जन आकाश
तनहुँ । पवित्र तिर्थस्थल देवघाटधाममा रहेको गलेश्वर आश्रमको शतवार्षिकी समारोह बुधवार भव्यताका साथ सम्पन्न भएको छ ।
आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेशवर स्वामी आत्मानन्द गिरिजी महाराजको सभापतित्वमा सम्पन्न समारोहको प्रमुख अतिथि नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश परमपूज्य श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज हुनुहुन्थ्यो ।
समारोहमा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी प्रतिनिधिसभाका सांसद शंकर भण्डारी, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, नेपाल संस्कृति विश्वविद्यालयका कुलसचिव प्रा माधव अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडल र तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलगायत विशिष्ट व्यक्तित्वहरु समारोहमा अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।
समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री श्रेष्ठले आश्रमले सञ्चालन गरिरहेका कार्यहरुको प्रसंसा गर्नुभयो । ती कार्यले चितवन र तनहुँको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।
गलेश्वर आश्रमको स्थापना अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले गर्नुभएको हो । आश्रमले पवित्र देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र र घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ ।
आश्रमले देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निःशुल्क भोजन र बसोबाको सुविधा छ ।
अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठान तथा अन्य धार्मिक क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend