logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नारायणगढ बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरिएको छ


  • जन आकाश
  • आइतबार, साउन १८ २०८२

काठमाडौं । बुटवल सडक आयोजनाले अहिले थप गरिएको म्याद अन्तिम पटकका लागि भएको र यो अवधिमा सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गरेको छ।



तेस्रो पटक थप गरिएको म्याद सकिँदासम्म जम्मा ७० प्रतिशत मात्र भौतिक प्रगति भएको सडक निर्माणका लागि एक वर्ष थप गरी २०८३ साउन ७ गतेसम्म म्याद दिइएको हो।

निर्माण कम्पनीले डेढ वर्ष म्याद थप गर्न चाहेको भए पनि एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने विश्वास दिलाएपछि अन्तिम पटकका लागि म्याद थप गरिएको आयोजनाले जनाएको छ।

२०७५ साल माघ २४ गते ठेक्का सम्झौता हुँदा साढे तीन वर्षमा अर्थात् २०७९ साल साउन २२ गतेसम्म सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सर्त थियो।

सडक विभागसँग ठेक्का सम्झौता गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ चैतदेखि नै निर्माणको काम सुरू गरेको थियो।

साढे तीन वर्षमा सम्पन्न गर्ने भनिएको उक्त सडकको म्याद अहिलेसम्म चार पटक थप गरिएको छ।

ठेक्का सम्झौता गर्दाको २०७९ साउन २२ गतेको म्याद सकिएपछि पहिलो पटक एक वर्ष थप गरी उक्त म्याद २०८० भदौ १२ सम्म पुर्‍याइएको थियो।

त्यसपछि दोस्रो पटक ११ महिना म्याद थप गरी २०८१ साउन ८ गतेसम्म पुर्‍याइएको थियो भने तेस्रो पटक पुन एक वर्ष म्याद थप २०८२ साउन ८ गतेसम्म पुर्‍याइएको थियो।

तेस्रो पटकको म्याद साउन ८ गते पूरा भए पनि १० दिन ढिलो साउन १७ गते पुरानै मितिमा १ वर्षको म्याद थप गरिएको हो।

आयोजनाका अनुसार नारायणगढदेखि बुटवलसम्मको ११३ दशमलव ५३ किलोमिटर लामो यो सडक दाउन्नेखण्ड र पुलहरूको वारिपारिबाहेक अन्य क्षेत्रमा दुईतर्फी नै कालोपत्रे भइसकेको छ।

दाउन्ने खण्डको १३ किलोमिटर सडकमा अहिले पनि ढलान गर्ने काम भइरहेको आयोजनाले जनाएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend