logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

श्रावण शुक्ल पञ्चमीमा नागपूजा धार्मिक आस्था र परम्पराको संरक्षण


  • जन आकाश
  • मंगलबार, साउन १३ २०८२

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरका मूलढोकामा नागको चित्र टाँस्ने र नाग दहहरुमा पुगेर पूजा गर्ने चलन छ ।



यसरी नागको पूजा गर्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुस्ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ
यही विश्वासका साथ काठमाडौंको नागपोखरी, टौदह लगायतका स्थानमा दूध चढाउने र पूजा गर्नेहरुको भिडभाड छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend