logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पाँचखाल उपत्यकाको स्वास्थ्य अवस्था बारेः डा. सुधार प्रसाद अधिकारी


  • जन आकाश
  • शनिबार, पुष १२ २०८२

पाँचखाल उपत्यकाको स्वास्थ्य अवस्था बारे ।

                                                                                                                 डा. सुधार प्रसाद अधिकारी
                                                                                                                 पाँचखाल न पा वडा  नं.५
                                                                                                                 हाल   वडा नं.६

भौगोलिक अवस्था
काठमाण्डौ राजधानी बाट करीब चालिस किलो पूूर्वमा पर्ने यो उपत्यका पश्चिममा भमरकोट पूर्वमा पलान्चोक, तिमाल, दक्षिणमा दाप्चा र उतरमा मण्डनदेउपुर ईलाका भित्रको मुख्यतया समथर भु(भाग र केही साना, साना पाहाडी भु(भाग पर्ने क्षेत्र हो । करीब पचाँस बर्ष पहिला ४,५ हजार जनसंख्या भएको यस क्षेत्र अहिले आएर गाँउ पंचाएत हुदै नगरपालिकामा परिणत संगै, सहरी करण तिर लम्कीरहेछ । र मैले पाएको सुचना अनुसार करीब ५० हजार जनसंख्या हाल आएर भएको हुनुपर्छ । स्वास्थ्य अवस्थाको बारेमा लेख्नु पर्दा पुरानो अरनिको राजमार्ग बन्नु अगाडि र त्यसपछिको अवस्था छुट्टाछुट्टै वर्णन गर्दा बुझ्न सजिलो हुने देखेर मैले दुई भागमा प्रस्तुत गरेको छु ।



अरनिको राजमार्ग खुल्नु पहिला ः २०२३ बाट अरनिको राजमाग संञ्चालन हुनु पूर्व अशिक्षा, गरीबी र अभाब, रुढीबादी झारफुक परम्परा नै स्थाई रुपमा समाजमा स्थापित भएको देखिन्छ । त्यस बेला सम्म काठमाण्डौ समेत बीर अस्पताल, कान्ती बाल अस्पताल, र प्रसुती गृह मात्रै आधुनिक अस्पताल थिए, जहाँ देशभर बाट आउने बिरामीको चाप हुन्थ्यो, अझ भन्ने हो भने त्यति बेला स्वास्थ्य हेरचाह भनेको प्रथामिक बिषय नै थिएन प्राथामिक बिषय त खेतिपाती र बस्तुमा नै सम्पूर्ण परिवारको ध्यान थियो सामान्य ज्वरो, घाउ खटिरा , झाडापखाला आउँदा जडिबुटि र झारफुक गर्ने चलनथियो । त्यसबाट नभएमा मृत्यु नै हुन्थ्यो । हुनेखाने त्यसबेलाको परिवारमा समेत स्वास्थ्यलाई प्राथमिकमा राखेको पाइएन । संभवत २०१५(२०१८ साल तिर जब मलेरिया अफिस पाँचखालमा आएर बस्यो हालको पुरानो बजारमा त्यस बेलाबाट मात्र बेसी जहाँ धानखेती हुन्थ्यो त्यहाँ मानिसहरु आएर बस्न थालेको देखिन्छ । यसको कारण मलेरिया अफिसमा ज्वरोको औषधी सिटामोल र लामखुट्टे मार्ने डि.डि.टी गाउँ गाउँमा हुने गर्दा मलेरिया, टाईफाइड, झाडापखालाको सामान्य औषधी अलिअलि शिक्षित परिवारको घरसम्म पुगेको गरिब, तल्लो जाति, दलित कोही त अझैपनि स्वास्थ्य चेतना नै छैन भन्दा हुन्छ बच्चाहरु र गर्भवती महिला बिरामी हुदाअलि स्वास्थ्य चेतनाभएको घरमा ध्यान पुगेको देखिन्छ ।

म आफै एउटा उदाहरण दिन्छु, सायद मोही खान नपाएको भए मेरो मृत्यु हुने थियो कि जस्तो लाग्छ । ३ कक्षामा पढ्ने म करिब ८(९ वर्षको थिए होला मलाई झाडापखालाको रोगले समात्यो । त्यसबेला झाडापखाला लागेमा पानी खान हुदैँन भन्ने अन्धविश्वास थियो । मलाई तार तार झाडापखाला २ दिन सम्म लागेपछि म बेहोस भएर तुलसी मठमुनी राखिएको थियो । त्यै बेला कसैले ताजा मोही भनेको सर्वत हुने भएकोले दिन आग्रह गरे र दुई गिलास मोही खाएपछि म फेरी जागेर आए । सायद त्यो मोही नै मलाई बचाउने अचुक औषधी बन्यो, त्यस्तै धामी झाक्री लगाउने कुखुरा बलि दिने, फुकफाक गर्ने जस्ता कार्यहरु त समाजका बलिया स्वास्थ्य प्रवर्धनका आधार नै थिए, अझै पनि कतिपय ठाउँमा यो प्रथा विद्यमान छ । धेरै जसो घरमा गम्भीर प्रकृतिको विरामीमा पनि माथि उल्लेख गरे अनुसारको विधि नै मुख्य स्रोत थियो । तैपनि खानलाउन सक्ने र अलिअलि शिक्षाका चेतना भएका घरहरु भने गम्भीर प्रकृतिको रोगका लागि बनेपामा सिर मेमोरियल अस्पताल पनि लैजाने गर्थे, जुन नगन्य थियो । त्यसबेला टि.वी, मलेरिया, कोलेरा, टाईफाइड आदि रोग लाग्दा सामान्य उपचार नपाएर नै मृत्यु हुने गरेको तथ्यहरु फेला पर्छन । अपर्भmट सुत्केरी हुनँ नसकेर आमा र बच्चाको असामयीक निधन त कति हो कति, यी उदाहरण त केबल उदाहरण मात्र हैन्न त्यसबेलाको विकराल स्वास्थ्य अवस्थाका प्रतिक नै हुन् ।

अरनिको राजमार्ग संचालन पछि ः २०२३ सालबाट अरनिको राजमार्ग खुले पछि आवतजावत गर्न सजिलो भयो तर केही पैसा जम्मा नभइकन त धुलिखेल, बनेपा, काठमाडौंमा जान पनि धेरै जसो मानिसलाई सहज थिएन । त्यसबेला काठमाडौं पनि विर अस्पताल र प्रसुती गृह र पाटनमा शान्त भवन मिसन अस्पताल सञ्चालनमा थिए, उतीबेला सीमित डाक्टर, नर्स र कंपाउडरबाट उपचार भएको पाईन्छ । बनेपामा सिर मेमोरियल अस्पताल नजिक र भरपर्दो मानिन्थो । त्यसपछि २०२८(२०२९ तिर बाट लामीडाँडामा आर्मी अस्पतालबाट रिटायर्ड मेडिकल स्टाफबाट आधुनिक औषधि सुरु गरेको पाईन्छ, जहाँ भीड नै लाग्थ्यो त्यहाँ चित्त नबुझेमा धुलिखेलमा मनिकलाल मेडिकल, बनेपामा कृष्ण प्रसाद कंपाउडर हालआएर उहाँको छोरा डा. भुषण श्रेष्ठ ले कृष्ण प्रसाद अस्पताल सञ्चालन गर्नुभएको छ । त्यसबाहेक बनेपा पुरानो बजारमा गुभाजुहरुबाट आयुर्वेदिक उपचार हुन्थ्यो । जुनअहिले पनि सञ्चालनमा छ । २०२८ सालतिर जब माहाराजगंजमा अहेव कोर्षसुरु भयो, तव नजिकका गाउँमा हेल्थपोस्ट र अ.हे.व पुग्न थाले । अ.हे.व कोर्ष १० कक्षा पास गरेपछि १ वर्षको पढाई हुन्थ्यो । पाँचखालमा पहिलो हेल्थपोस्ट २०३२(२०३३ सालतिरबाट सुरु भयो । समाज कल्याण केन्द्रमा हेल्थपोस्ट भएता पनि धेरै औषधीहरु जस्तै एन्टीबायोटिक्स, टि.वी को औषधी त्यहाँ पाईदैन्थ्यो । त्यहाँ निशुल्क पाइने औषधीमा झाडापखालाको औषधी, ज्वरोको लागि सिटामोल र घाउँखटिरामा लाउँने औषधी र बच्चाको लागि विसीजी, टिपिटी, पोलियोको खोपहरु उपलब्ध हुन्थ्यो ।

ठकुरी मेडिकलः लामीडाँडामा करिब २९(३० साल बाट खोलेको हुनुपर्छ जहाँ नेपाली सैनिक अस्पतालबाट कंपाउडर तालिम लिएका, पेन्सनमा बसेका सैनिकबाट सञ्चालन भएको पहिलो मेडिकल थियो । जहाँ दिनमा सयौं बिरामीहरु जान्थे । खासगरि पाँचखाल भेग र मण्डनदेउपुर, दोलालघाट, कोशीपारीबाट समेत ठुलो मात्रमा मानिसहरु उपचारमा आउथे । मैले २०३२ सालमा माहाराजगंज क्याम्पसमा हेल्थ असिस्टेन्टमा पढ्न थालेपछि, म आफै पनि विदामा जाँदा विभिन्न विरामीहरुको सामान्य उपचारमा संलग्न हुन्थे ।

जब मैले २०४५ सालमा एम.वि.वि.एस पास गरे सायद धुलिखेल पूर्वमा पहिलो डाक्टर म नै हुुँ । त्यस पछि मैले विभिन्न समयमा सर्व मंगला स्कुल, काफ्लेडिही हेल्थ सेन्टरमा र पछि आएर हाम्रा काका कृष्ण प्रसाद अधिकारी समेतको सहयोगमा हेरक वर्ष आँखा शिविर राखी सयौ मोती विन्दुका विरामीको उपचार सम्पन्नभयो । जुन अझै पनि हरेक वर्ष सम्पन्न हुदैछ । त्यहाँको जनसंख्या अनुसार एउटा करिब ५० वेडको अस्पतालको एकदम आवश्यक छ तर विभिन्न निकाय, स्वास्थ्य मन्त्रालय, समाज कल्याण मन्त्रालय, प्रदेश स्वास्थ्य मन्त्रालयमा समेत पहलगर्दा पनि अस्पताल स्थापना गर्न सरकारी तवरमा सकेको छैन् । हालै आएर मेरो आफ्नै पहलमा पाँचखाल बासीहरु मिलेर एउटा सरकारी सामुदायिक अस्पताल खोल्नका लागि दुई चोटी काठमाडौंमा र पाँचखालमा पनि ४०(५० जना स्थानीयमा जम्मा भई सञ्चालन गर्न सहमती जनाईएको छ । जसमा १,२ लाख सम्म चन्दा संकलन गर्न धेरै जना सहमत हुनुहुन्छ तर रकम करिब ८,१० करोड भएको हुदा निर्णय गर्न सकेको छैन ।

त्यहा अस्पताल सरकारी तवरबाट नहुनुको मुख्य कारण धुलिखेलमा ठुलो मेडिकल कलेज हुनु र बनेपामा मिसन अस्पताल राम्रो सँग सञ्चाल भएको भन्ने जवाफ आउँछ । तर म आफै पनि यस विषयमा चिन्तीत छु कि त्यहा एउटा अस्पताल बनाउने भनेर, मैले हरेक दिन त्यहाबाट आउने ८,१० जना मानिसलाई धुलिखेलमा म कार्यरत वि.पि. स्मृति अस्पतालमा बोलाउने गरेको छु । हालआएर केही सुविधा भने थपिएको छ । जस्तै पाँचखाल नगरपालिका आधारभुत अस्पताल दुलालचोकमा भखरै मात्र मेरो र केही साथिहरुको अथक प्रयास पछि पाँचखालनगरका मेयर श्री महेश खरेलको सहयोगमा सुरुवात चाहीभएको छ ।

महिनाको दुईपटक म आफै पनि कन्सल्टेटको हिसावमा जाने गरेको छु । त्यहा प्रशुती गराउने चिकित्सक, एउटा फिजिसियन, बच्चाको डाक्टर र हार्डजोर्नीको चिकित्सक नहुँदा सानो हड्डी भाँचिदा पनि विरामीलाई धुलिखेल पठाउनुपर्छ । अनि सामान्य ज्वरो आएर भर्ना भै उपचार गर्नुपरे पनि डेलिभरी गर्नु परे पनि धुलिखेल नधाई सुखै छैन । मेरो आफ्नो प्रयास हँदाहुदै पनि अझै यि सेवाहरु उपलब्ध हुन सकेको छैन । नगर अस्पताल बाहेक प्राईभेट क्लिनिकहरु पनि खुलेका छन्,जसमा पाँचखाल पोलीक्लिनिक(तामाधाट) र अन्यदुई तिन मेडिकल जहाँ हरेक सनिबार काठमाडौंबाट विशेषज्ञ चिकित्सकहरु केहि मानिसलाई उपचार गराउन सजिलो भएको छ । पाँचखाल पोलीक्लिनिक म आफै पनि महिनाको एक पटक जाने गरेको छु । जहाँ lab.test, Computer x-ray, video-xray, Dental Clinic, Physiotherapy उपचार हुन्छ । तर त्यहाँ भर्ना गरेर उपचार गराउने व्यवस्था छैन, यी सव उपचार बिधि बढेपछि, धामीझाक्री, प्रथाहरु भने निकै कम भएर गएको देखिन्छ ।

पाँचखालको अहिलेको आवश्यकता र चुनौतीः
आठ वर्ष देखि पाँचखाल नगरपालिका परीणत भएसँगै बाहिरबाट मानिसहरु त्यहाआई बसोबास गर्न आकर्षित भएको दखिन्छ जब कि पाँचखालका स्थाई बासिन्दा धेरैजसो काठमाडौं मा नै बसोबास बनाउन चाहान्छन, बाहिरबाट मानिसहरु आई बसोबास बढे सँगै सहरमा अरु स्कुल र क्यापसको पढाई समेत हुँदै आएको छ । पाँचखालको सर्व मंगला कलेज एउटा त्यही मध्यको एउटा हो जहाँ BA, Bed, BBS तिन विषयमा स्नातक पढाई सुरु भएको १८ वर्ष भयो, जहाँ म आफै अध्यक्ष मनोनित भएको छु ।

त्यस्तै खानेपानी, विजुली, टेलिफोन, पीच सडकहरु र केही मात्रामा आधुनिक कृषिले पनि ठाउँ लिएको छ । पाँचखालको आलु तथा तरकारी काठमाडौं समेतले राम्ररी चिनेको छ । एकातिर बढ्दो सहरीकरण तथा मानिसको चेतना वृद्धि हुँदा, त्यै अनुसार विरामीको संख्या पनि दिनानुदिन बढ्दै छ । क्यान्सरका विरामीको चाप धेरै बढेको छ । जुन मलाई सम्पर्क गर्ने मानिसहरुबाट थाहा हुन्छ, जस्तै व्लड क्यान्सर, फोक्सोको क्यान्सर र पेटको क्यान्सर बढि देखिएको छ ।

विषादी प्रयोग धेरै हुँदा यस्तो भएको हो कि भन्ने अनुमान पनि गरिन्छ । यो एउटा पब्लीक हेल्थ समस्या भएको हुँदा यसमा थप अध्ययन अनुसन्धान आवश्यक छ भने माथि भने बमोजिम सरकारी तवरबाट भए राम्रो नभए प्राइभेट तहमा भएको विशेषज्ञ सहितको कम्तीमा ५० सैया अस्पताल जहा सामान्य अपरेसन, आई.सि.यु सेवा सहित टडकारो आवश्यक रहेको छ । सो क्षेत्रलाई मात्र काठमाडौं आई बसोबास गर्ने सबै जसो स्थानीय तथा बौद्धिक वर्ग समेत बसी घनिभूत छलफल गरी एउटा निष्कर्षमा पुग्दा पाँचखाल बासीको लागि ठुलो सहयोग तथा कल्याण हुने देखेको छु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend