logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

काठमाडौँका ३ स्थानमा प्रदर्शन : एसएसपीको कमान्ड ४ हजार प्रहरी परिचालन


  • जन आकाश
  • शुक्रबार, मंसिर ७ २०८१

काठमाडौँ । काठमाडौँका ३ ठाउँमा प्रदर्शनको आयोजना गरिएको छ । नेकपा एमाले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँको र ललितपुरको सिमानास्थित बालकुमारी पुल क्षेत्रमा कार्यक्रम गर्दै छन्।



प्रदर्शन स्थल र भेला जम्मा भएर प्रदर्शनकारी हिँड्ने रुटमा सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनको क्रममा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न ४ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले बताए ।

सुरक्षाको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले गर्ने भएका छन् । घिमिरेले भने, ‘काठमाडौँको एस एसपीको कमान्डमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ

प्रदर्शन स्थलको सुरक्षामा तालिमप्राप्त कुकुर र सादा पोसाकमा प्रहरी कर्मचारी पनि परिचालन गरिएको छ । सुरक्षामा खटिने जनशक्तिलाई उपत्यका प्रहरी कार्यालयले ब्रिफिङ गरेको छ ।

प्रदर्शन अवधिभर काठमाडौँ उपत्यकाभित्र हिँडडुल गर्ने भीआईपीहरुलाई समन्वय गरेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । उच्च पदस्थहरूलाई आवश्यकता अनुसार मात्रै हिँड्न र समन्वय गर्न भनिएको एसएसपी घिमिरेले बताए । उनले भने, ‘उपत्यका प्रहरी कार्यालयसँग समन्वय गरेर रुट लिएर मात्र यात्रा गर्न आग्रह छौँ ।’

यस अघि आफूखुसी हिँड्दा तत्कालीन मन्त्री प्रकाश ज्वालामाथि बालकुमारीमा आक्रमण प्रयास भएको थियो । प्रदर्शनकारीले ज्वाला चढेको गाडी जलाएपछि गोली चलाउँदा मानवीय क्षति भएको थियो । त्यस्तो घटना हुन नदिन प्रदर्शन आसपासको क्षेत्रमा जान उच्च पदस्थहरुलाई कडाइ गरिएको प्रहरी का अधिकृतहरू बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend