जन आकाश
बिनोद नेपाली
काठमाडौं । दैलेख जिल्लाको आठबिस नगरपालिका वडांं नं ६ का कलम नेपालीका दस वर्षीय छोराले सायद कहिल्यै कल्पना गरेका थिएनन् आफ्नो बाल्यकालको खेल अचानक यति ठूलो त्रासदीमा परिणत हुनेछ भनेर।
उनको नाम अहिले धेरैका ओठमा छैन, तर उनको कथा भने हजारौं नेपाली कामदार परिवारका पीडाहरुको प्रतिनिधि बनिरहेको छ।
कलम नेपाली केही वर्षदेखि भारतको नागपुरमा काम गर्दै आइरहेका थिए। घरको आर्थिक अवस्था मजबुत बनाउने सपना बोकेर आफूभन्दा टाढा रहेका
थिए, परिवारसँगै। उनका १० वर्षीय छोरा पनि बुबासँगै नागपुरमा थिए। सबै सामान्य चलिरहेको थियो। ती बाबुु आफ्नो साथीसँग नजिकैको गार्डेनमा बल खेलिरहेका थिए। बालकपनको त्यो उमङ्ग, त्यो हाँसो, त्यो दौड अचानक एउटा शोकान्त कथामा परिणत भयो। खेल्दाखेल्दै बल पानीको एक गहिरो तलाउमा
पुग्यो। बिना झिझक, त्यो सानो बच्चा बल लिन तालतिर दौडियो। तर त्यो बल मात्र होइन, उसैसँगै हरायो एउटा सपना, हरायो एउटा भविष्य।
कसैलाई थाहा थिएन त्यो पानीको सतह तल यति गहिरो, यति घातक हुनेछ भनेर। आसपासका मानिसहरुले देखेपछि उद्दारको प्रयास गरिए तापनि त्यो
प्रयास नपुग्योस जीवन पानीमै विलीन भइसकेको थियो। यो घटनाले नेपालका सयौं त्यस्ता परिवारको कथा सम्झाउँछ, जो बाँच्नका लागि, छोराछोरीसहित
भारततिर लागेका छन्। कामको खोजीमा गएका ती परिवारहरूमाथि परेको पीडा, जोखिम, र अभावले उनीहरूको जीवन सधैं संघर्षमै बितिरहेको हुन्छ। तर
यस्तो अभागी क्षणले त्यो संघर्ष पनि निरर्थकजस्तै लाग्न सक्छ। जहाँ महेशका बाबु कलम नेपाली रोजगारीका लागि काम गर्दै आएका थिए। गरिबीको चपेटाबाट उम्किन आफ्नै परिवारलाई साथमै भारत लगेका कलम नेपालीले कहिल्यै कल्पना पनि गरेका थिएनन् मेहनतको खोजीमा पुगेको शहर नै
छोराको अन्तिम थलो बन्नेछ भनेर। गत शुक्रबारको दिउँसो महेश नजिकैको गार्डेनमा साथीसँग बल खेल्दै थिए। खेल्दाखेल्दै बल नजिकैको पानीको गहिरो तलाउमा पुग्यो। निर्दोष बालहृदयले एकछिन पनि नसोची बल टिप्न तलाउतर्फ लागे। तर, त्यो सानो पाइला महेशको जीवनको अन्तिम पाइला बन्यो।
ूहिजोसम्म छोराको हात समाएर बजार गएको थिएँ।।। आज उसैलाई काँधमा राखेर फर्कनुपर्ने भयोू, बाबु कलम नेपालीको टुटेको स्वरमा लुकेको पीडाले आकाशसमेत रुवाएको छ। एउटा बाबुको आँखाको निद हराएको छ, एउटा आमाको काख सधैंका लागि सुन्निएको छ।
यो घटना केवल एउटा समाचार होइन। यो चेतावनी हो — बालबालिकाको सुरक्षाको गम्भीर प्रश्न हो। प्रवासी जीवन केवल जीविकाको कथा होइन, यो जोखिमको कथा पनि हो। जहाँ स(साना गल्तीहरु जीवनको मूल्यमा परिनत हुन्छन्।
यो घटना केवल एउटा बालकको मृत्यु होइन, यो प्रवासी नेपालीहरूको असहज जीवन, जोखिम र वेदनाको प्रतिनिधि कथा हो। जहाँ रोजगारीको खोजीमा पुगेका नेपालीहरू दिन–रात पसिना बगाउँछन्, तर कहिलेकाहीँ भाग्यले उनीहरूबाट उनीहरूको जिन्दगीकै आधार च्यापेर लैजान्छ।
महेश अब फर्किँदैनन्। तर उनको स्मृति सधैं बाँकी रहनेछ। आज पनि त्यो गार्डेनमा हावा चलिरहेछ, तर महेशको हाँसो छैन। बल त्यहीँ छ, तर त्यसलाई टिप्न अब कोही छैन।
यो घटना समस्त नेपाली समुदाय, विशेष गरी भारतमा कार्यरत नेपाली परिवारहरूको सुरक्षा, बालबालिकाको हेरचाह र सामाजिक उत्तरदायित्वप्रति गम्भीर सोच पैदा गराउने एउटा चेतावनी हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend