जन आकाश
Oplus_131074
काठमाडौं । सरकारले सुशासनका लागि आलोचनासहित सही सूचना दिएर सघाउन नेपाली सञ्चार क्षेत्रलाई आग्रह गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयबाटै सञ्चार जगतलाई सरकार आलोचना स्वीकार गर्न तयार रहेको भन्दै यस्तो आग्रह गरेका हुन ।
´यो सरकार आलोचनालाई सहज रुपमा लिएर आफैबाट कमी कमजोरी भएको रहेछ भने पनि सच्याउन तयार रहेको लोकतान्त्रिक सरकार हो । नेपाली सञ्चार क्षेत्रबाट सुशासनको पक्षमा सही सूचना र कामको सिलसिलामा सरकारबाट भएको कमी कमजोरीमाथि आलोचना होस भन्ने चाहन्छ, सही सूचनाका आधारमा तपाईहरुबाट हुने आलोचनालाई सरकारले सहर्ष स्वीकार गर्छ,’ नेपाल पत्रकार महासंघका बर्तमान र पूर्वनेतृत्वलाई साक्षी राखेर सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।
उनले सही आलोचना र सही सूचनाले सुशासनको पक्षमा काम गर्ने तथा सरकारलाई थप काम गर्न सघाउने बताए । ‘सूचना सही होस, सुशासनको पक्षमा दृढतापुर्वक सञ्चार जगत उभियोस, हामी सरकारमा बसेकाहरुले गलत काम गर्यौं भने आलोचना होस, मुलुकलाई सही रुपमा अगाडि बढाउने बाटो यही हो,’ मन्त्री गुरुङले थपे । मन्त्री गुरुङले मुलुकका हरेक निकाय संघीय सरकारमाथि दोष थोपरेर आफ्नो कर्तब्य पूरा गर्नेतर्फ नलागेकै कारण अहिले सरकारी ठगीको बिकराल स्वरुप देखिएको बताए ।
‘बिगतका सरकारहरुले सहकारीमा पारदर्शिताको पाटोलाई दृढतापुर्वक अघि बढाएको भए सहकारीमा यति धेरै बिसंगति, ठगी हुने नै थिएन,’ मन्त्री गुरुङले थपे, ‘त्यसैले त्यस तर्फबाट भन्छु कि सुशासनको पक्षमा सञ्चार क्षेत्र निर्मम हुनुपर्छ, निर्मम होस पनि । सरकार आलोचनाको अपेक्षा गर्छ तर अफवाह नहोस, सही सूचना देवस भन्ने चाहन्छ ।’ सरकार असल शासन र सुशासनप्रति दृढ रहेको भन्दै उनले असल शासनका लागि असल ब्यक्ति पनि चाहिने बताए।
सञ्चारमन्त्री गुरुङले आफ्नो अधिकारसँगै कर्तब्य पालनमा सवै दृढ हुनुपर्ने धारणा पनि राखे । ‘सरकारमा रहने मात्रै होइन, प्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु मात्रै होइन, सवै तहका सरकार, जनप्रतिनिधि, कर्मचारीदेखि नागरिकसम्म सुशासनको पक्षमा दृढ भएमा मुलुक निर्माणको काम सहज रुपमा अघि बढने उनको भनाई थियो ।
मन्त्री गुरुङले सरकार सूचना प्रविधिको बिकास र सोसल मिडियाको नियमनको बिषयमा काम गरिरहेको जानकारी दिए । सोही आधारमा सञ्चार मन्त्रालयले सवै पक्षसँग परामर्श, छलफल गरी सोसल मिडियालाई मुलुक र जनताको पक्षमा प्रभावकारी रुपमा सदुपयोग गर्न सोसल मिडिया नियमन सम्बन्धी बिद्येयक मन्त्रिपरिषदमा पुगेको जानकारी दिए।
‘सोसल मिडिया नियन्त्रण गर्ने होइन, नियमन गर्नुपर्छ भन्ने मान्यताका साथ सरकारले बिद्येयकलाई अन्तिम रुप दिएर कानून निर्माणका लागि मन्त्रिपरिषदमा पुगेको छ,’ सञ्चारमन्त्री गुरुङले भने । सञ्चारमन्त्री गुरुङले साशकीय प्रणालीको बिषयमा नेपालमा समीक्षा जरुरी रहेको धारणा पनि राखे ।
‘सशाकीय प्रणालीमा हेरफेर मुलुकको राष्ट्रियता बलियो बनाउन, जनताले मेरो देश हो भनेर गर्व गरोस भनेर हाम्रो आवश्यकताले र हामीले रोजेर ल्याएको संघयता हो,’ सञ्चारमन्त्री गुरुङले थपे ‘राष्ट्रिय एकता नक्सामा खोज्ने होइन, जनताको अनुहारमा खोज्ने हो । राष्ट्रियता भनेको खाली सिमानाको मात्रै कुरा हो र ? सिंगो जनताको भवनाको कुरा हो । त्यो सवै समेटनका लागि, सवैलाई यो राज्य मेरो हो भन्ने अनुभुति दिलाउन संघीयतामा गएको हो । तर संघीयताको नाममा ७६१ वटा सरकार बनायौं । यो मुलुकको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्ने बिषयमा अव समिक्षा गर्नुपर्ने बेला भएको छ ।’
उनले नेपालको बिबिधतालाई सही रुपमा पहिचान गरेर संघीयतामा गएको भन्दै अनावश्यक संरचना र अनावश्यक संख्या कटौति गर्नुपर्ने बताए। यस्तै सम्बोधनको क्रममा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा र संघ संस्थहरुलाई दिने बजेट प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीको निगाहको भरमा बजेट दिने प्रचलन अनत्य हुन जरुरी रहेको भनाइ राखे।
महासंघकी कार्यबहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वसभापतिहरु डा. महेन्द्र बिष्ट, तारानाथ दाहाल, बिष्णु निष्ठुरी, धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, सञ्चारिका समुहकी अध्यक्ष बिमला लुम्खेवा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खडका, नेपाल पत्रकार महासघका शान्तराम विडारीले शुभकामना राखेका थिए । शुभकामनाको क्रममा कार्यबहाक अध्यक्ष अधिकारीसहित पूर्वअध्यक्षहरुले महासंघको गरिमा जोगाउन सवै लाग्नुपर्ने बताएका थिए ।
यस्तै संगठनहरुको तर्फबाट शुभकामना दिने क्रममा प्रेस चौतारीका अध्यक्ष बस्नेतले पत्रकार महासंघले चुनाव गराउन नसक्ने असक्षमताको कलंक मेटाउनु पर्ने बताए । अध्यक्ष बस्नेतले महासंघका पदाधिकारी र कार्यसमितिमा रहेका नेताहरु पत्रकार महासंघको सदस्यता बिवाद र चुनाव गराउन नसकेको बिषयमा संगठनहरुमाथि दोष थोपर्ने काम दिउसै रात पार्ने शैलीको संज्ञा दिए ।
‘यो चाड पर्वले नेपाल पत्रकार महासंघका केन्द्रीय समिति र पूर्वअध्यक्षहरूमा काँक्रो आफूले खाने, बियाँचाहि अरुको निधारमा टाँसी दिने प्रवृत्ति अन्त गर्ने शक्ति प्राप्त होस । चुनाव नगर्ने रोगको शल्यक्रिया होस,’ अध्यक्ष बस्नेतले भानाइ राख्ने क्रममा यस्तो बताएका हुन। सदस्यता बिबादमा महासंघको कार्यसमितिले गरेको छलछाम अब लुकाएर लुकाउन सक्ने अवस्था छैन । यो सत्यलाइृ स्वीकार गरेर मंसीर २८ मा चुनाव गराएर नेतृत्व हस्तान्तरणको काममा लाग्नोस।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend