जन आकाश
काठमाडौं । बाराको सिमरामा जेनजीलाई कुटेको आरोप लागेका नेकपा एमालेका कार्यकर्ता अरबिन्द साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई बिहीबार साँझ पक्राउ गरिएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए।
जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका(२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई पक्राउ गरेको थियो।
गएको बुधबार एमालेले सिमरामा गर्न लागेको कार्यक्रमका क्रममा जेनजी र एमाले कार्यकर्ताबीच झडप हुँदा त्यहाँको अवस्था असामान्य बनेको थियो।
बुधबार एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए। जेनजीको विरोध प्रदर्शनपछि दुवै नेता सिमरा जान नसकी काठमाडौँमै रोकिएका थिए।
विरोध प्रदर्शनको क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए। स्थानीय जेनजी अगुवा सम्राट भनिने साइकुस उपाध्यायले उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा बुधबार जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। जेनजीको मुख्य माग कुटपिटमा संलग्न साहलाई पक्राउ गर्नुपर्ने थियो।
उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए। आज भने अहिलेसम्म सिमराको अवस्था सामान्य छ।
अवस्था सामान्य बन्दै गएकाले गएराति ८ बजेदेखि सिमरामा कर्फ्यु आदेश थप नगरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend