logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अमेरिकामा परीक्षा चलिरहँदा विश्वविद्यालयमा चल्यो अन्धाधुन्ध गोली


  • जन आकाश
  • आइतबार, मंसिर २८ २०८२

काठमाडौं । अमेरिकामा परीक्षा चलिरहेको समयमा एउटा विश्वविद्यालयमा अन्धाधुन्ध गोली चलेको छ। अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित प्रोभिडेन्स शहरको ब्राउन विश्वविद्यालयको इन्जियनियरिङ भवनमा अन्धाधुन्ध गोली चलेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।



परीक्षा चलिरहँदा कालो कपडा लगाएर आएका एक संदिग्धले अन्धाधुन्ध गोली चलाएका थिए। गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको र ८ जना गम्भीर घाइते भएको रोयटर्सले जनाएको छ। गोली चलाउने व्यक्तिको पहिचान खुलेको छैन।

गोली चलाएपछि उनी फरार भएका थिए। ती व्यक्तिको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ। आक्रमणकारीको पहिचान खुलाउन आसपासका सिसिटिभी र अन्य भिडियो फुटेजहरू जाँच भइरहेको जनाइएको छ।

गोली प्रहारबाट मृत्यु भएकाहरू विद्यार्थी हुन् कि अरू नै हुन् भन्ने पनि खुलिसकेको छैन।घटना सार्वजनिक भएपछि विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको थियो।

एक विद्यार्थी च्याङ–हेङ चिएनले स्थानीय टेलिभिजनलाई बताएअनुसार उनी प्रयोगशालामा काम गरिरहेका बेला नजिकै सक्रिय आक्रमणकारीको सूचना आएको थियो।

त्यसपछि उनीहरू करिब दुई घण्टा डेस्कमुनि लुकेर बसेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाबारे जानकारी पाएको र यसलाई ‘डरलाग्दो’ घटना भनेका छन्। उनले पीडित र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्न आग्रह गरेका छन्।

अमेरिकामा विद्यालय, कार्यस्थल र धार्मिक स्थलहरूमा सामूहिक गोलीकाण्ड अन्य विकसित मुलुकको तुलनामा बढी हुने गरेको छ। गन भायोलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा चार वा सोभन्दा बढी व्यक्ति गोली लागेका ३८९ वटा सामूहिक गोलीकाण्ड भएका छन्, जसमा विद्यालयमा भएका कम्तीमा छ वटा घटना समावेश छन्। गत वर्ष यस्ता घटनाको संख्या ५०० भन्दा बढी थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend