जन आकाश
रामेछाप । रामेछापको गोकुलगंगा युवा सञ्जालले आयोजना गरेको स्वास्थ्य शिविरमा ९ सय भन्दा बढी दर्शनार्थीले स्वास्थ्य सेवा लिएका छन् ।
गोकुलगंगा गाउँपालिकास्थित युवा सञ्जालले पाँचपोखरी–जट्टापोखरी मेलामा जाने दर्शीनार्थीहरुलाई लक्षित गरी सञ्चालन गरेको शिविरमा ९ सय ३१ जना दर्शनार्थीले स्वास्थ्य सेवा लिएका हुन् ।
पाँच पोखरी र जट्टापोखरी दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सिमानामा पर्दछ । त्यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ । तर, जनैपूर्णिमाको एक साता अघिदेखिनै दर्शन गर्न जाने दर्शनार्थी तथा पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।
सोही अवस्थालाई मध्यनजर गरी पर्यटक तथा दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै युवा सञ्जालले वडानम्बर १ चुचुरे वडा कार्यालय , चुचुरे स्वाथ्य चौकी र गोकुलगंगा अस्पतालको समेत सहयोगमा शिविर चलाएको थियो भने नेपाल सरकारबाट उपलब्ध निशुल्क औंषधीहरू बाहेक अन्य अति आवश्यक औंषधीहरू सञ्जालले खरिद गरेको थियो। यसैगरी केही मात्रामा गौरीशंकर संरक्षण क्षेत्र, अर्किड मेडिकल हल र शिवालय क्लिनिक एण्ड थाईराईड सेन्टरले समेत औषधीहरू सहयोग गरेका थिए।
उक्त स्थानमा शिविर सञ्चालन गर्न चुचुरे स्वास्थ्य चौकीका सिनियर अ.हे.व. असलम सिद्विकी सहित सञ्जालका ९ जना स्वंयमसेवकहरू खटिएका थिए । मुख्य शिविर पानीपाखामा सञ्चालन भएपनि स्वयमसेवकहरु जट्टा पोखरी तथा पाँचपोखरी सम्म पुगेर औषधी बितरण गरेको आयोजकले जनाएको छ ।
९ सय बढीले स्वास्थ्य परीक्षण साथै औषधीहरू लिएर सेवा लिएका थिए। शिबिरमा ग्लुकोज पानी, जिवनजल पानीको साथै सिकिस्त बिरामीहरूको लागि सलाईन पानीको समेत ब्यबस्था थियो। समुद्रि सतहबाट ४५१५ मिटरको उचाईमा रहेको उक्त स्थानमा धेरैलाई एक्कासी लेक लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, बमिट हुने, पखाला लाग्ने, ब्लड प्रेसरको समस्या, खुट्टा मर्किने, हिड्न गार्हो हुने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउने जस्ता शारीरिक समस्याहरु देखिने समस्या हुन्छ ।
शिविर सञ्चालन गरी उक्त समस्याका पर्यटक तथा दर्शनार्थीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको गोकुलगंगा युवा सञ्जालका अध्यक्ष अनुज खड्काले जानकारी दिनुभयो । लेक लागेर बेहोस भएका तीन जना बिरामीलाई समेत उपचार सेवा दिएर निको गराउन सफल भएको खड्काको भनाई छ । स्वास्थ्य शिविर साउन २२ गते देखि २५ गते सम्म ४ दिन सञ्चालन भएको थियो ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend