जन आकाश
काठमाडौं । देशमा बिस्तारै चुनावी माहोल तातिँदै गएको छ । चिया पसलदेखि ठूला होटलसम्म, गाउँको चौतारीदेखि सहरका बैठकसम्म—राजनीति र निर्वाचनबारे छलफल सामान्य बन्दै गएको छ । यही सन्दर्भमा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. २ पनि बहसको केन्द्रमा देखिन थालेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारका रूपमा अगाडि सारिएकी मन्जु (ज्ञवाली) भुसालबारे चासो र चर्चा बढ्दै गएको छ ।
प्रारम्भिक जीवन र पारिवारिक पृष्ठभूमि
मन्जु (ज्ञवाली) भुसालको जन्म २०३२ साल माघ ५ गते साबिक चिदिका गाउँ विकास समिति वडा नं. ४, अर्घाखाँचीमा पिता मेघबहादुर ज्ञवाली र माता हिरादेवी ज्ञवालीको जेठी सुपुत्रीका रूपमा भएको हो । हजुरबुबा मानबहादुर ज्ञवाली र हजुरआमा गीतादेवी ज्ञवालीको गहिरो माया र संरक्षणमा हुर्किएकी मन्जु बाल्यकालदेखि नै नेतृत्वप्रति आकर्षित थिइन् ।
उनका हजुरबुबा २०२२ सालमा प्रधानपञ्चका रूपमा निर्वाचित भई पञ्चायती व्यवस्थाको नेतृत्व गरेका व्यक्ति हुन् । जिल्ला सभापति र अञ्चलाधीशजस्ता जिम्मेवारी सम्हालेका हजुरबुबाको राजनीतिक र प्रशासनिक यात्राले मन्जुलाई सानै उमेरदेखि नेतृत्वको अर्थ बुझ्ने अवसर दिएको देखिन्छ ।
नेतृत्व चेतना र सामाजिक सक्रियता
११ वर्षको उमेरदेखि नै “म नेता बन्छु” भन्ने स्पष्ट लक्ष्य बोकेकी मन्जु भुसालको आत्मविश्वास, तर्कशक्ति र प्रस्तुतिले समाजका ठूला–ठूला व्यक्तिहरूलाई समेत चकित पार्ने गर्थ्यो । छोरीलाई धेरै पढाउनु हुँदैन भन्ने सोच व्याप्त रहेको समयमै उनको परिवारले त्यसलाई चुनौती दिँदै अध्ययन र नेतृत्वतर्फ अघि बढ्न प्रेरणा दिएको थियो ।
गाउँमा हुने समस्या समाधानदेखि सामाजिक सहजीकरणसम्म मन्जुको भूमिका प्रभावकारी हुन्थ्यो । उनका निर्णयहरू प्रायः सर्वस्वीकार्य हुने गर्थे, जसले समाजमा सकारात्मक प्रभाव पार्थ्यो ।
राजनीतिक यात्रा
मन्जु भुसालको राजनीतिक सक्रियता स्कुले जीवनदेखि नै सुरु भएको हो । २०५४र५५ सालमै उनी नेपाल तरुण दलको गाउँ विकास समिति सचिव बनेकी थिइन् । यो तथ्यले उनको नेतृत्व क्षमता र संगठनात्मक दक्षता सहजै देखाउँछ ।
समयक्रममा नेपाली कांग्रेसको भातृ संगठनबाट राजनीति सुरु गरेकी उनी माओवादी र एमाले हुँदै हाल राष्ट्रिय स्वतन्त्र पार्टीसम्म आइपुग्दा उनको राजनीतिक यात्रालाई अर्थपूर्ण रूपमा हेरिन थालेको छ । विचार, अनुभव र व्यवहारको संगमका रूपमा उनको यो यात्रा धेरैका लागि चासोको विषय बनेको छ ।
व्यवसायिक सफलता र सामाजिक योगदान
जन्म अर्घाखाँचीमा भए पनि कर्मथलो रुपन्देही बनाएकी मन्जु भुसाल निर्माण व्यवसायीका रूपमा सशक्त पहिचान बनाइसकेकी छन् । ७७ जिल्लामध्ये निर्माण व्यवसायी संघको प्रथम निर्वाचित महिला जिल्ला अध्यक्ष बन्न सफल हुनु उनको ठूलो उपलब्धि हो ।
हाल उनी आधा दर्जनभन्दा बढी सामाजिक संघ–संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय छिन् । व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उनको शैलीले उनलाई फरक बनाएको छ ।
पारिवारिक जीवन र शिक्षा
मन्जु भुसाल एक सफल व्यवसायी मात्र होइनन्, एक जिम्मेवार र प्रेरणादायी आमा पनि हुन् । व्यवस्थापन संकायमा १२ कक्षा सम्म अध्ययन गरेकी उनले आफ्ना छोराछोरीलाई शिक्षा र व्यवसाय दुवैमा जोड्दै हुर्काइरहेकी छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend