logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

भ्रामक समाचार विरुद्ध सूर्यज्योतिको ध्यानाकर्षण


  • जन आकाश
  • मंगलबार, माघ २९ २०८१

काठमाडौं ।  हालै केही संचार माध्यमहरू तथा विभिन्न सामाजिक संजालहरू मार्फत यस सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी र संचालकहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सुनियोजित रूपमा विभिन्न शिर्षक राखी कम्पनी प्रति
नकारात्मक असर पुर्‍याउने नियतले कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण गरिएको प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।



जीवन बीमा क्षेत्रकै ऐतिहासिक सफल मर्जर सम्पन्न गरी कम्पनीले छोटो समयमा नै आफ्ना हरेक सूचांकहरूमा उत्कृष्टता हासिल गर्दै लाखौं बीमितहरूको रोजाईको कम्पनी बन्न सफल भएको छ ।

कम्पनीले यस आ.व.२०८१/८२ को पौष मसान्त सम्ममा कुल बीमा शुल्क रु.५०६.४७ करोड संकलन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.३१ प्रतिशतले बढी हो ।

कम्पनीले मर्जर पश्चात आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को बार्षिक साधारण सभा सम्पन्न गरी शेयरधनीहरूका लागि क्रमशः ३५ प्रतिशत र २० प्रतिशत गरी ५५ प्रतिशत लाभांस समेत बितरण गरीसकेको छ ।

आ.व.२०८१/८२ को पौष मसान्त सम्म कम्पनीको चु्क्ता पूँजी रु ५०१ करोड, कुल लगानी रु ४,२४२ करोड, जीवन बीमा कोष रु.३,८०३ करोड, खुद नाफा रु.१९.६१ करोड, जारी बीमालेख संख्या ३१.७२ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख र देश भर रहेका १७४ शाखा संजाल मार्फत सेवा प्रदान गरीरहेको छ ।

चालु आ.व.को पौष मसान्त सम्ममा कम्पनीद्वारा ११३४ वटा बीमालेखको मृत्युदाबी वापत रु.३८.९५ करोड, ७७ वटा बीमालेखको घातक रोग दाबी वापत रु. ३.९२ करोड र १३ वटा बीमालेखको अशक्तता दाबी वापत रु १.१ करोड गरी रु.४४.०६ करोड दाबी रकम भुक्तानी गरिसकेको छ ।

कम्पनीले जारी गर्ने हरेक बीमालेखहरू नियमनकारी निकाय नेपाल बीमा
प्राधिकरणको निर्देशिका अनुसार तयार गरी स्वीकृति पश्चात मात्र बिक्रिवितरण गर्ने गरिएको छ ।

साथै कम्पनीले कुनै पनि किसिमको दाबी भुक्तानी गर्दा नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बीमालेखमा उल्लेख भएको सुविधा, शर्त तथा नियमहरू साथै पुनर्बीमा कम्पनीहरू सँग भएको सम्झौता अनुसार दाबी भुक्तानी गर्ने गरिएको छ ।

कम्पनीमा चालु आ.व. को पौष मसान्त सम्ममा गत आ.व. को तुलनामा ४७ प्रतिशत कम बीमालेख समर्पण भएका छन् । कम्पनीको बीमालेख समर्पणको अवस्था जीवन बीमा क्षेत्रमा औसत भन्दा न्यून छ ।

कम्पनीले सधैं संस्थागत सुशासन, बीमा ऐन तथा नीति नियमहरूको परिपालना गर्दै आएको छ । साथै, नेपाल बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी एवं निर्देशन अनुरूप आफ्ना सम्पूर्ण कार्यसम्पादन गरिरहेको छ ।

नेपाल सरकारका अन्य नियामक निकायहरू लगायत सम्बन्धित सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम तथा निर्देशनहरूको पूर्ण पालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिएर कम्पनी अगाडि बढिरहेको जानकारी गराउन चाहन्छौं ।

कम्पनीका माथि उल्लेखित सूचांकहरूका बावजुद हाल केही मिडियाहरूमा प्रशारित समाचारहरू पूर्ण रूपमा आधारहीन, तथ्यहीन र कपोलकल्पित रहेको स्पष्ट छ ।

यस्ता निराधार आरोपहरूले लाखौं बीमित, शेयरधनी तथा हजारौं अभिकर्ताहरूको विश्वासलाई कमजोर पार्ने प्रयास गरिएको देखिन्छ । तर कम्पनी आफ्नो दायित्व प्रति पूर्ण प्रतिबद्ध रहँदै विगतमा झैं आफ्नो सेवा निरन्तर प्रदान गरिरहने छ ।

त्यसैले, यस्ता आधारहीन समाचारहरूको पछि नलागी निर्धक्क भई कम्पनीम दृढ विश्वास राख्न तथा कम्पनीले जारी गर्ने बीमालेखहरू खरिद गर्न तथा सेवा सुविधा लिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछौं । साथै, कम्पनीसँग सम्बन्धित कुनै पनि सुझाव वा गुनासो भएमा नजिकको शाखा कार्यालय वा कम्पनीको आधिकारिक इमेल मार्फत जानकारी गराउन अनुरोध गर्दछौं ।

कम्पनी यस्ता भ्रामक समाचार प्रसारण तथा प्रकाशन विरुद्ध कानुनी उपचारका लागि अघि बढ्ने प्रक्रियामा रहेको सबैमा जानकारी गराउँदछौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend