जन आकाश
काठमाडौं । बर्दियामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका एक युवक अझै फेला परेका छैनन्।
मंगलबार बेलुकी सवा ५ बजेतिर ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक कर्णाली नदीको भंगालो खौराहा खोलामा मधुवन नगरपालिका –१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई मगर गोहीले आक्रमण गरी झम्टेर लगेको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको हात्तीसार नजिक खौराहा खोला पौडी खेलेर पार गर्न लाग्दा थारुलाई आक्रमण गरेको थिए।
खोलामा गोही देखेपछि किनारमा भएका दुई साथीले रूपमिलनलाई त्यहाँबाट भाग्न भनेका थिए। उनी भाग्न नभ्याउँदै गोहीले थारुको टाउकोमा झम्टिएर उनलाई पानी भित्र लगेको प्रत्यक्ष देखेका भनेर प्रहरीलाई बताएका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार गोहीले झम्टिएर लगेका थारुको खोजी निकुञ्जको दुई वटा हात्ती र मोटरबोटको परिचालन गरिएको थियो।
पानीमा हात्ती मात्रै सहजै प्रवेश गर्न सक्ने भएर खोजी कार्यमा निरन्तर हात्तीको प्रयोग हुँदै आएको वरिष्ठ सहायक संरक्षण अधिकृतसमेत रहेका पौडेलले बताए ।
प्लस टू उत्तिर्ण थारुको खोजीमा त्यसयता निरन्तर हुँदै आएको भए पनि बिहीबार बिहान दश बजेसम्म उनी फेला पर्न सकेका छैनन्
सूचना अधिकारी पौडेलका अनुसार मगर गोहीको आक्रमणपछि बेपत्ता थारुको खोजीका लागि निकुञ्जका दुई हात्ती, मोटरबोटको प्रयोग गरि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिदै आएका छन् ।
‘गोहीले आक्रमण गरी पानी भित्र लगेका थारुको केही अंग वा भाग पानीमा तैरिएको अवस्थामा फेला पार्न सकिन्छ कि भनेर खोजी कार्य हुँदै आए पनि हालसम्म फेला पार्न सकिएको छैन,’ पौडेलले भने ‘ बिहीबार बिहानदेखि फेरि सबै मिलेर खोजी कार्य जारी राखिएको छ ।’
केही दिन यताको निरन्तरको बर्षाले खौराहा खोलामा पानीको बहाव बढेको हुँदा त्यसले पनि खोजी कार्यमा केही कठिनाइ उत्पन्न भएको छ।
सूचना अधिकारी पौडेलका अनुसार नेपालमा पाइने दुई प्रकारका गोहीमध्ये स्वभावका दृष्टिकोणले मगर गोही अति नै मूर्ख स्वभावको हुन्छ। यो गोहीले पशुपंक्षी र मानिस जसलाई भेटे पनि तत्कालै आक्रमण गर्छ।
त्यस्तै आनीबानीका दृष्टिकोणले घडियाल गोहीले जस्ले माछा बाहेक अरु कुनैपनि जिवजन्तु मारेर नखाने सूचना अधिकारी पौडेल बताउँछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend