जन आकाश
फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गरेका छन् ।
कास्कीको ढुङ्गेपाटनमा विहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन ।’
प्रधानमन्त्री ओलीले विद्यार्थीलाई हात्ती देखेर भाग्ने भन्दा तालिम दिएर माउते हुन आग्रह गरे ।
‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहासी नहुनुस्,’ उनले भने ।
विश्वविद्यालयलाई रुपान्तरणकारी काम गर्न आग्रह गर्दै उनले थपे, ‘हामीसँग उर्बर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’
विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरे ।
दीक्षित विद्यार्थीहरूलाई ओलीले आत्मविश्वास र इमानपूर्वक समाजका लागि सकारात्मक काममा प्राप्त ज्ञान उपयोग गर्न अनुरोध गरे ।
‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईँहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
उनले थपे, ‘तपाईँहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईँहरूमा होस् ।’
समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend