logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मुख्यमन्त्री कँडेल बजेट कार्यान्वयनमा पारदर्शिता र जवाफदेहितामा जोड


  • जन आकाश
  • आइतबार, साउन ११ २०८२

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट सिक्दै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।



भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले शुक्रवार आयोजना गरेको वार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजना केवल कागजमा सीमित नगर्न समेत निर्देशन दिए । उनले बजेट समयमै र परिणाममुखी ढंगले कार्यान्वयन गर्नु आवश्यक रहेको बताए ।

‘हामीले विगतमा के कस्ता कमजोरी गरेका थियौँ, त्यसको आधारमा आगामी बजेट कार्यान्वयनमा ध्यान दिनु पर्छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘चालु आर्थिक वर्षको बजेट खर्च सुधारमा लाग्नुस् ।’

मुख्यमन्त्री कँडेलले बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा पारदर्शिता, जवाफदेहिता र समन्वय हुनुपर्नेमा समेत जोड दिए ।

मुख्यमन्त्री कँडेलले योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन निर्माण कार्य जस्ता चुनौतीहरूको पुनरावृत्ति नहुने गरी काम गर्न सचिव र कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।

जनताको आवश्यकता बुझेर योजना बनाए मात्र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

संघीय, स्थानीय तह, मन्त्रालय, आयोजना कार्यान्वयन इकाइहरूबीचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउने हो भने मात्र सरकारले गरेको विकासको जनताले अनुभूति गर्ने मुख्यमन्त्री कँडेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend