जन आकाश
काठमाडौं । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ ।
सो सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ । तर,खोलामा पानीको बहाव उच्च रहनुका साथै आवश्यक ह्युमपाइप अभाव भएकाले तत्काल सञ्चालन गर्न नसिकएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए ।
‘हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो । त्यो पार नलागेपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माणको काम भइरहेको छ’, उनले भने, ‘तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिला हुने सम्भावना छ ।’ उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको र मङ्गलबारसम्म आइपुग्ने व्यवस्था गरिएको छ । डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले सरोकारालासँगको स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘सकेसम्म चाँडो सडक खुलाउने पहल भइरहेको छ’, प्रजिअ सुनिता नेपालले भनिन्, ‘प्राविधिक पक्षा सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौँ ।’
गत असोज १८ गतेको बाढीले यहाँको बेलीब्रिज बगाएपछि यो सडक पनि अवरुद्ध भएको हो । गत असारमा निर्माण सम्पन्न गरिएको बेलीब्रिज बाढीले बगाएपछि यहाँको आवागमन अवरुद्ध बनेको हो । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने यो वैकल्पिक सडक सञ्चालनका लागि प्रमुख विकल्प मानिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend