logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राप्ती र नारायणी नदीमा ३५२ घडियाल गोही भेटिए


  • जन आकाश
  • शुक्रबार, माघ ४ २०८१

चितवन । राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।



निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो सङ्ख्यामा गोही भेटिएका बताए । गणनामा निकुञ्जका नौ कर्मचारी र माझीहरू सहभागी भएका थिए ।

गतवर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणीमा एक सय १३ वटा गोही भेटिएका थिए। त्यसबेला राप्ती र नारायणीमा तीन-तीनवटा भाले भेटिएकामा यस वर्ष राप्तीमा दुई र नारायणीमा तीन गरी पाँचवटा भाले भेटिएका छन्।

यसवर्ष एउटा भाले नभेटिए पनि समग्रमा सङ्ख्या भने बढेको छ । गणना हुनुअघि राप्तीमा ४१ वटा गोही छोडिएकाले पनि सङ्ख्या बढेको सूचना अधिकारी थापामगरले बताउनुभयो । निकुञ्जले गत पुस महिनामा राप्तीमा थप २० वटा गोही छोडेको थियो।

गत आर्थिक वर्षमा एक सय पाँच वटा गोही प्राकृतिक बासस्थानमा छाडिएकामा चालु आवमा थप ४० वटा गोही छोड्ने योजना रहेको छ । यहाँ नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार १८ गोही छाडिसकिएका छन् । हाल प्रजनन केन्द्रमा सात सय ३९ गोही रहेका छन् ।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।

सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend