logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

आईजीपी दानबहादुर कार्की र महिला, बालबालिका मन्त्री सिता बादीबीच छलफल


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच छलफल भएको छ।



मन्त्रालयमा भएको भेटवार्तामा दलित, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षण र सुरक्षालाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको हो।

छलफलमा जातीय विभेद तथा छुवाछुतका घटनामा निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र पीडितलाई शीघ्र न्याय दिलाउन प्रहरीको दलित सहायता कक्षलाई थप सक्रिय बनाउने विषयमा जोड दिइएको छ। साथै, प्रहरी कर्मचारीलाई पीडितमैत्री व्यवहार र कानुनी व्यवस्थाबारे नियमित तालिम दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

त्यसैगरी, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण, जोखिममा रहेका बालबालिकाको संरक्षण तथा पुनर्स्थापना र मानव बेचबिखन रोकथामका उपायबारे पनि छलफल भएको छ। सीमापार बालबालिका ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी बढाउने र सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयसमेत उठाइएको छ।

भेटवार्तामा हिंसापीडित तथा सीमान्तकृत समुदायलाई आवश्यक संरक्षण, कानुनी सहायता र न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालय र नेपाल प्रहरीबीच सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend