जन आकाश
काठमाडौं । सडक डिभिजन भरतपुरले तुइन खोलाको पहिरो बिहीबार दिउँसो मात्रै पन्छाइसकिने बताएको छ। मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा मंगलबार अपराह्न भीषण पहिरो खसेर यातायात अवरूद्ध भएको थियो।
सडक डिभिजन भरतपुरले मंगलबारबाटै पहिरो पन्छाउन थाले पनि ठूलो मात्रामा चट्टान सहितको माटो थुप्रिएकाले पन्छाउन समय लाग्ने बताएको हो।
सडक डिभिजन भरतपुरका अनुसार तुइन खोलामा मंगलबार अपराह्न १२ हजारदेखि १४ हजार घनमिटर परिमाणमा पहिरो खसेको छ। मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पहिरोमा बुधबार बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरू भइरहेको छ।
माथिबाट अब थप ठूलो पहिराको सम्भावना कम रहेको भए तापनि झर्न बाँकी रहेका ढुंगाहरू पूर्ण रूपमा तल नझरिसकेको हुँदा अझै सानोतिनो ढुंगाहरू झर्न सक्ने सम्भावना रहेको देखिन्छ। हाम्रा उपकरणहरू र चालकहरू सुरक्षित रहँदै निरन्तर रूपमा पहिरो सफा गर्ने कार्यमा लागि नै रहेका छन्।
सडकमा थुप्रिएको पहिरोको परिमाण निकै धेरै (१२०००–१४०००) घन मिटरको आकलन) रहेको हुँदा उक्त पहिरो पन्छाउन समय लाग्ने हुँदा भोलि (बिहीबार) दिउसो मात्रै सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ,’ सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend