logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने सरकारको तयारी, ४ वटा ऐन संशोधन गरिँदै


  • जन आकाश
  • सोमबार, पुष ७ २०८२

काठमाडौं । विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने सरकारको तयारीमा, ४ वटा ऐन संशोधन गरिँदै सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न ४ वटा विद्यमान ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।



सोमबार गृह मन्त्रालयमा आयोजित आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सर्वोच्च अदालतको फैसला तथा विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानुन संशोधन भइरहेको जानकारी दिए।

‘वर्तमान सरकार गठन भइसकेपछि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने, अन्तरजिल्लाबाट प्रत्यक्ष वा समानुपातिकतर्फ मतदान गर्न सकिने तथा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने विकल्पसमेत समेटेर सरकारले निर्वाचन आयोगसँगको सहकार्यमा चार वटा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ,’ उनले भने।

उनका अनुसार संशोधन प्रस्तावमा मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प समावेश गरिएको छ। साथै अन्तरजिल्लाबाट समानुपातिक, प्रत्यक्ष वा दुवै तर्फ मतदान गर्न सकिने व्यवस्था पनि मस्यौदामा राखिएको छ।

काफ्लेले भने, ‘विदेशमा हुने निर्वाचनका लागि सम्बन्धित नियोगमा मतदान केन्द्र स्थापना, मतदाताको पहिचान खुलाउनेलगायत विषयमा पनि ऐनमा सुधार गर्न लागिएको छ।’उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा योजना तयार भई कार्यान्वयनको चरणमा रहेको जानकारी पनि दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend