logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

झलनाथ खनाल चीन प्रस्थान


  • जन आकाश
  • सोमबार, असार २३ २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा निस्केका छन् । चीनमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।



बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनाल हेनान प्रान्तको तीन दिने भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा खनालले त्यहाँको आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ । हेनान भ्रमणको अन्त्यमा सीपीसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको खनालको सचिवालयले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) का विदेश विभाग सचिव डा। शङ्कर खतिवडाका अनुसार, हेनानको कार्यक्रम सकेर नेता खनाल जुलाई ९ मा चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । बेइजिङमा खनालले जुलाई १० मा दुईवटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।

त्यस क्रममा ‘मन्त्रीस्तरीय विश्व सभ्यता संवाद’को पूर्ण सत्रको तेस्रो खण्ड, ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवर्द्धन’लाई सम्बोधन गर्ने र सोही दिन ‘सभ्यताहरूको आदानप्रदान, पारस्परिक सिकाई र प्राज्ञिक संवाद’ शीर्षकको छैटौँ उप–मञ्चको उद्घाटन समारोहमा पनि प्रमुख वक्ताका रूपमा मन्तव्य राख्ने कार्यक्रम छ ।

बेइजिङ बसाइका क्रममा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत अन्य शीर्ष चिनियाँ नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै, सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट आएका पूर्व प्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको डा। खतिवडाको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend