logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बुद्ध एयर दुर्घटना अनुसन्धान गर्न काठमाडौँबाट चन्द्रगढी विमानस्थल पुग्यो प्राविधिक टोली


  • जन आकाश
  • आइतबार, पुष २० २०८२

भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटनाग्रस्त काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु सामान्य घाइते भएका छन् । जहाजमा ५१ यात्रु र ५६ जना सवार थिए । तस्बिर सौजन्य ः जिल्ला प्रहरी कार्यालय झापा / रासस

काठमाडौं । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको जहाज दुर्घटना अनुसन्धान गर्न काठमाडौँबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा टोली शनिबार (आज) बिहान त्यहाँ पुगेको छ।



प्राधिकरणका महानिर्देशक डि।सि।एल। कर्णको नेतृत्वमा प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिसहित बुद्ध एयरको प्राविधिक टोली आवश्यक उपकरण लिएर चन्द्रगढी विमानस्थल पुगेको हो।

गएराति काठमाडौंँबाट झापाका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पूर्वतर्फ ३ सय मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए। तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठसहित ७ यात्री सामान्य घाइते भएका छन्।

जहाज दुर्घटनामा भद्रपुर(१०) का ४० वर्षीय सबिन जोगी, बिर्तामोड(७) की २० वर्षीया प्रेषिका अधिकारी, बिर्तामोड(१) की ४२ वर्षीया सुमित्रा जोगी, दमक(१) का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ(१६) की ४० वर्षीया मुना घतानी र काठमाडौँ(१६) की १६ वर्षीया प्रिया घतानी सामान्य घाइते भएका हुन्।

यसैबीच बुद्ध एयरले घटनाप्रति आफू निकै गम्भीर भएको उल्लेख गर्दै यसको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त समयमा उद्धारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नागरिक उड्डयन प्राधिकरण तथा बुध्द एयरका कर्मचारीप्रति उसले आभार पनि प्रकट गरेको छ। जहाजमा सवार ५१ यात्रुमध्ये सामान्य घाइते भएका सबै जना प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेको जानकारी पनि बुद्ध एयरले दिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend