जन आकाश
काठमाडौं – उपसभामुख इन्दिरा राना मगरले पत्रकारहरूलाई केवल निराशा फैलाउने समाचार मात्रै नभई नयाँ पुस्तालाई प्रेरित गर्ने खालका समाचार तयार गर्न आग्रह गरेकी छन् ।
संसदीय मामिला पत्रकार समाजद्वारा प्रकाशित संसदीय पत्रकारिता अवधारणा र अभ्यास पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख मगरले पत्रकारहरूको भूमिकालाई राष्ट्र निर्माणको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गरिन् ।
उनले भनिन्, “तपाईंहरूले निराशा मात्र होइन, नयाँ पुस्तालाई जाँगर चलाउने समाचार लेख्नुहोस् । यहाँ धेरैजसो निराशाजनक समाचारमात्रै छन् । तपाईंहरूको देश बचाउन ठूलो भूमिका छ । त्यसअनुसार मेहनत गरेर, तथ्यपूर्ण र न्यायसंगत समाचार लेख्नुहोस् । कपि–पेस्ट नगर्नुहोस् ।”
उपसभामुखले पत्रकारितामा सत्यतथ्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै, गलत उद्देश्यले समाचार नलेख्न चेतावनी दिइन् । “हामी कहिलेकाहीँ सत्य बोल्दा जनतालाई असर पर्न सक्छ। त्यसैले तपाईंहरूले जनतालाई सुसूचित गर्ने काम गर्दा सचेत हुनुपर्छ,” उनले भनिन् ।
उपसभामुखले कतिपय पत्रकारले राजनीतिक प्रभावमा परेर समाचारको विकृति गर्ने गरेको पनि औंल्याइन् ।
कार्यक्रमको अर्को प्रसङ्गमा उपसभामुख मगरले संघीयताको बहस अझै टुंगोमा पुग्न नसकेको बताइन् । उनले भनिन्, “१० वर्ष भइसक्यो, तर संघीयताका लागि प्रभावकारी नीति र संरचना बनाउन सकिएको छैन। यसरी ठिक वा बेठिक भन्न कसरी मिल्छ ?”
कार्यक्रममा उपसभामुख मगरले पत्रकारिताको दायित्वबारे गहन चर्चा गर्दै पत्रकारहरूले सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend