logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

जेनजी प्रदर्शनकारीका माग पूरा भए, वार्ता आवश्यक छैन, बारा प्रशासन


  • जन आकाश
  • शुक्रबार, मंसिर ५ २०८२

काठमाडौं । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवालाई वार्तामा बोलाएको स्थानीय प्रशासन शुक्रबार पछि हटेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रदर्शनकारीलाई औपचारिक वार्ताको लागि आह्वान गरेको थियो ।



बारा प्रशासनले बिहीबार भने प्रशासनले गर्नु पर्ने कार्य गरिरहेकाले औपचारिक वार्ता गरिरहन आवश्यक नरहेको जनाएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत पक्षका मुख्य माग पूरा भइसकेकोले अब औपचारिक वार्ताको आवश्यकता नरहेको बताए । ‘छलफलका लागि जिल्ला प्रशासनको ढोका सबैका लागि सधैं खुल्ला छ,’ प्रजिअ मिश्रले भने ।

औपचारिक वार्ता गर्नुपर्ने कुनै विषय नरहेको निष्कर्षमा बारा प्रशासन पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए । ‘हामीले आफ्नो काम गरिरहेका छौं । जाहेरी परेका मानिस पक्राउ गरिरहेका छौं,’ एसपी तामाङले भने, ‘वार्तामा बस्नु पर्ने गरी अन्य माग छैनन् ।’

बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त छ । कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभर नै वीरगञ्ज,पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend