जन आकाश
काठमाडौं । नेपाल मानवता पार्टीका उपाध्यक्ष भक्त रसाइलीले दलित समुदायको वास्तविक मुक्ति बाह्य भाषण वा आश्वासनबाट होइन, समुदायभित्रको आत्मचेतना, संगठन र स्वतन्त्र निर्णय क्षमता विकासबाट मात्र सम्भव हुने स्पष्ट अभिव्यक्ति दिएका छन्।
सामाजिक सञ्जालमार्फत हालै सार्वजनिक अभिव्यक्तिमा उनले भने, पटक–पटक धोका खाँदै पनि मेरो नेताु, मेरो पार्टीु भनेर सती जाने सोचले दलित समुदायलाई झनै कमजोर बनाएको छ। भोटको नाममा मासुभात बाँडेर दलित मतदातालाई ठग्ने नेताहरूले मुक्ति दिन्छन् भन्ने विश्वास अब पुरानो धोका हो।
उपाध्यक्ष रसाइलीको भनाइमा गहिरो सन्देश छ दलित समुदायले यदि अझै पनि संगठित नहुने, स्वतन्त्र सोच्न नसक्ने र पुरानै दलाल नेतृत्वको पछि लाग्ने हो भने, जातीय विभेद हटाउने सपना कहिल्यै पूरा हुन सक्दैन।
उनले थप भने, हामी आफैं विभाजित छौं, हामी आफैंले चुपचाप सहेर अन्यायलाई मौन समर्थन गरिरहेका छौं। जबसम्म हामी एउटै मोर्चामा उभिन सक्दैनौं, तबसम्म छुवाछूतको अन्त्य केवल नारामा सीमित हुनेछ।
भक्त रसाइलीको यस भनाइलाई कतिपयले कठोर आलोचना ठाने पनि, धेरैले यसलाई यथार्थमा आधारित ‘आत्मसमीक्षा’ को रूपमा स्वागत गरेका छन् । उनका अनुसार समस्या बाहिर मात्र होइन, भित्र पनि छ।
तिमीहरूलाई हजारपल्ट मुखमा थुक्दा पनि कम छ,भन्ने उनको अभिव्यक्तिले समाजको पीडादायी सत्यतिर औंला तेस्र्याएको छ जहाँ समुदाय आफैं जागरुक नभएसम्म, शोषणको चक्र फेरि–फेरि दोहोरिन्छ।
नेपाल मानवता पार्टीका उपाध्यक्ष रसाइली विगत दुई दशकदेखि सामाजिक न्याय, समानता र दलित मुक्ति आन्दोलनमा क्रियाशील छन्।
दलित समुदायको मुक्ति बहस र आक्रोशमा होइन, आत्मचिन्तन र संगठनमा छ। रसाइलीले उठाएको आवाज केवल आलोचना होइन, चेतावनी पनि हो यदि अब पनि परिवर्तनका लागि आफैं अग्रसर नभइने हो भने, मुक्ति सधैं सपना मात्र रहिरहनेछ । नेपाल मानवताबादी पार्टीका उपाध्यक्ष्य भक्त रसाईली
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend