logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

एउटै जिप चार महिनाको अवधिमा दोस्रो पटक दुर्घटना


  • जन आकाश
  • बिहिबार, भाद्र १२ २०८२

धनगढी । डडेल्धुरामा बिहीबार भिरबाट खसेको जिप झण्डै चार महिनाअघि पनि दुर्घटनामा परेको खुलेको छ । नवदुर्गा गाउँपालिका–५ स्थित भित्री सडक खण्डको चामा चौडमा एउटै जिप दुई पटक दुर्घटना भएको हो। एकै चालकले चलाएको उक्त जिप दुई पटक दुर्घटना हुँदा ठुलो सङ्ख्यामा जनधनमा क्षति पुगेको छ।



गत वैशाख २३ गते से १ ज ७३८ नम्बरको बोलेरो जिप चामा चौडमै दुर्घटनामा परेको थियो। त्यस बेला सदरमुकामबाट विजयसैनीका यात्रु छोडेर घरतर्फ फर्किंदै गरेको उक्त जिप दुर्घटनाग्रस्त हुँदा चालक ३५ वर्षका रामबहादुर साउद र जिपमा सवार २५ वर्षका भरत विक गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार उक्त दुर्घटनामा जिपमा पनि क्षति भएको थियो। त्यसबेला घाइते दुवै जनाको अस्पतालमा उपचार भएर निको भए भने जिपलाई मर्मत सम्भारका लागि पठाइयो। ‘यो जिप पहिला पनि दुर्घटना भएको रहेछ, त्यसपछि मर्मत गरियो र फेरि चलाउन थालिएको भन्ने जानकारी हामीलाई छ’, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विष्टले  भने।

उनका अनुसार सोही जिप आज बिहान करिब ९ बजे सोही बोलेरो जिप फेरि चामा चौडमै दुर्घटना भएको हो । आज दुर्घटनामा भने चार जनाले ज्यान गुमाए। ठाँटाबजारबाट डडेल्धुरा बजारतर्फ आउँदै गरेको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा १८ वर्षीय सुरेश साउँद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्। यी सबै एउटै गाउँपालिकाका बासिन्दा हुन् । एउटै ठाउँका स्थानीयको मृत्युको खबरले गाउँ नै शोकमा डुबेको छ।

यस्तै ६ जना घाइते छन्। घाइते हुनेमा १८ वर्षीया सुशीला बि।क, ४ वर्षीय प्रतीक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बि।क। रहेका छन्। घाइतेहरूको उद्धार गरी डडेल्धुरा अस्पताल पठाइएको छ। दुवै पटक दुर्घटना हुँदा जिपको चालक रामबुहादुर साउद नै रहेका थिए। अघिल्लो पटक जिप दुर्घटनामा घाइते भएर निको भएका उनी आज पनि फेरि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

हालसम्म दुवै दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन। । तर एउटै जिप र एउटै चालक दुई पटक गम्भीर दुर्घटनामा पर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। ‘प्रहरी अहिले मृतकको शव उद्धार र घाइतेको उपचारमा खटिएको छौँ, थप घटना बारे अनुसन्धान भइरहेको छ, हामीले सबै कुरा सूक्ष्म तरिकाले बुझ्ने छौँ,’ प्रहरी निरीक्षक विष्टले भने।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend