घर घरमा जाँदा स्वागत गर्ने गरेको बताए ।
भौतिक मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा १९ वटा सडकमा बजेट विनियोजन गरेका देउवाले यस पटकको बजेटमा पनि धेरै सडकसँगै अन्य विकासे योजनाहरुमा ठूलो रकम छुट्याउन सफल भएका छन् । उनले विकासलाई नै प्राथमिकतामा राखेर अघि बढेकाले उनीप्रति युवाको आकर्षण र समर्थन बढेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend