जन आकाश
काठमाडौं। चिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको छ ।
सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ ।
छोटा भिडियोका लागि चर्चित टिकटकको चिनियाँ स्वामित्व ६ महिनाभित्र बिक्री नगरे प्रतिबन्ध हुने गरी अमेरिकाको ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा विधेयक पारित भएको थियो ।
तर, यसविरुद्ध अमेरिकी अदालतलमा मुद्दा समेत परेको थियो । यद्यपि, पछिल्लो समय अदालतले प्रतिबन्धको निर्णय सदर गरिदिएपछि टिकटकले सूचना जारी गरेर अमेरिकामा सेवा बन्द गरेको हो ।
न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार, अमेरिकी संघीय कानून अनुसार आइतबारबाट टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो । तर, केही समयअघि टिकटकले सूचना जारी गरेर एप्लिकेशन नचल्ने बनाएको हो ।
‘अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानून लागू गरिएको छ, दुर्भाग्यवश, यसको मतलब तपाईंले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न । हामी भाग्यशाली छौं कि राष्ट्रपति ट्रम्पले पद सम्हालेपछि टिकटक पुनःस्थापना गर्न समाधन गर्न हामीसँग सहकाई गर्ने संकेत गरेका छन् ।
कृपया अपडेटका लागि पर्खनुस्’, अमेरिकी प्रयोगकर्ताले टिकटक खोल्ने वित्तिकै यो सूचना देखाइएको छ ।
राष्ट्रपतिका रुपमा पदभार ग्रहण गर्नुअघि ट्रम्पले टिकटकलाई थप ९० दिन समय दिनसक्ने बताएका थिए । सोमबारबाट उनले जिम्मेवारी सम्हाल्दैछन् । एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले शनिबार भनेका थिए, ‘मलाई लाग्छ, टिकटकलाई थप ९० दिन समय दिने निर्णय उपयुक्त हुनसक्छ, मैले त्यो निर्णय गरेँ भने सोमबार घोषणा गर्नेछु ।’
अमेरिकाले टिकटक बन्द गर्नु पछाडि राष्ट्रिय सुरक्षामा चुनौतिलाई कारण देखाएको थियो । अमेरिकामा सरकारी कर्मचारीका लागि पहिल्यैदेखि टिकटक प्रतिबन्धित थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend