logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’


  • जन आकाश
  • शुक्रबार, साउन २३ २०८२

काठमाडौं । नयाँ फिचर मार्फत यौन दुर्व्यवहारसम्बन्धी शब्दहरू खोज्दा अब सहायता स्रोतहरू र सुरक्षा जानकारीमा ‘रिडाइरेक्ट’ हुने  टिकटकले आज नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्ताहरूलाई समयमै सहयोग र आवश्यक समर्थन प्रदान गर्नु हो।



यो सुविधा टिकटकको समग्र सुरक्षा अभियानको हिस्सा हो, जसको उद्देश्य प्रयोगकर्ताहरूलाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु रहेको छ। अबदेखि नेपालका प्रयोगकर्ताहरूले “sexual assault”, “abuse hotline”, “MeToo”  जस्ता यौन दुर्व्यवहारसम्बन्धी शब्दहरू खोज्दा, उनीहरूलाई स्थानीय हेल्पलाइन नम्बरहरू र टिकटकको सेफ्टी सेन्टरभित्रको सेक्सुअल अब्युज सपोर्ट पेजमा लैजाने विशेष सूचना देखाइनेछ। उक्त पेजमा शैक्षिक सामग्री, उजुरी गर्ने तरिकाहरू र प्रोफेसनल सपोर्ट सर्भिसहरूको लिङ्क उपलब्ध गराइएको छ।

“टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो”, टिकटकका ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले भने, हामीलाई थाहा छ, कठिन परिस्थितिमा धेरै प्रयोगकर्ताहरू अनलाइन प्लेटफर्ममा जान्छन्। त्यसैले हामीले अग्रसर भएर सहयोगका विकल्पहरू देखाउन थालेका छौं, जसले पीडितहरूलाई आवश्यक सहयोगतर्फ डोहोर्याउने र टिकटकको यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीतिलाई बलियो बनाउनेछ।

सेफ्टी सेन्टरमा रहेको सेक्सुअल अब्युज सपोर्ट पेजले यौन दुर्व्यवहारका विभिन्न स्वरूपहरू, जस्तै बाल यौनशोषण सामग्री (CSAM),बहकाउने व्यवहार (grooming), यौन दुर्व्यवहार र सहमति बिना गरिने यौन क्रियाकलापबारे जानकारी दिन्छ र यस्ता सामग्री उजुरी गर्ने तरिका पनि सिकाउँछ। यसले हानिकारक सामग्रीसँगको सम्पर्कबाट टाढा बस्न प्रेरित गर्छ र प्रयोगकर्ताको गोपनीयताको पूर्ण रक्षा गरिने समेत उल्लेख गर्दछ। यस सुविधामा टिकटकको इन-एप उजुरी प्रणालीका साथै बाहिरि उजुरीका विकल्पहरूबारे पनि जानकारी दिइन्छ। यस पेजले पीडित र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूका लागि सहायता खोज्न सजिलो बनाएको छ।

यसमा पीडितको हेरचाह, ट्रमा व्यवस्थापन र कानुनी सहयोगमा विशेष दक्षता भएका स्थानीय संस्थाहरू र अन्तर्राष्ट्रिय सहयोगदाताहरूको खोज्न मिल्ने डेटाबेसको पहुँच समावेश गरिएको छ। समुदायको साथ र सशक्तिकरण खोज्नेहरूका लागि टिकटकले उपचार (healing) र पुनःस्थापना (recovery) सँग सम्बन्धित ह्यासट्याग र कन्टेन्टहरूलाई पनि प्राथमिकता दिएको छ।

यो पहल टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट, शैक्षिक सहकार्यहरू र प्लेटफर्म स्तरका उपायहरूका माध्यमबाट डिजिटल सुरक्षा र प्रयोगकर्ताको वेल-बीइंग सुधार गर्न गर्दै आएको निरन्तर प्रयासको हिस्सा हो। प्रयोगकर्ताहरू सुरक्षित र सशक्त बनुन् भन्ने लक्ष्यका साथ टिकटकले विशेषज्ञहरू, पीडितका पक्षमा काम गर्ने समूहहरू र मानसिक स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरिरहेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend