logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सार्वजनिक स्थानमा धुम्रपान निषेध


  • जन आकाश
  • सोमबार, भाद्र २ २०८२

काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना लिन सुरू गरिएको छ। अहिलेसम्म १७ जना कारबाहीमा परेका छन्।



सार्वजनिक स्थानमा धुम्रपान गरेबापत् १७ जनाले ५०० रूपैयाँका दरले जरिवाना बुझाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार आइतबारदेखि कारबाही गर्न सुरू गरिएको हो।

सार्वजनिक स्थानमा धुम्रपान नगर्न साउन मसान्तसम्म हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका थियौं। तर हिजोदेखि जरिवाना तिराउन सुरू गरेका छौं, उनले भने। सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूबाट आइतबार ८ हजार ५०० रूपैयाँ जरिवाना उठेको उनले बताए।

कोही व्यक्तिले सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिँदा सो व्यक्तिलाई ठाउँको ठाउँ जरिवाना तिराउने गरिएको उनले बताए। नगर प्रहरीसँग महानगरमा जरिवाना तिर्ने खाताको क्युआर स्क्यान हुन्छ, उनले भने, जो व्यक्ति जरिवानामा परेको छ उसले स्क्यान गरी तत्काल जरिवाना तिर्नुपर्छ। तर अनलाइन बैंकिङ नचलाउनेको हकमा भने पैसा नगर प्रहरीले लिई नगर प्रहरीले सो व्यक्तिको जरिवाना तत्काल तिरिदिनेछ ।

सूर्तीजन्य पदार्थ (नियन्‍त्रण र नियमन गर्ने) ऐन २०६८ लाई महानगरले कार्यान्वयन मात्र गर्न लागेको सह-प्रवक्ता ध्रुव काफ्लेले बताए।

ऐनमा नै सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा प्रयोग गर्न हुँदैन भनेर उल्लेख छ, उनले भने, सोही ऐन महानगरले कार्यानवयन मात्र गर्न लागेको हो। सार्वजनिक स्थानमा धुम्रपान गर्दा अन्य व्यक्ति र बालबालिकालाई पनि असर पर्ने हुँदा नियमन र नियन्त्रणको काम गरिरहेका हौं । उनले सुर्तीजन्य पदार्थ सेवन गर्नेले नियम पालना गर्नुपर्ने बताए।

सबै कुरा प्रयोग गर्दा विधि पालना गर्नुपर्ने हुन्छ। अहिले हामीले विधि मात्र अपनाउन खोजेका हौं, उनले भने, हामीले खान पाइँदैन भनेका छैनौं तर तोकिएको ठाउँमा मात्र खानुस्। सार्वजनिक स्थानमा नखानू भनेका हौं। सुरूमा सम्झाउने बुझाउने गरेका थियौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend