logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जहाँ छानो चुहियो, तर ज्ञान कहिल्यै चुहिन दिएनौं सामुदायिक शिक्षकको आत्मगौरव र २० संकल्पहरू


  • जन आकाश
  • आइतबार, असार २९ २०८२

काठमाडौं । दैलेखको जिल्ला आठबिस नगरपालिका ६, श्री कालिका माध्यमिक बिधालयका प्रध्यानाध्याक च्रक बहादुर शाही लेख्नुहुन्छ ।हामी कहाँबाट आएका हौंर आदरणीय शिक्षक एबम प्र.अ साथीहरू आज यो पत्र लेख्दै गर्दा मेरो हृदय भरिएको छ।



सम्झनाका पानाहरू पल्टाईरहेछु,
त्यो भिजेको स्कुल झोला बोकेर बिहान सबेरै विद्यालय पुग्ने नानी,
त्यो आधा पेट खाएर पनि टिफिनमा मुस्कान बाँड्ने बालक,
र ती नानीहरूलाई हेरेर आँखा रसाउने तपाईं शिक्षकज्यू —
यी सबै दृश्यहरू मानसपटलमा चलचली घुमिरहेका छन्।

तपाईंहरू न त मिडियामा छिटो देखिनुहुन्छ,
न त सामाजिक सञ्जालका ट्रेन्डिङ ‘ह्यासट्याग’ मा पर्नुहुन्छ।
तपाईंको कामले  बन्दैन,
तर तपाईंको हरेक दिनको श्रमले ‘गरिरहेको छ।
तपाईंको आवाज टिभीको पर्दामा आउँदैन,
तर तपाईंको प्रयासले हजारौं बालबालिकाको जिन्दगीको पर्दा उज्यालो बनिरहेको छ।

हामी कहाँबाट आएका हौं भने —
हामी त्यहाँबाट आएका हौं,
जहाँ छानो टिनको थियो,
तर विचार स्वर्णमय थियो।
जहाँ पुस्तक थोरै थिए,
तर सपना विशाल थिए।
जहाँ तलबको समय निश्चित थिएन,
तर कर्तव्यको घडी सधैं टिकिरहन्थ्यो।

हामी त्यहाँबाट आएका हौं —
जहाँ अभाव नै सन्दर्भ थियो,
तर आत्मबल अपार थियो।
जहाँ भवन पुराना थिए,
तर सम्बन्धहरू साँचो थिए।

शिक्षकज्यू, तपाईंहरूकै सानो श्यामपट्टीको अगाडि उभिएर दिएका पाठहरूले
विद्यार्थीहरूमा विचारको बत्ती बलिरहेका छन्।
तपाईंहरूले बनाएको गणितको तालिकाले,
विद्यार्थीहरूलाई आर्थिक जिम्मेवारी बुझेका नागरिक बनाएका छन्।
तपाईंले सुनाएको एउटा कथा, एउटा कविता —
कसैको जीवन बदल्ने प्रेरणा बनिरहेको छ।

प्रधानाध्यापकज्यू, तपाईंको त्यो टुटेको डेस्कमा बसेर लेखिएको
विद्यालय सुधार योजना आज बालबालिकाको भविष्य सुधार्दैछ।
तपाईंको अप्ठ्यारो बजेटमा बनाइएको रणनीतिले
शिक्षाको उज्यालो दैलो खोलेको छ।

हामी त्यहाँबाट आएका हौं —
जहाँ विद्यालयको छानो चुहिए पनि
ज्ञान चुहिन दिएनौं।
जहाँ कोठामा चिसो हुन्थ्यो,
तर विद्यार्थीको भविष्यमा गर्मी थियो।
जहाँ हातमा किताब थिएन,
तर हृदयमा दायित्व थियो।

हामी अभावका बीच पनि टिक्यौं,
हामी नदेखिने तरिका अपनायौं,
हामीले सधैं शिक्षालाई साधन होइन, साधना ठान्यौं।

हामी कहाँबाट आएका हौं भनेर कोही सोध्छ, भने उत्तर दिन सकिन्छ —

“हामी त्यहाँबाट आएका हौं,
जहाँ शिक्षकको आँखा आकाशमा भए पनि खुट्टा माटोमा थियो,
जहाँ प्रधानाध्यापकको भिजन विद्यालयको बारभित्र होइन, देशको भविष्यसम्म फैलिएको थियो।”

त्यसैले आज हामी गर्वका साथ भन्न सक्छौं —

हाम्रो यात्रामा कठिनाइ थिए, तर हार कहिल्यै थिएन।
हाम्रो बाटो काँडाले भरिएको थियो, तर लक्ष्य सधैं फूलमय थियो।
हाम्रो हातमा न झण्डा थियो, न पदक, तर पनि राष्ट्र निर्माणको ईट्टा–ईट्टामा हाम्रो पसिना टाँसिएको छ।

हामी सामुदायिक विद्यालय हौं – अभावमै पनि उज्यालो बोकेका,
शिक्षक हौं – मौन सेवा गर्दै राष्ट्र निर्माण गरिरहेका,
र तपाईंहरू – ती अविज्ञात नायकहरू, जसको कथा अझ लेखिन बाँकी छ।

अब त्यो कथा लेख्न थालौं।
प्रत्येक दिन विद्यालय समयभन्दा १० मिनेट अगाडि आइपुगौं – अनुशासनबाट नै प्रेरणा सुरु होस्।
१)हरेक कक्षाको लागि पूर्ण तयारीसहित पाठ योजनासँग कक्षा प्रवेश गरौं।
२)कमजोर विद्यार्थीलाई विशेष ध्यान दिऔं – हामी सबैका लागि जिम्मेवार हौं।
३ं)सहशिक्षण अभ्यासलाई जीवन्त बनाऔं – सिक्न र सिकाउन दुबै तयार बनौं।
४)विद्यार्थीहरूमा अभिप्रेरणा जगाउने सन्देश, सल्लाह र स्नेह दिन नछोडौं।
५)सप्ताहको अन्त्यमा आफ्नै शिक्षणको समीक्षा गरौं – ‘के राम्रो भयोरु के सुधार्न सकिन्छरु’
६)शिक्षक अध्ययन समूह बनाएर हप्तामा एकपटक शिक्षण९अभ्यास सत्र गरौं।
७)विद्यार्थीहरूको आवाज सुन्ने, बुझ्ने र सम्बोधन गर्ने संस्कृति बसाऔं।
८)विद्यालयको स्वच्छता, शान्त वातावरण र प्रेरणादायी भित्तेलेखनमा जोड दिऔं।
९)अभिभावकसँग नियमित संवाद राखौं – विद्यालयको साथसाथै उनीहरूको भरोसा पनि जितौं।
१०)हरेक विद्यार्थीको प्रगति ट्र्याक गर्न पोर्टफोलियो वा ट्रयाकिङ फाइल बनाऔं।
११)पढ्न–लेख्न कमजोर बालबालिकाका लागि अतिरिक्त समय छुट्याऔं।
१२)स्थानीय सामग्री, परिवेश र समस्यालाई पाठ्यक्रमसँग जोड्ने अभ्यास गरौं।
१३)सिर्जनशीलता बढाउने कविता, कथा, कला, नाटक, संगीतमा पनि ध्यान दिऔं।
१४)विद्यार्थीहरूको आत्मविश्वास बढाउने प्रेरणात्मक कहानीहरू हरेक हप्ता सुनाऔं।
१५)‘एक शिक्षक – एक नवाचार’ को आदर्शमा आधारित सिर्जनशील अभ्यास गरौं।
१६)सकारात्मक भाषा प्रयोग गरौं – हरेक शब्द विद्यार्थीको भविष्यको ढोका हो।विद्यालय व्यवस्थापन समितिसँग पारदर्शी समन्वय र सहकार्य गरौं।
१७)विद्यालयका सकारात्मक क्रियाकलापहरू अभिलेख राखी प्रचारप्रसार गरौं।
१८)शिक्षकको रूपमा, आफूलाई ‘देशनिर्माणको अभियन्ता’ ठान्दै हरेक दिन अघि बढौं।

यी हाम्रो पेशागत धर्म, नैतिक जिम्मेवारी, र देशप्रतिको निष्ठा को अभिव्यक्ति हुन्। हामी शिक्षक हौं – परिवर्तन हामीबाटै सुरु हुन्छ। सुरुवात आजै गरौं – विद्यालयबाट राष्ट्रसम्म पुग्ने यात्रामा।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend